coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राष्ट्रिय सभा निर्वाचन: लुम्बिनी प्रदेशमा गठबन्धनको ‘पकड’

राष्ट्रिय सभा निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता गराएका एमाले र गठबन्धनका उम्मेदवारहरु। तस्बिर: नागरिक

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धन र एमाले बिच प्रतिष्पर्धा हुने भएको छ। १२ माघमा हुने निर्वाचनका लागि गठबन्धन र एमालेका उम्मेदवारहरुले मंगलबार उम्मेदवारी दर्ता गराएका छन्। यो प्रदेशमा अन्य,महिला र दलित तर्फका एक/एक गरि तीन सिटका लागि निर्वाचन हुँदैछ। तीन सिटका लागि ६ जना बिच प्रतिष्पर्धा हुँदैछ।

मंगलवार गठबन्धनका तर्फबाट कांग्रेसका  युवराज शर्मा, नेकपा एकीकृत समाजबादीका राज्य लक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद बिकले उम्मेदवारी दर्ता गरे। यसैगरि एमालेका रामदयाल गुप्ता,भारती उपाध्याय र कृष्णबहादुर बिकले उम्मेदवारी दर्ता गराएका छन्। १२ माघमा हुने राष्ट्रियसभा निर्वाचनमा २९६ मतदाताले मतदान गर्ने छन्।

गत जेठ १७ गते भएको राष्ट्रियसभाको उपनिर्वाचनको परिणामले गठबन्धनलाई सहज जीतको सम्भावना देखाईदिएको छ। उक्त उपनिर्वाचनमा कांग्रेसका दृगनारायण पाण्डे ४१४० मतभारका साथ बिजयी भएका थिए। त्यो बेला एमालेका चन्द्रबहादुर खड्काले ३६१२ मतभार प्राप्त गरेका थिए।

गत जेठमा भएको उपनिर्वाचनमा कुल ३ सय मतादाता थिए, जसमध्य २९६ मत खसेको थियो। आगामी १२ माघमा हुने निर्वाचनमा कुल मतदाता संख्या २९६ छ।  दुईजना प्रदेशसभा सदस्य र दुई जना गाउँपालिकाका अध्यक्षको मत घटेको छ। कारवाहीमा परेका जसपाका २ मतदाता सांसद घटेका छन् भने गुल्मीको दरबार गाउँपालिकाका अध्यक्ष अशोक कुमार थापा र बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष राम निवास यादवको निधन भएको छ।

अघिल्लो उपनिर्वाचन भन्दा आगामी माघमा हुने राष्ट्रियसभा निर्वाचनमा एमालेको मतभार थप घट्न सक्ने सम्भावना देखिन्छ। कारवाहीमा परेका दुई सांसदले उपनिर्वाचनमा एमालेलाई मतदान गरेका थिए। दुई सांसदको ९६ मतभार एमालेलाई यसपटक घाटा लाग्ने छ। यसैगरि निधन भएका बाँकेको जानकी गाउँपालिकाका अध्यक्ष यादव पनि एमालेकै हुन्।

यसैगरि एमालेबाट निर्वाचित अर्घाखाँची पाणीनी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी गौतम पनि कांग्रेस प्रवेश गरेकी छिन्। यि दुई स्थानीय तहका प्रमुख र उपप्रमुखको मत नपाए एमालेलाई ३६ मतभार घाटा लाग्ने छ। निधन भएका गुल्मीको दरबार गाउँपालिकाका अध्यक्ष अशोक कुमार थापा भने कांग्रेसबाट निर्वाचित भएका थिए। उनको निधन भएपछि गठबन्धनलाई १८ मतभार कम हुनेछ।

यस्तो छ लुम्बिनी प्रदेशको मतभार

लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या २९६ मध्य प्रदेश सांसद मतदाताको संख्या ८१ छ भने स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २१५ छ। ८१  प्रदेशसभा सदस्यको मतभार कुल ३८८८ छ भने स्थानीय तह तर्फको कुल मतभार ३८७० गरि यो प्रदेशको कुल मतभार ७७५८ छ।

