७ वैशाख २०८१ शुक्रबार
राजनीति

राष्ट्रियसभा निर्वाचन: लुम्बिनीमा एमालेविरुद्ध गठबन्धन

आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा सत्तासाझेर दलहरु एक ठाउँमा उभिने भएका छन्। ३ सीटका लागि यो प्रदेशमा राष्ट्रियसभा चुनाव हुँदैछ। यो चुनावमा गठबन्धनमा आवद्ध दलहरु एक्लाएक्लै भिड्न खोजेको अवस्थामा एमालेको जीत सम्भावना रहने भएकाले गठबन्धनमा रहेका सबै दलहरु एक ठाउँमा उभिएर एमालेलाई पराजित गर्ने रणनीतिमा लागेका छन्।

जसका लागि जुन पार्टीको सांसदको पदावधि समाप्त हुने हो सोही पार्टीबाटै उम्मेदवार बनाउने गरि गठबन्धमा आवद्ध दलहरुले पुरानो सहमति गरेका छन्। सोही अनुसार उम्मेदवारी चयनको प्रकृयामा दलहरु लागेका छन्। कांग्रेस लुम्बिनी प्रदेशसका सभापति अमरसिंह पुनले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन कायम रहने र सोही अनुसार साझा उम्मेदवार प्रस्तुत गरिने बताए।  

‘यसअघिको राष्ट्रियसभा उपनिर्वाचनमा पनि हामी गठबन्धनमा आवद्ध दलहरुले साझा उम्मेदवार तय गरे विजयी बनाएका हौँ,’ प्रदेश सभापति पुनले भने, ‘यो निर्वाचनमा पनि त्यहि शिलशिलाले निरन्तरता पाउँछ।’ एमाले र गठबन्धनमा बाहेकका दलका सांसदको पद रिक्त भएको अवस्थामा ति स्थानमा गठबन्धनमा रहेका अन्य दलहरुले भागवण्डा गरेर मिलाईने पुनको भनाई छ।

यसैगरि एमालेको रिक्त हुने सांसदको सिटमा भने जसपालाई स्थान दिने गरि तयारी गठबन्धनमा भैरहेको छ। दाङमा एमालेकी राष्ट्रियसभा सदस्य कोमल ओलीको अवधि सकिएपछि उनको स्थानमा निर्वाचन हुँदैछ। त्यसोत, राष्ट्रियसभाको उपनिर्वाचनका क्रममा कांग्रेसका दृगनारायण पाण्डेलाई उम्मेदवारी बनाउँदा पनि आगामी चुनावमा एमालेको स्थानमा जसपाबाट साझा उम्मेदवार बनाउने सम्झौता भएको कांग्रेसका एक प्रदेशसभा सदस्यले बताए।

‘जुन जुन दलको सांसदको पद रिक्त हुन्छ त्यो पदको निर्वाचनका लागि सोही दलको उम्मेदवारी रहने भन्ने सहमति भएको हो,’ ति प्रदेशसभा सदस्यले भने, ‘एमालेको स्थानमा जसपाको साझा उम्मेदवार बनाउने भन्ने कुरा हो।’ ति सांसदका अनुसार एमालेलाई पराजित गर्नका लागि गठबन्धनका सबै दलहरु मिलेर अगाडि बढ्नै पर्ने बाध्यता गठबन्धनमा रहेका दलहरुलाई रहन्छ। माओवादी, कांग्रेस, जसपा लगाएतका दलहरु एक्ला एक्लै भिडे चुनावको नतिजा यी दलहरुको पक्षमा पर्दैन। ‘हामी गठबन्धनमा रहेका दलहरु एक्ला उक्लै भिडेको अवस्थामा हाम्रो एकल दलीय मतले हामी कसैलाई पनि जिताउँदैन,’ ति सांसदले भने, ‘यस्तो बेला चुनावी परिणाम एमालेको पोल्टामा पर्न सक्छ, अतः हामी सबै एक भएमात्रै एमालेलाई पराजित गर्न सक्ने तथ्यलाई हामीहरुले बिर्सने कुरा हुँदैन।’

गठबन्धन साझा उम्मेदवार तय गरेर निर्वाचनमा भिडे एमालेको पराजय पक्का पक्की जस्तै छ।

यता जसपाले पनि ३ सिट मध्य एक सिट आफूले पाउनु पर्ने माग राखेको छ। सम्भवतः कोम ओलीको स्थानमा हुने निर्वाचनमा जसपाले गठबन्धनका तर्फबाट उम्मेदवारी पाउने छ। ‘प्रदेशको तीन सिट मध्य एक सिट हामीलाई चाहिन्छ भनेर हामीहरुले माग गरिरहेका छौँ,’ जसपाका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले भने, ‘दलीय गठबन्धनको निर्णय अनुसार एउटा सिटमा हाम्रो दलका तर्फबाट उम्मेदवारी रहन्छ।’

एक महिला, एक दलित र एक अन्य गरि ३ सिटका लागि हुने लुम्बिनी प्रदेशको राष्ट्रियसभा निर्वाचन दाङमा हुने छ। निर्वाचनको प्रकृया प्रारम्भ भैसकेको लुम्बिनी प्रदेशमा शनिबार मतदाताहरुको नामावली प्रकाशन गरिएको छ। निर्वाचन अधिकृत दाङ देउखुरी जिल्लाका मुख्य न्यायाधीश रितेन्द्र थापाका अनुसार आईतबार दिउँसो तीन बजेसम्म मतदाता नामावलीमा छानविन गर्ने निर्वाचन कार्यतालिका रहेको छ।

यसैगरि १९ गते सोमबार मतदाताहरुको अन्तिम नामावली प्रकाशन हुने छ भने २० गते उम्मेदवारी मनोनयन दर्ता हुने छ। लुम्बिनी प्रदेशका ३ सहित देशभर १९ सिटका लागि १२ माघमा राष्ट्रियसभा निर्वाचन हुँदैछ। ४ वर्षे कार्यकाल रहेका १९ सांसदको पद रिक्त हुने भएकाले राष्ट्रियसभाको निर्वाचन हुन लागेको हो।    

प्रकाशित: १७ पुस २०७८ १०:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App