coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘पार्टीभित्रको भ्रष्ट आचरण निरुत्साहित गर्नुपर्छ’

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का नेता राम कार्कीले पार्टीभित्रकै भ्रष्ट आचरणले पार्टी संगठन कमजोर भएको दाबी गरेका छन्। पार्टीभित्र मौलाउँदै गएको भ्रष्ट आचरणलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिँदै कार्कीले अध्यक्ष पुष्पकमल दाहालले पेस गरेको प्रतिवेदनमाथि पूरक प्रतिवेदन महाधिवेशनको बन्दसत्रमा पेस गरेका हुन्।

राजधानीमा आइतबार सुरु भएको माओवादीको आठौं महाधिवेशनअन्तर्गत मंगलबारको बन्दसत्रमा कार्कीले अध्यक्ष दाहालको प्रतिवेदनमाथि पूरक धारणा राख्दै शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रमा फरक ढंगले काम गर्नुपर्ने प्रस्तावसहित उत्पीडित सामाजिक वर्गको मन जित्नुपर्नेमा जोड दिएका छन्। ‘पार्टीले आफैंभित्रको भ्रष्ट आचरणलाई निरुत्साहित गरेर र उत्पीडित सामाजिक वर्गको मन जित्नुपर्छ र त्यसरी बलशाली भएपछि समाजका भ्रष्ट तत्वहरूविरुद्ध आन्दोलन चलाउनुपर्छ’, उनको प्रतिवेदनमा उल्लेख छ। संघीयतालाई व्यवस्थित गर्न नसके जनतालाई पीडित बनाउने बुख्याँचा साबित हुनसक्ने उनले उल्लेख गरेका छन्।

कार्कीले तल्लो तह र उत्पीडित जनताको सहभागिता सुनिश्चित नभएसम्म प्रजातन्त्रको सर्वांगीण विकास हुन नसक्ने दाबी गरे। ‘मजदुर किसानजस्ता आधारभूत तहका जनताको निगरानी विकास निर्माण आदिमा कायम हुन नसक्दासम्म संघीयता जनतालाई पीडा दिने बुख्याँचा सावित हुनेछ,’ उनको प्रतिवेदनमा छ।

चौरमा, चौतारामा, विद्यालय परिसरमा, गुन्द्री, राडीपाखी आदिमा बसेर कुलो, कुलेसो, पुलपँधेरा, बाटोघाटो, स्वास्थ्यकेन्द्र, विद्यालय आदिबारे नीति निर्माण गर्न सकियोस् भनेर नेपाल संघीयतामा गएको पनि जनाएका छन्। ‘यो निर्धन मुलुकका जनप्रतिनिधिहरू करोडौंको गाडीमा सवार भएर न्वारन, पास्नी, जन्मदिन मनाउने आतिथ्य सत्कार गरुन् भन्ने उद्देश्य हाम्रो कदापि थिएन,’ उनले आफ्नो फरक मतमा लेखेका छन्, ‘संघीयताले बजेटको एउटा हिस्सा स्थानीय तहमा त ल्याइदियो तर त्यसको विचरण र अनुगमनको संयन्त्र तयार हुन सकेको छैन।’

नेपालको गणतन्त्र जात व्यवस्था विनाश गर्ने प्रभावी हतियार बनेर विकसित हुनुपर्नेमा जोड दिँदै कार्कीले माक्र्सवाद, लेनिनवाद, माओवादको आलोकमा समाज, इतिहास,अर्थतन्त्र, राजनीति आदिको थप अध्ययन, छलफल, व्याख्या गर्नुपर्ने औंल्याएका हुन्। ‘हाम्रो गणतन्त्रले पितृसत्तात्मक सोचलाई क्रमशः निर्मूल गर्दै जानुपर्छ।

हाम्रो गणतन्त्रले परम्परा, स्वायत्तता आदिको मुखुन्डो लगाएर बाँचिरहन चाहने जडतालाई समाप्त गर्न सक्नुपर्छ,’ कार्कीले पेस गरेको पूरक राजनीतिक प्रतिवेदनमा भनिएको छ, ‘राजनीतिक रुपमा स्थापित भएको गणतन्त्रलाई हाम्रो विद्यालयमा, कामका विभिन्न क्षेत्रहरूमा यहाँसम्म कि घरमा विस्तार गर्न, विकसित पार्न चुक्यौं भने हाम्रो गणतन्त्रले आफ्नो अर्थ, मूल्य र ग्राह्यता गुमाउनेछ।’

माओवादीको मुख्य लडाइँ पुँजीवादविरुद्ध भएको र त्यसमाथिको विजयबाट प्राप्त हुने समाजवाद भएको कार्कीको दाबी छ। ‘हामी के कुरामा ढुक्क हुनुपर्छ भने हाम्रो मुख्य लडाइँ पुँजीवादका विरुद्ध हो र यसमाथिको विजयबाट प्राप्त हुने समाजवाद हो। दलाल पुँजीवाद समाप्त गरेर राष्ट्रिय पुँजीवाद कायम गर्ने सोच भनेको यथास्थितिमै रमाइरहने सोच हो।’ उनले घरेलु परिस्थितिलाई विश्लेषण गर्दै नेपाल दुई वर्गमध्ये एकको निर्णायक नभएको अवस्थामा रहेको उनको तर्क छ।

