७ वैशाख २०८१ शुक्रबार
राजनीति

विवेकशीलबाट अलग भइन् रञ्जु

विवेकशील साझा पार्टीकी बागमती प्रदेश संयोजक रञ्जु दर्शनाले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट राजीनामा दिएकी छन्। बिहीबार पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई पत्र लेख्दै उनले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट राजीनामा दिएको घोषणा गरेकी थिइन्।

वैकल्पिक राजनीतिक पार्टीको खोल मात्र ओढेको विवेकशील साझा पार्टीमा आफ्नो समय, ऊर्जा केही पनि दिन नसक्ने भन्दै आफूले पार्टीसँगको यात्रामा पूर्णविराम लगाउने निर्णयमा पुगेको उनले बताएकी छन्। ‘विसं. २०७० बाट सुरू भएको राजनीतिक यात्रामा कैयौं उतावचढाव आए जसलाई पार गर्दै जीवन निरन्तर चलिरहेको छ,’ विसं. २०७४ सालको स्थानीय चुनावमा काठमाडौंको मेयरकी उम्मेदवारसमेत रहेकी उनले पत्रमा उल्लेख गरेकी छन्, ‘तर राजनीतिक यात्राको यो मोडमा वैकल्पिक राजनीति भनेर अघि बढिरहेको संगठन, मूल नेतृत्वमा मैले अधिकतम ढोंग पाएँ।’

नेतृत्वका कारण राजनीतिमा आउन चाहने नयाँ पुस्तालाई समेत विश्वासको संकट उत्पन्न भएको तर्क उनले गरेकी छन्। ‘संघीय गणतान्त्रिक लोकतन्त्र देश नेपालमा वैकल्पिक राजनीतिको मूल चरित्र नै दुर्घन्दित बनाएर भइरहेका सम्पूर्ण कदम, व्यवहारले अगामी दिनका नयाँ पुस्तालाई समेत नवीनतम सोच बोकेर नेपाली राजनीतिमा आउन बाधा एवम् विश्वासको खडेरी खडा गर्ने अवस्थाको सिर्जना भएको छ,’ उनले पत्रमार्फत् भनेकी छन्, ‘वैकल्पिक राजनीतिक पार्टीको खोल मात्र ओढेको विवेकशील साझा पार्टीमा म आफ्नो समय, उर्जा, विध्वता, भावना, आर्थिक केहि पनि कुरा प्रदान गर्न असमर्थ छु। तसर्थ सदाका लागि यस पार्टी सँगको यात्रामा पूर्णविराम लगाउने निर्णयमा पुगेकी छु।’

गत वर्ष मंसिरमा पाण्डे नेतृत्वको विवेकशील र मिश्र नेतृत्वको साझा पार्टीबीच दोस्रोपटक एकता भएको थियो। एकता भएको ६ महिनाभित्र महाधिवेशन गर्ने भनिएपनि हुन सकेको छैन। विवेकशील साझा पार्टीले विसं.२०७४ को प्रदेश सभा चुनावमा बागमती प्रदेशमा समानुपातिकतर्फ तीन सिट जितेको थियो। रमेश पौडेल, शोभा शाक्य र विराजभक्त श्रेष्ठ बागमती प्रदेश सभा सदस्य छन्।

केही दिनअघि विवेकशील साझा पार्टीले संयोजक मिलन पाण्डेलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो। अध्यक्ष रवीन्द्र मिश्रले राजनीतिक दस्तावेजका कारण पार्टीमा विवाद चर्किएको छ।

प्रकाशित: ९ पुस २०७८ ०३:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App