४ वैशाख २०८१ मंगलबार
राजनीति

राष्ट्रिय सभामा एमालेको आठ सिट गुम्न सक्ने

राष्ट्रिय सभा सदस्यको उम्मेदवारी दर्ता गर्ने दिन नजिकिँदै गएको छ। तर पाँच दलीय गठबन्धनबीच भागण्डा मिलाएर उम्मेदवारी दिने सहमति भए पनि यसबीचमा गठबन्धनमा छलफल भएको छैन।

आगामी माघ १२ गते राष्ट्रिय सभामा रिक्त हुने १९ सांसदको मतदानका लागि पुस २० गते मनोनयन दर्ता गर्नुपर्ने कार्यतालिका छ। राष्ट्रिय सभाको निर्वाचनका लागि पाँच दलीय गठबन्धनबीच कसरी जाने भन्ने विषयमा अझै छलफल नभए पनि एमालेको खाली हुने आठ सीटमा भागबन्डा हुने स्रोतले बताएको छ।

स्रोतका अनुसार काँग्रेस र माओवादी, नेकपा एकीकृत समाजवादी पार्टी र जसपा राष्ट्रिय सभाको सिटमा भागबन्डा मिलाउँदा अहिले रिक्त रहेका स्थानमा आ–आफ्नै दाबी कायम हुने छ भने बाँकी रहेको सिटमा भागबन्डा हुने भएको हो।

भागबन्डा गर्दा आ–आफ्नो पार्टीको मतभारलाई हेरेर मिलाउने तयारी गरिएको स्रोतले बतायो। खाली हुने २० सांसदमध्ये १९ सांसदका लागि मात्रै मतदान हुने छ। एक सांसद मनोनित भएकाले सो रिक्त ठाउँमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित गरिनेछ।

एमालेबाट आठजना, माओवादी केन्द्र र नेकपा (एस) पार्टीबाट चार÷चार, कांग्रेसबाट तीन र मनोनीत एकजना सांसदको आगामी फागुन २१ गतेसम्म पद रहने छ।

चारबर्षे कार्यकाल फागुन २१ गते सकिने सांसदमा नेकपा एमालेका सुमनराज प्याकुरेल, परशुराम मेघी गुरुङ, आगमनप्रसाद वान्तवा राई, कविता बोगटी, कोमल वली, नैनकला ओझा, रामलखन चमार, माओवादी केन्द्रका दिननाथ शर्मा, राष्ट्रिय सभा उपाध्यक्ष समेत रहेकी शशिकला दाहाल, खिमबहादुर विक, चक्रप्रसाद स्नेही, जीवन बुढा, कांग्रेसका राधेश्याम अधिकारी, तारादेवी भट्ट, दृगनारायण पाण्डेय, नेकपा (एस) पार्टीका ठगेन्द्रप्रकाश पुरी, उदया शर्मा पौडेल, शान्तिकुमारी अधिकारी जिसी, शेरबहादुर कुँवर र राष्ट्रपतिबाट मनोनित रामनारायण विडारी, रहेका छन्।

राष्ट्रिय सभाका सांसद चन्द्रबहादुर खड्काको स्थानमा गत जेठ १७ गते भएको उपनिर्वाचनबाट दृगनारायण पाण्डेय निर्वाचित भएकोमा उनको कार्यकाल पनि फागुन २० सम्म मात्रै कायम हुनेछ।

गठबन्धनका कारण एमालेलाई पहिलेका ८ वटा सिट नै जोगाउन चुनौती रहेको देखिन्छ। सबै प्रदेशको मतभार हेर्दा प्रदेश १ मा मात्र एमालेको जीत हुने देखिन्छ भने अन्य ठाउँमा एमालेका सबै सिट गुम्ने अवस्था छ। प्रदेश १ मा पनि गठबन्धनले साना दलसँग मिल्ने रणनीति बनाए एमालेको सिट गुम्ने देखिएको छ। राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेस, माओवादी केन्द्र र नेकपा (एस) पार्टीले कसरी जाने भनेर केही दिनभित्र छलफलमा बस्ने तयारी गरेका छन्।

