५ जेष्ठ २०७९ बिहीबार
राजनीति

कांग्रेस सभापतिमा दोहोरिए देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका छन्। १४औं महाधिवेशनअन्तर्गत मंगलबार राजधानीको राष्ट्रिय सभागृहमा भएको दोस्रो चरणको निर्वाचनमा नेता शेखर कोइरालालाई ९सय ७ मतले पछि पार्दै देउवा सभापतिमा दोस्रोपटक निर्वाचित भएका हुन्। २ हजार ७ सय २४ देउवाले मत पाएका छन् भने निकटतम प्रतिद्वन्द्वी कोइरालाको १ हजार ८ सय १७ मत छ। ३३ मत बदर भएको थियो।  

सोमबार भएको निर्वाचनमा पार्टी विधानको व्यवस्थाअनुसार ५० प्रतिशतभन्दा बढी मत कुनै पनि उम्मेदवारले नपाएपछि मंगलबार दिउँसो साढे तीन बजेबाट पुनः निर्वाचन भएको हो। नेतृत्व छनोटका लागि भएको मतदानमा सोमबारभन्दा १ सय ३१ भोट अर्थात् ४ हजार ५ सय ७४ महाधिवेशन प्रतिनिधिले मतदान गरेका थिए। सोमबार भएको निर्वाचनमा ४ हजार ६ सय ८१  महाधिवेशन प्रतिनिधि नेतृत्व चयनमा सहभागी थिए।  

७५ वर्ष लामो कांग्रेस इतिहासमा सभापतिमा पराजित हुने शेखर कोइराला परिवारको दोस्रो सदस्य हुन्। २००९ सालमा भएको कांग्रेसको पाँचौं महाधिवेशनमा बिपी कोइराला, मातृकाप्रसाद कोइराला र केदारमान व्यथितबीच प्रतिस्पर्धा भएको थियो। त्यसमा मातृकालाई पराजित गर्दै बिपी सभापतिमा निर्वाचित भएका थिए। बिपीले २ सय ९८, मातृकाले ६८ र व्यथितले २ मत मात्र पाएका थिए। त्यति बेला मातृका कोइराला परिवारकै बिपीबाट पराजित भएका थिए। शेखर भने कोइराला परिवारबाहिरका नेतासँग पराजित हुने पहिलो सदस्य हुन्।  

कृष्णप्रसाद कोइरालाका नाति तथा केशव कोइरालाका छोरा शेखर पार्टीभित्रका विभिन्न नेताहरुलाई मात्र होइन, आफ्नै परिवारका दुई सदस्य शशांक र सुजाताको पनि विश्वास जुटाउन नसक्दा पार्टी नेतृत्वमा पुग्न चुकेका हुन्। नयाँ नेतृत्वका लागि सोमबार भएको निर्वाचनमा देउवा ८२ मतले सभापतिमा निर्वाचित हुन चुकेका थिए। उनले २ हजार २ सय ५८ मत पाएका थिए।

प्रतिस्पर्धामा रहेका पाँच नेतामध्ये शेखर कोइरालाले १ हजार ७ सय २१ मत पाएका थिए भने प्रकाशमान सिंहले ३ सय ७१ मतसहित तेस्रो स्थान सुरक्षित गरेका थिए। त्यस्तै विमलेन्द्र निधि २ सय ४९ मत ल्याए भने कल्याण गुरुङ २० भोटमा समेटिएका थिए। विधानको व्यवस्थाअनुसार सभापतिमा निर्वाचित हुन उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने हुन्छ। कुनै पनि उम्मेदवारले आवश्यक मत पाउन असफल भएपछि धेरै मत पाउने वर्तमान सभापति देउवा र नेता कोइरालाबीच दोस्रो चरणमा प्रतिस्पर्धा भएको थियो।

दिनभर दुवै सक्रिय  

कुनै पनि उम्मेदवारले आवश्यक मत पाउन असफल भएसँगै धेरै मत प्राप्त गर्ने देउवा र कोइराला अन्य तीन प्रतिस्पर्धीको समर्थन आफ्नो पक्षमा पार्न सक्रिय भएका थिए। परिणाम आफ्नो पक्षमा पार्न कोइरालाले नेता प्रकाशमान सिंहसँग उनकै निवास पुगेर सहयोग मागेका थिए। सिंहबाट उनले सकारात्मक जवाफ पाएनन्। कोइरालाले अर्का प्रत्याशी निधिको पनि समर्थन लिने प्रयास गरेका थिए।