कार्कीले चीन घेर्ने अमेरिकाको रणनीतिअन्तर्गत भारतसँग गठबन्धन गरिरहेको भन्दै नेपालले दीर्घकालीन नीति तय गर्नुपर्नेमा जोड दिएका छन्। ‘चीन र भारतको आर्थिक तथा राजनीतिक उदयले यो वैचारिक राजनीतिक हाँक हाम्रा निम्ति ध्यानमात्र नभई कार्यभार बन्न गएको छ’, पूरक धारणामा भनिएको छ।

उनले नेपालको यातायातलाई समाजवादी यातायातमा लैजान र सिन्डिकेट हटाउन सरकारले नसकेको उल्लेख गरेका छन्। उनले नेपालको शिक्षालाई जनवादी र वैज्ञानिक बनाउन पाठ्यक्रम परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन्। ‘हाम्रा पाठ्यक्रमहरूमा जमेर बसेको आस्था, जात व्यवस्था, पितृसत्ता र जडसूत्रलाई फेरेर समाजवादी सोच र प्रणालीलाई कसरी प्रभावी बनाउने भन्ने बहसमा जनपक्षीय शिक्षा नीति र कार्यक्रममा परिवर्तन ल्याउन सक्छौं’, कार्कीले भनेका छन्, ‘जनयुद्धले प्रजनन गरेका मूल्य, सदाचार, आत्मबलिदान, सामूहिकता आदिमध्ये कतिपय सम्पदा क्षय हुँदै गए पनि गणतन्त्र, संघीयता, समावेशी प्रजातन्त्रजस्ता मूर्त राजनीतिक नाराहरू अहिले पनि नेपाली राजनीतिको केन्द्रमा मडारिरहेका छन्।

यस्ता खालका मुद्दाहरूको संरक्षण र सम्वर्द्धन गर्नु माओवादीको केवल चाहना नभएर बाध्यता भनेका छन्। यी मुद्दाहरूमा तलवितल पर्नासाथ माओवादीका अस्तित्वमाथि प्रश्न खडा हुन्छ’, कार्कीले भनेका छन्।

कार्कीले सार्वजनिक सम्पदामा पार्टीको वर्चश्व कायम गर्न एमालेले अभियान चलाएको आरोप लगाएका छन्। ‘एमालेको कथित जनताको बहुदलीय जनवाद भन्ने कार्यक्रम अगाडि आएसँगै वन जंगल, खानेपानी, विद्यालय, स्वास्थ्य सेवालगायत समुदायका सबै सम्पदामाथि पार्टीको वर्चश्व कायम गर्ने अभियान चलाइयो,’ कार्कीले भनेका छन्, ‘अन्तर्राष्ट्रिय गैरसकारी संस्थाहरूले सेकताप गरेको अभियानका कारण आज जनसमुदाय निरिह र मौन छन्।

उनीहरूको जीवन्त गतिविधिलाई सामान्यतया एमालेको र छिटफुट रुपमा अरु पार्टीको नियन्त्रणमा बन्दी बनाइएको छ ।’ किसान एउटा हलोको निम्ति, मजदुर आफ्ना बालबालिका सरकारी विद्यालयमा भर्ना गर्न, सामान्य गृहस्थी घरमा धारा जडानका निम्ति पार्टीका कार्यकर्तासामु झुक्न बाध्य भएको उनले उल्लेख गरेका छन्। यी कारणले गर्दा कम्युनिस्ट पार्टी र नेताहरूमा बढ्दो उपभोक्तावाद र त्यसलाई पूरा गर्न अपनाइने राजनीतिक अवसरवाद अनियन्त्रित बनेको उनले लेखेका छन्। पार्टीले तत्काल शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने उनले औंल्याएका छन्।

कार्कीले कृषिलाई औद्योगीकरणका नाममा खर्बौं खर्च भएको भन्दै खेतबारीलाई कारखानामा फेर्ने पुँजीवादी भ्रमबाट सचेत बन्न सके देशलाई फाइदा हुने कार्कीको धारणा छ। देशभर कृषि पर्यावरणीय खेतीको अध्ययन, जाँच गर्दै व्यवहारमा लागू गर्ने दाबी गरेका छन्। भूमिसुधारअन्तर्गत जमिनको वर्गीकरण मुद्दालाई अगाडि ल्याउनुपर्नेमा उनको जोड छ। ‘आवास, वन, उद्योग, खेती र चरनका निम्ति राम्रो अध्ययन गरेर जमिन वर्गीकृत गर्नुपर्छ’, प्रतिवेदनमा उल्लेख छ।

प्रकाशित: १४ पुस २०७८ ०१:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App