coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

देउवालाई अर्को अवसर

नेपाली कांग्रेसको सभापतिका रूपमा पहिलो कार्यकाल आन्तरिक किचलोमै गुजारेका शेरबहादुर देउवाले शनिबारबाट पार्टी सभापतिका रूपमा दोस्रो कार्यकाल सम्हालेका छन्। अन्योल र अनिश्चयबीच मंसिर २४ गतेबाट सुरु भएको कांग्रेसको १४औं महाधिवेशनले देउवालाई पुनः सभापतिमा निर्वाचित गरेको हो। कांग्रेस निर्वाचन समितिबाट शनिबार प्रमाणपत्र लिएलगत्तै देउवाले केन्द्रीय समितिको बैठकमार्फत सभापतिका रूपमा दोस्रो कार्यकाल सुरु गरेका हुन्। पहिलो कार्यकालका रूपमा साढे पाँच वर्ष गुजारेका देउवाले पार्टी संगठन सुधारका लागि उल्लेख्य काम गर्न सकेनन्। पार्टीभित्र र बाहिरबाट आलोचनामै पहिलो कार्यकाल गुजारेका देउवाका लागि दोस्रो कार्यकाल विगतलाई सच्याउने एउटा अवसरका रूपमा आएको छ।  

विधानको पालना र सहमतिबाट पार्टी सञ्चालन दुवैमा असफल देखिएका देउवाका लागि आगामी दिनमा पनि सोही चुनौती छ। आफू कांग्रेस राजनीतिमा सक्रिय हुँदाका बेला जन्मिएका नेता–कार्यकर्तालाई १४औं महाधिवेशनबाट सहकर्मीका रूपमा देउवाले पाएका छन्। टेबुल ठोकेर पार्टीका विषयमा मात्र होइन, राष्ट्रिय मुद्दामा बहस गर्ने नेताबिनै सुरु भएको दोस्रो कार्यकालमा पदाधिकारीसहित केन्द्रीय समितिमा आएका युवा पुस्तालाई विश्वासमा लिने र अघिल्लो पुस्तालाई समेटेर अघि बढ्ने चुनौती देउवासामु छन्। रामचन्द्र पौडेल, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, कुलबहादुर गुरुङसहितका नेता कांग्रेसको केन्द्रीय समितिमा छैनन्। उनीहरूलाई समेट्नुपर्ने चुनौती देउवालाई छ भने पदाधिकारीमा पराजित केही नेतालाई पनि अटाउनुपर्ने बाध्यता पनि उनीसँग छ।

पार्टीभित्र मात्र होइन, राष्ट्रिय राजनीतिमा पनि निरन्तर प्रश्न गर्दै स्थापित भएको पुस्तालाई पार्टी पदाधिकारीमा सम्हाल्दै देउवाले दोस्रो कार्यकलको कार्यसम्पादन गर्नुपर्नेछ। संशोधित विधानसँगै पार्टी केन्द्रीय समितिमा युवाहरूको उपस्थितिले नेता तथा कार्यकर्तामा एउटा ऊर्जा ल्याएको छ। त्यसलाई पार्टी संगठनभित्र शक्तिका रूपमा परिणत गरेर आगामी एक वर्षभित्र हुने तीनै तहका निर्वाचनमा कांग्रेसलाई जिताउने चुनौती र दायित्व देउवामाथि छ।  

२०७४ सालमा भएका तीन तहको निर्वाचनमा पार्टी पराजित हुँदा पहिलो कार्यकाल त्यसमै रुमलिएका देउवाका लागि दोस्रो कार्यकालको परीक्षा पनि निर्वाचन नै हुनेछ।  