कोइरालाप्रति रुष्ट सिंहमात्र होइन, उनकै समूहबाट उपसभापतिकी प्रत्याशी सुजाता कोइरालासमेत देउवाप्रति लचिलो देखिइन्। देउवाको दूतका रुपमा सिंहलाई बालकृष्ण खाँणले उनकै निवास चाक्सीबारीमा भेटे। लगत्तै प्रधानमन्त्रीसमेत रहेका सभापतिका प्रत्याशी देउवा सिंहलाई भेट्न उनको निवास पुगे। देउवासँगको भेटपछि सिंहले मात्र होइन, सुजाताले पनि उनलाई सहयोग गर्ने प्रतिबद्धता जनाइन्। देउवाले पार्टीलाई विधिविधानअनुसार चलाउन नसकेको आरोप सिंहले लगाउँदै आएका थिए। मंगलबार बिहान देउवा पार्टी सञ्चालनमा विगतका कमीकमजोरी सच्याएर जान तयार भएको भन्दै सहयोग गर्ने सिंहले बताएका थिए।  

सिंह निवासबाट देउवा निवर्तमान उपसभापति विमलेन्द्र निधिको निवास बानेश्वर पुगेका थिए। पछिल्ला दिनमा दुई नेताको दूरी बढे पनि निधिले देउवालाई नै सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए। झन्डै तीन दशक एउटै समूहमा बसेर काम गरेका देउवा र निधिबीच पछिल्ला वर्षमा मात्र सम्बन्ध चिसिन पुगेको थियो। त्यसअघि नै पार्टीको नयाँ नेतृत्वका लागि दोस्रो चरणमा हुने प्रतिस्पर्धाबाट बाहिरिएका निधि र सिंहबीच पनि टेलिफोनमा कसरी अघि बढ्ने भन्ने छलफल भएको थियो।  

सिंह र निधि दुवैले देउवालाई सहयोग गर्ने जनाएपछि ८२ मतले मात्र सभापतिमा निर्वाचित हुन चुकेका देउवालाई रोक्न शेखरका लागि थप कठिन हुन पुगेको थियो। तर पनि नेता रामचन्द्र पौडेल, निवर्तमान महामन्त्री शशांक कोइराला, कृष्णप्रसाद सिटौलासहितको समर्थन लिएर देउवाको विकल्प दिने प्रयासलाई शेखरले जारी राखेका थिए। सबैलाई समेटेर अघि बढ्ने प्रयासमा असफल भएपछि उनले दिउँसो पत्रकार सम्मेलन गर्दै महाधिवेशन प्रतिनिधिलाई आफ्नो अन्तरआत्मालाई सोधर विवेकको निर्णय गर्न आग्रह गरे। नेतृत्व चयनका लागि हुने प्रतिस्पर्धा पार्टीको आन्तरिक लोकतन्त्रको अभ्यास भएको भन्दै परिणाम जस्तो आए पनि पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्ने उनले औंल्याए।

त्यसअघि बिहान नेता रामचन्द्र पौडेलले महाधिवेशन प्रतिनिधिको सम्मानमा आयोजना गरेको चियापानमा बोल्दै शेखरले निकट भविष्यमा हुने तीन तहको निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न एकताबद्ध भएर लाग्नुपर्ने बताए। सोही कार्यक्रममा पुगेका देउवाले पार्टीलाई एकताबद्ध बनाएर लैजाने प्रतिवद्धता जनाएका थिए।  

पार्टीको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन सहभागी नभएका पौडेल दोस्रो चरणको निर्वाचनमा पनि कसैको पक्षमा खुलेनन्। चियापानमा समारोहमा पौडेलले कुनै पनि उम्मेदवारलाई भोट माग्न कार्यक्रम आयोजना नगरिएको बताए।

