नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यकर्ता भेटघाट बन्द गरेका छन्। कोरोना भाइरसको नयाँ भेरियन्टको जोखिम र राजनीतिक व्यस्तताका कारण भेटघाट बन्द गरेको प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले जानकारी दिइन्।
उनले लेखेकी छन्, राजनीतिक कामको व्यस्तता, भीडभाड र स्वास्थ्य सतर्कताको कमिका कारण काठमाडौं लगायतका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीहरुको समेत सुझावलाई मध्यनजर गर्दै विगत तीन दिन यतादेखि भौतिक रूपमा भेटेरै भैरहेको बधाई एवं शुभकामना आदानप्रदानलाई आजैका दिनदेखि रोकेको कुरा जानकारी गराउँदछौं। यसकारण पर्न गएको अफ्ठ्यारोका लागि सचिवालय क्षमा चाहन्छ।’
साथै उनले पार्टीको नियमित प्रक्रियामार्फत हुने संस्थागत भेटघाटलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा नै गर्ने गरी व्यवस्थित गर्न खोजिएको पनि उल्लेख गरेकी छन्।
‘हामीले पार्टीको नियमित प्रक्रियामार्फत हुने संस्थागत भेटघाटलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामार्फत व्यवस्थित गर्न कोसिस गर्नेछौं। कतिपय सम्वाद, भेटघाट, बैठक र छलफललाई प्रविधिको प्रयोगमार्फत सहजीकरण गर्नेछौं,’ उनले अगाडि लेखेकी छन्, ‘केन्द्रीय कार्यालयका कतिपय जिम्मेवार कमरेडहरुलाई समेत कोभिड संक्रमण पुष्टि भएकोले कार्यालयमा हुने भीडभाडमा पनि उच्च स्वास्थ्य सतर्कता अपनाउन सबैमा हार्दिक अनुरोध गर्दछौं।’
प्रकाशित: २२ पुस २०७८ ०९:१७ बिहीबार