४ वैशाख २०८१ मंगलबार
राजनीति

राष्ट्रियसभा निर्वाचन: दल दर्ता गर्न १० दिनको समय

निर्वाचन आयोगले राष्ट्रियसभाका एकचौथाइ सदस्य निर्वाचनका लागि दल दर्ताको सूचना जारी गरेको छ। संविधानबमोजिम निर्वाचनका लागि मान्यता प्राप्त गर्न दल दर्ता गराउनुपर्ने हुन्छ। त्यसका लागि आयोगले बिहीबार सूचना जारी गर्दै पुस १ देख १० गतेसम्म निर्वाचन आयोग कान्तिपथमा निवेदन दिन भनेको छ। 

आगामी फागुन २१ गते चार वर्षे पदावधि सकिने २० मध्ये १९ सांसदको २०७८ माघ १२ गते निर्वाचन हुँदैछ। जसमा १ जना मनोनित सांसद रहेका छन्। एकजना मनोनित सांसद रामनारायण बिडारीको पनि पद सकिने भएकाले सो ठाउँमा सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित गर्नुपर्नेछ। बाँकी १९ जना सांसदको ठाउँमा प्रदेशसभाका सदस्य, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा निर्वाचित गरी नयाँ सदस्य ल्याउनुपर्ने हुन्छ। प्रदेशसभाका सदस्यको मतभार र पालिकाको मतभार फरक हुनेछ।  

निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नका लागि दलसम्बन्धी विवरण, दलको केन्द्रीय कार्यकारिणी समितिको पदाधिकारी तथा सदस्यको संख्या, आयोग समक्ष दलको वार्षिक लेखा परीक्षण प्रतिवेदन पेश गरेको मिति, दलको केन्द्रीयस्तर र प्रदेशस्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन मिति, यसभन्दा अघिको निर्वाचनमा प्राप्त गरेको निर्वाचन चिह्नको सट्टा अर्को निर्वाचन चिह्न लिन चाहने दलले आफूले प्राप्त गर्न चाहेको तीनवटा निर्वाचन चिह्न प्राथमिकता क्रमअनुसार उल्लेख गर्ने, राजनीतिक दलको संगठनात्मक स्वरूप केन्द्रीयस्तर र प्रदेशस्तर छ छैन खुलाउनुपर्ने निर्वाचन आयोगले जनाएको छ।  

दल दर्ता गर्न आउँदा निर्वाचन प्रयोजनको लागि दल दर्ता गर्न केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि, दलको विधान नियमावली तथा घोषणापत्र निर्वाचन चिह्नको नमूना र सो को विद्युतीय प्रति बुझाउनुपर्ने आयोगले जनाएको छ। निर्वाचन आयोगका अनुसार आर्थिक बर्ष २०७७/०७८ को वार्षिक लेखा परीक्षण प्रतिवेदन मात्र नभई २०७६/०७७ मा एकीकरण भई नयाँ बनेका दलले आर्थिक वर्ष २०७६/०७७ को लेखा परीक्षण प्रतिवेदन पेश गर्दा एकीकरण वा गाभिनुपूर्वका दलको विवरणसमेत देखिने गरी तयार गरिएको वार्षिक लेखा परीक्षण प्रतिवेदन बुझाउनु पर्नेछ। आर्थिक बर्ष २०७६/०७७ को लेखा परीक्षण प्रतिवेदन पेश गर्दा साविकमा अलग–अलग रहेका दलको वार्षिक लेखा परीक्षण प्रतिवेदन पेश गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ।  

यसैगरी, दलको प्रमुख पदाधिकारी बाहेक अधिकार प्राप्त व्यक्तिले निवेदन दिएको भए प्रमुख पदाधिकारीले दिएको त्यस्तो अधिकारपत्र, उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्नेगरी पदाधिकारी तोकिएको केन्द्रीय समितिको निर्णय र त्यसरी तोकिएको पदाधिकारीको नाम, पद र सम्पर्क नम्बर सहितको दस्तखत नमूना आवश्यक पर्ने आयोगले जनाएको छ।

दल दर्ताको लागि निवेदन पेश गर्दा संविधानको धारा २६९ को उपधारा (४) बमोजिम राजनीतिक दलको विधान र नियमावली लोकतान्त्रिक हुनुपर्ने, राजनीतिक दलको विधान बमोजिम कम्तीमा पाँच वर्षमा एकपटक सो दलको संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन भएको हुनुपर्ने, दलको विभिन्न तहका कार्यकारिणी समितिमा नेपालको विविधतालाई प्रतिबम्बित गर्ने गरी समावेशी प्रतिनिधित्वको व्यवस्था गरिएको हुनु पर्नेछ।

प्रकाशित: २ पुस २०७८ ०४:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App