यो मध्य प्रदेशसभा तर्फ गठबन्धन अन्तर्गत कांग्रेसका १९, माओवादी केन्द्रका १९, जनतासमाजवादी पार्टीका ४, राष्ट्रिय जनमोर्चाका १ र नेकपा एकीकृत समाजबादी पार्टीका १ जना सांसद छन्। गठबन्धनमा आवद्ध दलहरुको मात्रै कुल मतभार २११२ कायम छ। यसैगरि गठबन्धनकै स्थानीय तह तर्फ कांग्रेसका ६३,माओवादीका ३६,जसपाका १३, राजमोका ५ र नेकपा एकीकृत समाजवादीका ४ प्रमुख तथा उपप्रमुख छन्। गठबन्धनको स्थानीय तह तर्फको कुल मतभार २१७८ कायम देखिन्छ। यसरी प्रदेश र स्थानीय तह तर्फ गठन्धनको कुल मतभार ४२९० कायम देखिन्छ।

यसैगरि एमालेको प्रदेशसभा सदस्य संख्या ३६ छ। एमालेको प्रदेशसभा तर्फको मतभार १७२८ कायम हुन आउँछ। यसैगरि स्थनीय तह तर्फ कुल ८८ प्रमुख तथा उपप्रमुख छन्। स्थानीय तह तर्फको एमालेको मतभार १५८४ छ। यसरी एमालेको प्रदेशसभा तथा स्थानीय तह गरि कुल मतभार ३३१२ कायम देखिन्छ।

यसैगरि प्रदेशसभा सदस्यमा एक र स्थानीय तहमा ४ मत स्वतन्त्र तर्फ देखिन्छ। स्वतन्त्र तर्फको कुल मतभार १२० रहन आउँछ। स्वतन्त्र तर्फको कुल मतभार एमालेमा गाभिए पनि सत्ता पक्षीय गठबन्धनले सहजै जित्ने निश्चित प्रायः छ। यो मतभारबाट आउने सम्भावित नतिजाले लुम्बिनी प्रदेशबाट एमालेले दुई सिट गुमाउने छ। एमालेका राष्ट्रियसभा सदस्य महिला तर्फ कोमल ओली र दलित तर्फका एमालेकै रामलखन चमारको स्थानमा राष्ट्रियसभा निर्वाचन हुने छ। गठबन्धनले जीत हात पारे राष्ट्रियसभामा एमालेको लुम्बिनी प्रदेशबाट दुई सिट गुम्ने छ।

एकीकृत समाजवादी र राजमोलाई फाईदा

राष्ट्रियसभाको उपनिर्वाचनबाट कांग्रेसका दृगनारायण पाण्डेले जीत हात पारे। उनको स्थान पनि रिक्त हुने र उनको स्थानमा माघ १२ गते निर्वाचन हुँदैछ। पाण्डेको स्थानमा कांग्रेसबाट आगामी राष्ट्रिय सभा निर्वाचनमा युवराज शर्मा गठबन्धनको उम्मेदवार बनेका छन्। यसर्थ जीतको उच्च सम्भावना रहेकाले पनि कांग्रेसले राष्ट्रियसभाको रिक्त सिटमा आफ्नो  उपस्थिती जनाउने छ। दुई सिट गुमाउन सक्ने देखिएको एमालेको दुई सिटमा नेकपा एकीकृत समाजबादी र राष्ट्रिय जनमोर्चालाई फाईदा हुने देखिन्छ। गठबन्धनका तर्फबाट महिला र दलित तर्फको उम्मेदवार यि दुई दलले पाएका छन्। प्रदेशमा देखिएको गठबन्धनको मतभारले नेकपा एकीकृत समाजवादी र राजमोले पनि राष्ट्रिय सभामा एक÷एक सिट पक्का गर्ने सम्भावना उच्च छ।

प्रकाशित: २० पुस २०७८ १३:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App