८ वैशाख २०८१ शनिबार
राजनीति

इलाममा एमालेले ४० जनालाई सम्मान गर्ने, जिल्ला अधिवेशनमा आठ सय छ जना प्रतिनिधि

एमाले जिल्ला अधिवेशनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन। तस्बिर: भीम/नागरिक

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १०औं जिल्ला अधिवेशन शुक्रबार सुरु हुँदैछ। शनिबारसम्म चल्ने अधिवेशनका लागि सबैजसो तयारी पूरा भएको एमालेले जनाएको छ।  

सदरमुकामको सिटी हलमा अधिवेशनको उद्घाटन र बन्दसत्र हुनेछ। एमाले केन्द्रीय उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले अधिवेशन उद्घाटन गर्नेछन्। अधिवेशन तयारीका लागि बसेको जिल्ला सचिवालय बैठकले राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन पारित गरेको एमालेले सदरमुकाममा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको छ।  

पार्टी स्थापना र सञ्चालनका लागि लामो समयदेखि योगदान गर्ने ४० जनालाई अधिवेशन उद्घाटन अवसरमा सम्मान गर्ने तयारी एमालेको छ। सम्मानित हुने व्यक्तिको नामसमेत सचिवालय बैठकले पारित गरेको छ। बैठकले कुल प्रतिनिधिको ५ प्रतिशत प्रतिनिधि मनोनीत गरेको छ। 

अधिवेशनमा जिल्लाभरका ८ सय ६ प्रतिनिधि सहमागी हुने प्रचार विभाग प्रमुख प्रकाश अधिकारीले जानकारी दिए। उनका अनुसार अधिवेशनमा आउने प्रतिनिधिका लागि सदरमुकामका ५९ होटल बुक गरिएका छन्। ३५ स्वयंसेवकलाई सामान्य प्रशिक्षण दिएर खटाइएको छ। ‘अधिवेशनको सबैजसो तयारी पूरा भएको छ,’ अधिकारीले भने, ‘उद्घाटन र बन्दसत्र नै सिटीहलमा आयोजना गरिनेछ।’  

गत बर्खाको पहिरोका कारण अवरुद्ध मेची राजमार्गमा अहिलेसम्म सवारी साधन बन्द हुँदा इलाम चोक बजारमा सवारीको चाप छ। बजारबाटै ठूला सवारी साधनसमेत गुडिरहेकाले खुलासत्र हलभित्र आयोजना गर्नुपरेको एमालेले जनाएको छ। ‘विगतमा चोक बजारमा खुलासत्र र हलमा बन्दसत्र आयोजना गरिन्थ्यो,’ उनले भने, ‘यो पटक बजारको वैकल्पिक मार्ग नभएकाले सवारी जाम हुन नदिन उद्घाटनसत्र पनि हलभित्रै आयोजना गरिएको हो।’  

जिल्ला अधिवेशनले १ सय ५ सदस्यीय कमिटी निर्वाचित गर्नेछ। निर्वाचित कमिटीमा क्लस्टअनुसारको सदस्य सहभागिता संख्या कति रहने भन्ने चाहिँ यकिन भइसकेको छैन। ‘खुला, भूगोल, महिला, दलित, अपांगता र जनजाति समूहमा क्लस्टर निर्धारण गरिएको छ,’ एमाले जिल्ला अध्यक्ष महेश बस्नेतले भने, ‘क्लस्टरमा सदस्यको संख्या कति रहने भन्ने चाहिँ अधिवेशनले नै निर्धारण गर्नेछ।’ अधिवेशनका लागि पार्टीको प्रदेश कमिटीले केशव धौराली संयोजकत्वको ५ सदस्यीय अध्यक्ष मण्डल मनोनीत गरेको एमालेले जनाएको छ।  

अधिवेशनमा सहभागी हुन जिल्लाका विभिन्न स्थानबाट प्रतिनिधि भेला हुन थालेका छन्। अतिथि, प्रतिनिधिहरू सदरमुकाम आउन थालेको पार्टीका जिल्ला उपसचिव तथा संगठन विभाग प्रमुख उमेश गुरुङले बताए। ‘अधिवेशनलाई सभ्य र भव्य बनाउने तयारी भएको छ,’ उनले भने, ‘महाधिवेशन प्रचार गर्न बिहीबार दिउँसो इलाम सदरमुकाममा मोटरसाइकल र्‍याली र जिल्लाका १० वटै स्थानीय तहका केन्द्रमा र्‍याली आयोजना गरिएको छ। साँझ दीपावली गरिने छ।’ एमाले जिल्ला कमिटीमा १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिव गरी ५ पदाधिकारी रहने व्यवस्था छ। अधिवेशनपछिको जिल्ला कमिटीले थप ५ प्रतिशत सदस्य मनोनीत गर्नेछ।

प्रकाशित: २२ पुस २०७८ ०४:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App