७ वैशाख २०८१ शुक्रबार
राजनीति

निर्वाचनको तयारीमा लाग्न महामन्त्री थापाको निर्देशन

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तीन तहको निर्वाचन समयमै हुने भएकाले तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका छन्। स्थानीय तहको निर्वाचन वैशाखमा तथा प्रदेश र संघको निर्वाचन मंसिरमै हुने भएकाले पार्टीलाई एक ढिक्का बनाउँदै त्यसको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिएका हुन्।  

नेपाली कांग्रेस अर्घाखाँचीको पाणिनी गाउँपालिकाले सोमबार दुर्गाफाँटमा आयोजना गरेकोे बृहत्त आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले पार्टीभित्र गुट र भागबन्डाको अन्त्य गर्ने बताए। उनले विधानसम्मत ढंगले पार्टीलाई चलाउने बताए। महामन्त्रीमा निवार्चित भएपछि काठमाडौं पत्यकाबाहिरको पहिलो आमसभालाई सम्बोधन गर्दै थापाले पार्टीले अब नयाँ उर्जाका साथ काम गर्ने बताए। ‘गुट र समूहको अन्त्य गरी पार्टीलाई नयाँ उर्जाका साथ अगाडि बढाउन म कम्मर कसेर लाग्ने छु,’ उनले भने, ‘पार्टीभित्रका गुटको अन्त्य गर्दै विधानसम्मत ढंगले सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्छु।’

कांग्रेसले गरिबीमा रहेको जनसंख्यालाई कसरी उकास्ने र कसरी रोजगारी सृजना गर्ने भन्ने कुरामा जोड दिने महामन्त्री थापाको भनाइ थियो। विदेश गएका युवाको लागि रोजगारी सृजना गर्न पार्टीले रणनीति बनाउने उनले बताए। ‘कांग्रेस पार्टी अब अलमलिने होइन खाडीमा गएका युवालाई रोजगारी सृजना गर्नेमा लाग्ने हो,’ उनले भने।  

कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य तथा संसदीय दलका सचेतक पुष्पा भुसालले एमालेको आचरणका कारण देशले ठूलो मूल्य चुकाउनु परेको बताइन्। जनताको बलिदानीबाट प्राप्त भएको संविधान र गणतन्त्रको रक्षाका लागि कांग्रेसले जस्तोसुकै परिस्थितीको सामना गर्ने बताइन्। केपी ओलीका कारण देश दुर्घटनामा फस्ने खतरा बढेको नेतृ भुसालको भनाइ थियो। कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सञ्जय गौतम, प्रदेश सहमहामन्त्री बिष्णु मुस्कान, जिल्ला सभापति केशव श्रेष्ठलगायतले सम्बोधन गरेका थिए।

गाउँपालिका उपाध्यक्षसहित ४७५ जना कांग्रेसमा प्रवेश

तत्कालीन नेकपा एमालेबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित लक्ष्मी गौतम नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन्। २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा एमालेबाट उपाध्यक्षमा निर्वाचित गौतम एमाले विभाजन भएपछि नेकपा एकीकृत समाजवादीमा थिइन्। सोमबार उनलाई कांग्रेस महामन्त्री गगनकुमार थापाले पार्टी प्रवेश गराएका हुन्। गाउँपालिका महासंघको केन्द्रीय सदस्यसमेत रहेकी गौतम पार्टीभित्र प्रभावशाली नेतृका रूपमा स्थापित थिइन्।  

गौतमसहित नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस लगायतका पार्टी परित्याग गरेर ४७५ जनाले कांग्रेसमा प्रवेश गरेको बताइएको छ। नवप्रवेशीहरूलाई कांग्रेस महामन्त्री थापाले टिका र माला लगाइदिएर स्वागत गरेका थिए। महामन्त्री थापासहित कांग्रेस केन्द्रिय सदस्य पुष्पा भुसाल, संजय गौतम लगायतले उनीहरूलाई पार्टीमा स्वागत गरेका थिए।

प्रकाशित: २० पुस २०७८ ०२:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App