coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

झलनाथ खनालको गृह जिल्लामा यसो गर्दैछ नेकपा(एस)

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको गृह जिल्ला इलाममा पार्टीले सङ्गठन विस्तार तीव्र बनाएको छ। जिल्लाका २ वटा निर्वाचन क्षेत्रमध्ये खनालको क्षेत्र १ मा पार्टी गतिविधि धेरै सङ्ख्यामा भइरहेका छन्।

पूर्वसभामुख सुवासचन्द्र नेम्बाङले चुनाव जितेको क्षेत्र नम्बर २ मा भने नेकपा (एस)को गतिविधि तुलनात्मक हिसाबले कम छन्। क्षेत्र १ का सूर्याेदय नगर प्रमुख र माईजोगमाई गाउँपालिका अध्यक्ष नै नेकपा (एस)मा प्रवेश गरेकाले जनप्रतिनिधिको सङ्ख्या क्षेत्र २ को तुलनामा बढी छ। पार्टी कमिटीदेखि जनवर्गीय सङ्गठनहरूको विस्तार र गठनमा सक्रिय भएको नेकपा(एस)का नेताले बताएका छन्।

खनाल नै पूर्व अध्यक्षसमेत रहेको नेकपा(एमाले) विभाजन भई नेकपा(एस) गठन भएपछि जिल्ला तहका खनालनिकट नेता भक्त केसीको अध्यक्षतामा २ सय ५१ सदस्यीय जिल्ला कमिटी बनेको छ। पार्टी फुटेपछि नेकपा(एस)मा प्रवेश गर्ने एमालेका जिल्ला कमिटी पदाधिकारी चाहिँ केसी मात्रै हुन्। उनी एमालेको जिल्ला उपाध्यक्ष थिए। अध्यक्ष केपी ओलीनिकट कुनै पनि जिल्ला नेता नेकपा (एस)मा गएनन्। बरु खनाललाई लामो समयदेखि साथ दिइरहेका पूर्वसांसद मणिकुमार लिम्बू, जिल्ला नेता कृष्ण श्रेष्ठ, सन्दकपुर गाउँपालिका अध्यक्ष उदयबहादुर राई र उपाध्यक्ष शोभा पराजुलीलगायत नेताले खनालको साथ छाडिदिएका छन्।

खनालनिकट नै रहेकी प्रदेशसभा सांसद खिनु लङ्वा लिम्बू नेकपा(एस) प्रवेश गरिन्। उनी खनालकै निर्वाचन क्षेत्र १ को (क) बाट विजयी भएकी हुन्।

खनालकै क्षेत्रमा पर्ने सूर्याेदय नगरपालिका प्रमुख रणबहादुर राई नेकपा (एस) प्रवेश गरेपछि नगरमा पार्टी गतिविधि तीव्र छन्। यहाँका वडा–वडामा दिनहुँ कुनै न कुनै कार्यक्रम र पार्टी कमिटी गठन भइरहेको मेयर राईले बताए। सूर्याेदयमा कमल गदालको अध्यक्षतामा १ सय १ सदस्यीय नगर कमिटी बनेको छ। युवराज प्रधानको अध्यक्षतामा युवा संघ नगर कमिटी गठन गरिएको छ। विद्यालयहरूमा पनि अनेरास्ववियुको प्रारम्भिक कमिटी गठन भइरहेको अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष डिकेन्द्र दाहालले जानकारी दिए।

खनालकै क्षेत्रको माइजोगमाई गाउँपालिकामा जितबहादुर निरौलाको अध्यक्षतामा ५१ सदस्यीय गाउँपालिका कमिटी गठन गरिएको छ। निर्वाचन क्षेत्र १ कै माई नगरपालिकामा अनिल तामाङ, रोङ गाउँपालिकामा शम्भु दाहाल र सन्दकपुर गाउँपालिकामा खगेन्द्र निरौलाको अध्यक्षतामा पालिकास्तरीय कमिटी गठन गरिएको जिल्ला अध्यक्ष केसीले बताए। सबैजसो पालिकामा प्रायः ५१ सदस्यीय कमिटी नै गठन भइरहेको उनको भनाइ छ।

निर्वाचन क्षेत्र २ मा पर्ने इलाम नगरपालिकामा डम्बर गदालको अध्यक्षतामा पालिका कमिटी घोषणा भएपनि अन्य पदाधिकारी र सदस्यको पदपूर्ति हुन बाँकी रहेको पार्टीले जनाएको छ। देउमाई नगरमा केशरबहादुर राई र माङ्सेबुङ गाउँपालिकामा टीकाराम खुलालको अध्यक्षतामा पार्टीका पालिका कमिटी गठन गरिएका छन्।

फाकफोकथुम गाउँपालिकामा नन्दकुमार गुरुङको पहलमा पार्टी कार्यालय स्थापना गरिएपनि कमिटी गठन हुन बाँकी छ। चुलाचुलीमा पनि पार्टी गठन हुन बाँकी नै रहेको अध्यक्ष केसीले बताए।

पार्टीले जिल्ला र केही पालिकामा पार्टी कार्यालय स्थापना गरेको छ। केसीका अनुसार जिल्ला तहमा युवा, विद्यार्थी, शिक्षकका कमिटी गठन भएका छन्। सूर्याेदय र देउमाई नगरमा पिपुल्स भोलेन्टियरसमेत गठन भएको उनले बताए।

जिल्लाका ८१ वटै वडामा पार्टी कमिटी गठन गरिने उनको भनाइ छ। ‘पार्टी केन्द्रको तीन महिने कार्यक्रमको निर्देशनअनुसार संगठन विस्तार र सबै वडा तहसमेतमा कार्यालय स्थापनाको काममा छौं,’ अध्यक्ष केसीले भने, ‘एमालेबाट किन अर्काे पार्टी गठन गर्नुपर्यो भन्नेबारे पनि जनतालाई बुझाउँदैछौं।’

प्रकाशित: २६ मंसिर २०७८ १२:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App