दिउँसो देउवा, निधि र सिंह एकैसाथ भृकुटीमण्डपमा भोट माग्न सक्रिय देखिएका थिए। शेखर कोइरालासहित मीनेन्द्र रिजाल, गगनकुमार थापासहितका नेताहरु पार्टीको नेतृत्व परिवर्तन आवश्यक रहेको भन्दै प्रतिनिधिको विश्वास बटुल्न सक्रिय थिए।  

सबै गोलबद्ध  

कांग्रेस सभापतिमा देउवा दोस्रो पटक निर्वाचित हुँदा पार्टीका अधिकांश नेता उनको वरिपरि गोलवद्ध बनेका छन्। २०७४ को आमनिर्वाचनमा कांग्रेसको पराजयपछि देउवाविरुद्ध सबैभन्दा खरो प्रकाशमान सिंह नै थिए। पार्टीका संस्थापक नेता गणेशमान सिंहका छोरा प्रकाशमान नयाँ नेतृत्व चयनका लागि भएको दोस्रो चरणको निर्वाचनमा आइपुग्दा देउवासँगै जोडिए। २०५९ सालमा पार्टी विभाजन हुँदा देउवालाई सिंहले साथ दिएका थिए। २०६४ मा नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिकबीच एकीकरणसँगै सिंह देउवासँग बिस्तारै टाढिए। १२औं महाधिवेशनमा देउवाविरोधी समूहबाट महामन्त्री भएका सिंह झन्डै १२ वर्षपछि उही समूहमा पुगेका छन्।  

त्यस्तै देउवासँगै लामो सामीप्य छ विमलेन्द्र निधिको। तर पछिल्ला दिनमा दुई नेताबीचको सम्बन्धमा दरार आए पनि निधि फेरि देउवासँगै जोडिएका छन्। पार्टी विभाजनदेखि नै देउवालाई साथ दिँदै आएका निधि महेन्द्रनारायण निधिका छोरा हुन्।  

देउवासँग तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाकी छोरी पनि जोडिएकी छन्। सभापतिको प्रत्याशी बनेका कल्याण गुरुङले पनि देउवालाई नै समर्थन गरेका छन्। पार्टी एकीकरण हुँदा नेपाल विद्यार्थी संघको अध्यक्ष रहेका गुरुङ पछिल्ला दिनमा देउवासँग टाढिएका थिए।  

अब देउवाका लागि रामचन्द्र पौडेल र शशांक कोइरालासहितका नेताहरुलाई विश्वासमा लिएर अघि बढ्नुपर्ने चुनौती छ। त्यसका साथै सभापतिका अन्य प्रत्याशीलाई पनि समेटेर अघि बढ्नुपर्ने बाध्यता मात्र छैन, सम्मुखमा आएको तीन तहको निर्वाचनको परिणाम पार्टीको पक्षमा पार्न संगठनलाई एकताबद्ध बनाउनुपर्ने सबैभन्दा ठूलो चुनौती छ।  

यस्तो छ देउवाको राजनीतिक यात्रा

२००४ जेठ ३० गते डडेलधुराको असिग्राममा जन्मेका देउवा जुझारु राजनीतिक छविकै कारण ३० को दशकको सुरुमै युवा पुस्ताबीच लोकप्रिय बनिसकेका थिए। बिपी कोइरालाको सान्निध्यमा रहेर राजनीति अघि बढाउने मौका पाएका उनी २०४६ को राजनीतिक परिवर्तनपछि गिरिजाप्रसाद कोइरालासमेतको साथले राष्ट्रिय राजनीतिमा स्थान सुरक्षित गर्न सफल भए। त्यसअघि २०३६ को जनमत संग्रहमा पूर्व–पश्चिमसम्मका सभा–समारोहमा बीपी कोइरालासँगै खटिएका थिए। पञ्चायतविरुद्धको संघर्षमा भारत प्रवास नगई नेपालभित्रै विद्यार्थी आन्दोलनमा सक्रिय देउवाले पटकपटक गरी १० वर्ष जेलजीवन बिताएका छन्।

