८ वैशाख २०८१ शनिबार
राजनीति

‘पार्टीलाई एकढिक्का बनाउँदै जनहितकारी काम गर्नेछु’

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले पार्टीलाई एकढिक्का बनाउँदै संगठन निर्माण र जनहितका कार्य गर्ने बताएका छन्। महाधिवेशनका क्रममा भएका आन्तरिक प्रतिस्पर्धा स्वाभाविक भएको भन्दै उनले अबका दिनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन प्रदेश नेतृत्वले सबैको मन जितेर अगाडि बढ्ने बताएका हुन्।

प्रदेश कार्यसमितिको पहिलो बैठकको निर्णय सार्वजनिक गर्न बुटवलमा गरिएको पत्रकार भेटघाट कार्यक्रममा नेता पुनले स्पष्ट नीति, कार्यक्रम र योजनासहित पार्टीलाई पहिलो बनाउन जनहितका कार्यलाई प्रभावकारी बनाउने बताए। उनले पार्टीलाई वडादेखि केन्द्रसम्मै प्रविधिमैत्री बनाउने जानकारी दिए।

नेता पुनले देशकै धरोहरका रूपमा रहेको धार्मिक, ऐतिहासिक एवं पर्यटकीय स्थल लुम्बिनीको विकासका सम्बन्धमा प्रदेश कमिटीले अध्ययन अनुगमन गरी आवश्यक सुधारका लागि सम्बन्धित निकाय र सरकारलाई घच्घच्याउने बताए। बुद्धजन्मस्थल लुम्बिनीसँगै प्रदेशका अन्य धार्मिक, ऐतिहासिक, पुरातात्विक एवं पर्यटकीय स्थलहरूको विकास र पर्यटन प्रवर्द्धनलाई जोड दिने बताए। कृषि, पर्यटन र उद्यमशीलतामार्फत प्रदेशवासीलाई स्वरोजगार बनाउँदै प्रदेशको विकास र समृद्धिका लागि नेपाली कांग्रेस लुम्बिनी प्रदेशले महत्वपूर्ण कार्य गर्ने पुनले बताए।

निर्वाचित भएको प्रमाणपत्र बुझेपछि बिहीबारै बसेको प्रदेश समितिको पहिलो बैठकले लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसलाई सशक्त, सुदृढ, स्वस्थ र पुनः जागृत गर्न संगठन, सबलीकरण र रूपान्तरणका कार्यक्रम गर्ने निर्णय गरेको छ। पार्टीको आन्तरिक लोकतन्त्र मजबुत र सुन्दर पक्ष भएकाले त्यसलाई आत्मसात् गर्दै प्रदेश अध्यक्षका प्रतिस्पर्धी नेता भरतकुमार साहलाई प्रदेश कार्यसमितिको दोस्रो वरीयतामा राख्नेलगायत निर्णय बैठकले गरेको छ।

कार्यक्रममा लुम्बिनी प्रदेश कार्यसमितिका सहमहामन्त्री निमा गिरीले निर्णय प्रस्तुत गर्नुका साथै सभापति पुनले प्रदेशको प्रथम अधिवेशन सम्पन्न गर्न योगदान पुर्‍याउने कांग्रेसका सम्पूर्ण प्रतिनिधि, नेता, निर्वाचन समिति, व्यवस्थापन समिति, रूपन्देही जिल्ला कार्यसमिति लगायतलाई धन्यवाद दिए।

प्रकाशित: १८ पुस २०७८ ०४:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App