संविधानसभाबाट जारी नयाँ संविधान र त्यसले परिकल्पना गरेअनुसार वडादेखि केन्द्रसम्म पार्टीको सांगठनिक स्वरूपलाई कांग्रेसले समावेशी बनाएको छ। संघीयताको मर्मअनुसार कांग्रेसले पार्टी संरचनालाई रूपान्तरण गरेको छ। तर, त्यही संविधानको संरक्षण पनि कांग्रेस र देउवाका लागि अर्को चुनौतीको विषय बन्दै आएको छ। समयमा तीन तहको निर्वाचन गराउने र अहिलेको गठबन्धनलाई निरन्तरता दिनुपर्ने जिम्मेवारी प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाकै काँधमा छ। एमसिसीलगायत राष्ट्रिय महत्व र अन्तर्राष्ट्रिय चासोका परियोजनाहरूका विषयमा निर्णयमा पुग्नु र सन्तुलन गुमाउन थालेको परराष्ट्र सम्बन्धलाई ठिक ठाउँमा ल्याउने दायित्व पनि उनैसँग छ।  

त्यति मात्र होइन, पार्टीलाई विधि र विधानअनुसार हिँडाउने कि गुट र भागबन्डाका आधारमा भन्ने प्रश्न कांग्रेसमा पेचिलो बन्दै गएको छ। पहिलो कार्यकालमा विधानअनुसार पार्टीका विभागसहितका समितिहरूलाई पूर्णता दिनसमेत असफल देउवाले दोस्रो कार्यकालमा कसरी अघि बढ्छन्? पार्टीका विभिन्न पक्ष र समूहलाई साथै लिएर हिँड्न खोज्दा विधानको पालना गर्न नसकिएको देउवा र निकटहरूले बताउँदै आएका थिए। तर, अहिले उनलाई केन्द्रीय समितिमा निकट दुई तिहाइ नेताको साथ र समर्थन छ। अब उनलाई विधानको पालना गरेर विगतको गल्ती सच्याउन अवसर प्राप्त भएको छ। १४औं महाधिवेशनले २०६४ सालदेखि कायम रहेका संगठित गुटहरू भत्केर समूहसमूहमा परिणत भएका छन्। पार्टीभित्रका विभिन्न समूहलाई संगठन निर्माणमा प्रयोग गर्छन् कि नयाँ गुटका रूपमा स्थापित गराएर भागशान्तिमा परिणत गर्नेछन्, त्यो आगामी दिनले नै देखाउनेछ। पार्टीका उपगुटलाई वैधता दिँदै कांग्रेसभित्र मात्र होइन, राज्यसत्तामा पनि भाग पाउने परम्परा विगतमा देउवाले नै बसाएका हुन्। त्यसलाई तोड्ने देउवालाई यो अन्तिम अवसर हो।  

राम्रोलाई होइन, हाम्रोलाई भन्ने मान्यता कांग्रेसमा स्थापित हुँदै गएको छ। त्यसलाई तोड्दै हाम्रोलाई, राम्रोलाई र व्यक्तिलाई होइन, विधि र विधानलाई महत्व दिनुपर्ने कांग्रेस नेता प्रकाशशरण महतको पनि बुझाइ छ। कांग्रेसमा संगठनभन्दा व्यक्ति प्रधान हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै महत कुनै एक व्यक्तिका कारण पार्टी संगठन रूपान्तरण सम्भव नभएको बताउँछन्। व्यक्ति होइन, पार्टी र पार्टी संगठनलाई महत्व दिनुपर्ने उल्लेख गर्दै उनले थपे, ‘अहिले व्यक्तिवादी चरित्र हाबी भएको छ। त्यसले संगठनलाई हित गर्दैन।’

महिनौं लगाएर वडादेखि केन्द्रसम्मको महाधिवेशन त कांग्रेसले गरेको छ। तर, उसका सबै भ्रातृ तथा शुभेच्छुक संगठनहरू लथालिंग छन्। नेपाल विद्यार्थी संघ, नेपाल तरुण दलसहितका भ्रातृ तथा शुभेच्छुक संगठनहरूको आवधिक महाधिवेशन नहुँदा तदर्थवादमा सञ्चालन हुँदै आएका छन्। उनीहरूको आवधिक महाधिवेशन तत्काल गराउने र आगामी दिनमा ठीक समयमा गर्ने र गराउने परम्परा विकास गर्न सक्छन् कि सक्दैनन् देउवाको दोस्रो कार्यकालको परीक्षण त्यहीबाट सुरु हुनेछ। आफ्नो उमेरजति नै लामो अवधि कांग्रेस र लोकतान्त्रिक आन्दोलनका लागि खर्चिएका नेताहरूलाई ब्याक बेन्चमा धकेलेर निकै ऊर्जाका साथ फर्स्ट बेन्चमा महामन्त्रीका रूपमा आइपुगेका दुई युवा नेता गगनकुमार थापा र विश्वप्रकाश शर्माको परीक्षा र परीक्षण पनि त्यहीँ नै हुनेछ।