२०४६ को परिवर्तनसँगै खुखुला राजनीतिक परिवेशमा पार्टी संस्थापक कृष्णप्रसाद भट्टराईसहित नेताको सहयोग लिँदै अघि बढेका देउवाले पछि गिरिजाप्रसादलाई पार्टी नेतृत्वमा चुनौती दिए। संस्थापक नेता भट्टराईको ‘लिगेसी’ बिस्तारै देउवामा सरिरहेका बेला मुलुकमा संकटकाल लगाउने विषयमा २०५९ मा पार्टीभित्र विवाद चर्कियो। यो प्रकरण लम्बिँदै जाँदा पार्टी विभाजन हुन पुग्यो। भट्टराईको संरक्षण तथा गणेशमान सिंह र महेन्द्रनारायण निधिका पुत्रलाई साथ लिएर देउवाले ‘नेपाली कांग्रेस (प्रजातान्त्रिक)’ नाममा छुट्टै पार्टी गठन गरेका थिए।

पार्टी नेतृत्वका लागि तेस्रोपटक मैदानमा उत्रिएका देउवा दसाैं महाधिवेशनमा गिरिजाप्रसाद कोइराला र १२औं महाधिवेशनमा सुशील कोइरालासँग पराजित भएका थिए।

पश्चिमा मुलुकस“ग सुमधुर सम्बन्ध भएको मानिने देउवा एक दशकअघि नै प्रधानमन्त्री र विपक्षी दलको नेता भइसकेका व्यक्ति हुन्। ०४८ यताका संसदीय निर्वाचन र संविधानसभा निर्वाचनमा उनी डडेलधुराबाट निर्वाचित हुँदै आएका छन्। २०४८ को आमनिर्वाचनपछि गृहमन्त्री बनेका उनले २०५२, २०५८ र २०६१ मा गरी तीनपटक मुलुकको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्। राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक उनी २०५२ मा सर्वसम्मत र २०५८ मा सुशील कोइरालालाई पराजित गर्दै संसदीय दलको नेता बनेका थिए। तर, २०७० मा दोस्रो संविधानसभा निर्वाचनपछिको संसदीय दल निर्वाचनमा भने उनी सुशीलसँगै पराजित भए।  त्यसअघि २०६४ को संविधानसभा निर्वाचनपछि भएको संसदीय दल निर्वाचनमा पनि उनी पौडेलसँग पराजित भएका थिए।

पार्टी निर्देशनविपरीत मुलुकमा संकटकाल लगाउने निर्णयसँगै २०५९ जेठ ८ गते प्रतिनिधिसभा विघटन गरेपछि उनी आलोचित बन्न पुगे। देउवाको उक्त कदमसँगै तत्कालीन राजा ज्ञानेन्द्रले ‘कु’ गरी शासनसत्ता आफ्नो हातमा लिए। माओवादी सशस्त्र द्वन्द्वका कारण निर्वाचन गराउन नसक्ने अवस्था हुँदाहुँदै संसद् विघटनपछि देउवालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको थियो। त्यसलगत्तै उनले पार्टी विभाजन गरेर छुट्टै दल दर्ता गराएका थिए।

२०६४ असोजमा पार्टी एकीकरणपछि उनी पार्टीको मर्यादाक्रममा दोस्रो स्थानमा रहँदै आएका थिए। प्रजातन्त्र पुनःस्थापनापछि युवा उमेरमै प्रधानमन्त्री बन्न सफल नेताका रूपमा देउवाको चर्चा हुन्छ। तर, उनले मुलुक र पार्टीलाई युवापुस्ताले आशा गरेअनुसार अघि बढाउन नसकेको आरोप पार्टीकै नेताले लगाउने गरेका छन्।

पाँचौं पटक प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका देउवा २०७२ फागुन २४ गते भएको १३औं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका थिए।

कोको भए कांग्रेस सभापति?

२००३    टंकप्रसाद आचार्य

२००४    डिल्लीरमण रेग्मी

२००६   मातृकाप्रसाद कोइराला  

२००९   बिपी कोइराला  

२०१२   सुवर्णशमशेर

२०१७   बिपी कोइराला  

२०४८   कृष्णप्रसाद भट्टराई

२०५३   गिरिजाप्रसाद कोइराला  

२०५७    गिरिजाप्रसाद कोइराला  

२०६२   गिरिजाप्रसाद कोइराला  

२०६७   सुशील कोइराला

२०७२    शेरबहादुर देउवा  

२०७८    शेरबहादुर देउवा

प्रकाशित: २९ मंसिर २०७८ ०५:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App