coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

जनमत पार्टीले जलाए ट्रक, यात्रु बसेकै सवारीमा बर्साए ढुंगामुढा

सिरहामा लगामबिहिन उग्रता

सिके राउत नेतृत्वको जनमत पार्टीले गरेको आमहड्तालको क्रममा सिरहामा दर्जनौ सवारी साधनमाथि तोडफोडसँगै एक मालबाहक ट्रकमा आगजनी गरेको छ। सिरहाको औरही गाउँपालिकाले किसानलाई वितरण गर्न खरिद गरेको गहुँको बिउ लुटपाटमा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको विरोधमा जनमत पार्टीले सिरहामा आम हड्ताल घोषणा गरेका थिए।

जनमतका कार्यकर्ताहरु आइतबार दिउँसो पूर्वपश्चि राजमार्गको गोलबजार नगरपालिका खण्डमा ना ५ ख ५५२२ नम्बरको मालबाहक ट्रकमा आगजनी गरेको सिरहा प्रहरी प्रवक्ता डिएसपी सुभाष बुढाथोकीले बताए। प्रहरीले बारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिएपनि ट्रकमा धेरै क्षति पुगेको उनले बताए।

ट्रक आगजनीमा संलग्नमध्ये चार जनालाई पक्राउ गरिएको सिरहा प्रहरी प्रमुख एसपी हिराबहादुर पाण्डेले बताए। सवारी साधन तोडफोड र आगजनीमा संलग्नको पहिचान र खोजी भैरहेको उनले बताए।

गोलबजारमा प्रहरीकै उपस्थिति रहेको स्थानमा निजी तथा सार्वजनिक यातायातका दर्जनौ साधनमा जनमतका कार्यककर्ताहरुले तोडफोड तथा आगजनी गरेको थियो। आमहड्तालका कारण सिरहाका शैक्षिक संस्थाहरुमा पठनपाठन ठप्प रह्यो। गोलबजार र मिर्चैयाका बजार समेत बन्द रह्यो।

जनमत पार्टीका कार्यकर्ता दिपेन्द्र यादवले गाउँपालिकाको गहुँको विउ लुटिएको नभई किसानहरुले लगेको दाबी गरेका छन्। किसानले विउ लग्दा मुद्दा लगाएर पक्राउ गर्न नहुने उनको तर्क छ।  

गाउँपालिका अध्यक्ष सिद्धार्थ यादवले किसानका लागि खरिद गरिएको गहुँको बिउ केही अराजक व्यक्तिको उक्साहटमा लुटिएको बताए। लुटपाटमा संलग्नको पहिचान गरी कारबाही गर्न गाउँपालिकाले प्रशासनलाई आग्रह गरेको उनले बताए। किसानका लागि खरिद गरिएको गहुँको विउ लुट्न लगाएर कालोबजारी गर्नेमाथि हदैसम्मको कारबाही गर्नुपर्ने उनको भनाइ छ।

सिके राउत नेतृत्वको जनमत पार्टीले कुनै मुद्दा नपाएपछि सार्वजनिक सम्पती लुट्न लगाएर राजनीति गर्न खोजेको अध्यक्ष यादवको भनाइ छ।

प्रकाशित: ११ पुस २०७८ ११:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App