‘पार्टीलाई एकताबद्ध बनाउँछु’  

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। १४औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै उनले पार्टीका सबै नेताकार्यकर्तालाई समेटेर अघि बढाउने बताएका हुन्। महाधिवेशनमा नेतृत्व लागि प्रतिस्पर्धा भए पनि आफू सबैको साझा सभापति भएको स्पष्ट पार्दै देउवाले भने, ‘म सबैको प्रतिनिधित्व गरेर पार्टीलाई अगाडि बढाउन चाहन्छु। सबैलाई समेटेर, निष्पक्ष रूपमा काम गर्छु। म सबैको सभापति हुँ, आजैका मितिबाट म त्यो विश्वास दिलाउन चाहन्छु।’

कांग्रेसमा वडा तहदेखि केन्द्रसम्मै लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन भएको बताउँदै यस्तो लोकतान्त्रिक अभ्यास नेपालका अन्य दलमा नभएको दाबी गरे। थुप्रै अवरोध र व्यवधानहरूबीच पार्टीले महाधिवेशन गरेर आफूलाई लोकतान्त्रिक अभ्यासमा अग्रपंक्तिमा स्थापित गरेको उल्लेख गर्दै देउवाले अब आमनिर्वाचनमा केन्द्रित हुनुपर्नेमा जोड दिए। उनले तीनै तहको निर्वाचन जित्नेगरी संगठन निर्माणमा लाग्न पनि नेता तथा कार्यकर्तालाई आग्रह गरे।

‘हाम्रो पार्टीले वडादेखि केन्द्रसम्म नै स्वतन्त्र रूपमा लोकतान्त्रिक अभ्यास गरेको छ, यस अर्थमा हाम्रो पार्टी मात्रै साँच्चिकै लोकतान्त्रिक पार्टी हो भन्ने पुष्टि भएको छ,’ देउवाले भने, ‘हाम्रो अगाडि अर्को ठूलो चुनौती पनि छ, स्थानीयदेखि राष्ट्रिय चुनाव हाम्रा अगाडि छन्, ती चुनावमा हामीले जित्नुपर्ने छ। कांग्रेसलाई सबैभन्दा ठूलो पार्टी बनाउनुपर्ने छ। तपाईंहरू आजैदेखि त्यस काममा जुट्नुहोला।’ संघीयता र समावेशिताको मर्मअनुसार तलदेखि माथिसम्म पार्टीको संरचना निर्माण भएको बताउँदै देउवाले थपे, ‘हामीले तल्लो तहदेखि नै महिलाहरूलाई ठाउँ दिएर जनसंख्याको आधा आकाशलाई पार्टीभित्र समेटेका छौं, अब महिला मतदाताहरूलाई पनि समेटेर, महिलालाई अघि बढाएर नेतृत्वमा महिलाहरूलाई स्थापित गर्नुपर्ने छ।’

यसैबीच कांग्रेसको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको पहिलो बैठकले पार्टीभित्र सुदृढ एकता कायम गरेर अगाडि बढाउने संकल्प गरेको छ। महाधिवेशनबाट प्राप्त ऊर्जालाई संगठन निर्माणमा उपयोग गर्ने र कहीँकतै देखिएका तिक्ततालाई मित्रतामा परिणत गर्ने निर्णय गरेको हो। पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार दिउँसो बसेको बैठकले राष्ट्रियसभा निर्वाचनमा पार्टी उम्मेदवारका लागि हस्ताक्षर प्रयोग गर्ने अधिकार सभापति शेरबहादुर देउवालाई दिने निर्णय गर्दै राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्न मुख्यसचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिएको छ। साथै,पार्टीको महाधिवेशन गराउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिएको छ।

प्रकाशित: ११ पुस २०७८ ००:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App