प्रदेश १ मा ३ जनाको पदावधि सकिँदैछ। रिक्त हुने समूहमध्ये महिलाबाट १, अन्यबाट १ र अपांगता भएका व्यक्ति वा अल्पसख्यक समुदयबाट १ रहेको छ। प्रदेश १ मा महिला समूहबाट नैनकला ओझा, अन्य समूहबाट परशुराम मेघी गुरुङ र अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट आगमनप्रसाद वान्तवा राई गरी तीन जना एमाले सांसदको पद रिक्त हुँदैछ।

प्रदेश २ मा महिला समूहबाट १, अन्य समूहबाट १ जनाको पद रिक्त हुँदै छ। एमालेका सांसद सुमनराज प्याकुरेल अन्य समूहबाट निर्वाचित हुन भने राष्ट्रिय सभा उपाध्यक्ष शशिकला दाहाल माओवादी केन्द्रकी महिला समूहबाट निर्वाचित हुन्।

बागमती प्रदेशमा महिला समूह बाट १ र अन्य समूह बाट १ गरी दुई जनाको पद रिक्त हुँदैछ। रिक्त हुने मध्येका कांग्रेसका राधेश्याम अधिकारी अन्य समूहबाट हुन भने, नेकपा एकीकृत समाजवादीकी उदया शर्मा पौडेल महिला समूहबाट निर्वाचित हुन् ।

गण्डकी प्रदेशमा महिला समूहबाट १, अन्य समूहबाट १, दलित समूह बाट १ सिट खाली हुँदैछ। यो सिटमा माओवादी केन्द्रका दिननाथ शर्मा अन्यबाट निर्वाचित भएका थिए भने माओवादी केन्द्रका खिमकुमार विक दलितबाट निर्वाचित भएका थिए। एकीकृत समाजवादी पार्टीकी शान्तिकुमारी अधिकारी जि.सी महिलाबाट निर्वाचित हुन्।

लुम्बिनी प्रदेशमा महिला समूहबाट १, दलित समूहबाट १, अन्य समूहबाट १ सिट खाली हुँदैछ। एमालेकी कोमल वली महिला समूहबाट निर्वाचित हुन भने एमालेका रामलखन चमार दलितबाट निर्वाचित हुन् भने कांग्रेसका दृगनारायण पाण्डेय अन्य समूहबाट निर्वाचित हुन्।

कर्णाली प्रदेशमा महिला समूहबाट १, अन्य सूहबाटबाट १, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट १ सिट खाली हुँदैछ। कर्णालीबाट एकीकृत समाजवादी पार्टीका ठगेन्द्रप्रकाश पुरी अन्यबाट निर्वाचित हुन् भने नेकपा एमालेकी कविता बोगटी महिला समूहबाट निर्वाचित हुन्। त्यस्तै माओवादी केन्द्रका जीवन बुढा अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समुदायबाट निर्वाचित हुन्।

सुदूरपश्चिम प्रदेशमा महिला समूहबाट १, अन्य समूहबाट १ दलित समूहबाट १ सिट खाली हुँदैछ। खाली हुने सिटमा २०७४ सालको निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट एमालेका चक्रप्रसाद स्नेही दलित समूहबाट निर्वाचत हुन् भने कांग्रेसकी तारादेवी भट्ट महिला समूहबाट निर्वाचित हुन्। एकीकृत समाजवादीका शेरबहादुर कुँवर अन्य समूहबाट निर्वाचत हुन्।

यसैगरी सरकारको सिफारिसमा रामनारायण विडारी राष्ट्रपतिबाट मनोनित सांसद हुन्। उनको पदावधि पनि आगामी फागुन २१ मा सकिँदैछ। जसबाट मनोनित गर्नुपर्ने एक सिट खाली हुन लागेको हो।

प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा राष्ट्रिय सभाका सदस्य छनोट हुने छन्। प्रदेशसभाका सदस्यको मतभार ४८ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतको भार १८ राखिएको छ।

प्रकाशित: १७ पुस २०७८ ०१:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App