८ वैशाख २०८१ शनिबार
राजनीति

एमसिसी सहमतिबाटै पास हुन्छः गृहमन्त्री

पोखरामा पत्रकार महासंघ कास्कीले आयोजना गरेको पत्रकार भेटघाटमा गृहमन्त्री बालकुष्ण खाँण। तस्बिरः उमेश पुन/नागरिक

गृहमन्त्री बालकृष्ण खाँणले एमसिसी(मिलेनियम च्यालेन्ज कर्पोरेशन) राजनीतिक दलहरुबीच सहमतिबाटै पास हुने विश्वास व्यक्त गरेका छन्। एमसिसी सरकारले नै प्रस्ताव गरेको उल्लेख गर्दै एमसिसी पासको लागि सरकारले सबैसँग सहमति गर्ने स्पष्ट पारे। ‘सबैको सहमतिमै एमसिसी पास हुन्छ’, पत्रकार महासंघ कास्कीले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाटमा गृहमन्त्री खाँणले भने, ‘हाम्रो विश्वास छ सबैको सहमति हुन्छ।’

उनले एमसिसी पास गर्न सहमत नभएका राजनीतिक दललाई सहमत गरेर पास गराईने स्पष्ट पारे। ‘सहमति नहुने सहमतिमा आउँछन्। सहमति गरेरै लैजाने विश्वास हाम्रो छ,’ उनको भनाई थियो। एमसिसी ऋण नभई अनुदान भएकोले नेपाली जनताले उपयोग गर्नुपर्नेमा जोड उनको थियो। अनुदानलाई सही सदुपयोग गर्नुपर्छ भन्ने विश्वास जनताको रहेको गृहमन्त्री खाँणले बताए। ‘यो ऋण होईन अनुदान हो। अनुदानलाई नेपालीले सदुपयोग गर्नुपर्छ,’ खाँणले थप प्रष्टयाए। सरकारले नै प्रस्ताव गरेको परियोजना भएकै कारण नेपालीले सदुपयोग गर्नुपर्ने उनले दोहोर्‍याए।

वर्षेनि विद्युत उत्पादन बढ्दै गएको छ। उत्पादित विद्युत निर्यातको लागि ट्रान्समिसन लाईन निर्माण गर्नुपर्छ। ट्रान्समिसन लाईन बनाउन एमसिसीको अनुदान सरकारले प्रस्ताव गरेको गृहमन्त्री खाँणले उल्लेख गरे। ‘विद्युत ट्रान्समिसन निर्माणको लागि यो परियोजना अघि सारिएको हो,’ उनले भने,‘सडक निर्माण विस्तार पनि यसैसँग जोडिन्छ।’

ट्रान्समिसनका सामान पुर्‍याउन सडक बनाउनुपर्छ। निर्वाचनको सन्दर्भमा गृहमन्त्री खाँणले समय निर्वाचन हुने दावी गरे। ‘सबै निर्वाचन समयमै हुन्छ,’ उनले भने, ‘स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा समयमै हुन्छ।’ सरकार सहमतिकै आधारमा निर्माण भएको उल्लेख गर्दै अहिलेका राजनीतिक मुद्दाहरुलाई पनि सहमतिबाटै टुँग्याउने उनको विश्वास थियो।

प्रदेशमा सुरक्षालाई चुस्त बनाउन आवश्यक दरबन्दी थप्ने विषयमा सरकार तत्पर रहेको भन्दै अत्यावश्यक ठाउँमा सुरक्षाकर्मी थपिने बताए। उनले सुरक्षा निकायको वृत्ति विकासको लागि विभिन्न पद सृजना गरिएको बताउँदै सृजना गरिएको पदले सुरक्षा निकायको मनोबल बढ्ने विश्वास व्यक्त गरे। पोखरा सडक महोत्सव उद्घाटन गर्न अघिल्लो दिन पोखरा आईपुगेका गृहमन्त्री खाँणले पर्यटकीय क्षेत्र २४ सै घण्टा खुला राख्नुपर्ने बताए। उनले पर्यटकीय क्षेत्र २४ सै घण्टा खुल्न थालेपछि समस्या आउलान भन्दै आएका समस्यालाई सम्बोधन गर्दै जानुपर्ने बताए।

‘पर्यटकीय क्षेत्र खुल्ला रहँदा त्यसले रोजगार सृजना, उद्यमलाई राहत दिने लगायतका विषय हुन्छन्’, उनले भने, ‘पोखराको मात्रै होइन लुम्बिनीको पर्यटकीय क्षेत्र पनि २४ सै घण्टा खुल्नुपर्छ।’ गृहमन्त्री खाँणले निश्चित एउटा ठाउँबाट होटल तथा रेष्टुरेण्ट खुला गरेर अघि बढ्नुपर्ने बताए।

प्रकाशित: १६ पुस २०७८ ०६:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App