coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

चितवन महाधिवेशनले विद्रोहको औचित्य पुष्टि गर्‍योः अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलन बचाउन एमाले भित्रका सच्चा कम्युनिष्टहरु केपी ओलीको भ्रम र छलकपटबाट मुक्त हुनु पर्ने बताएका छन्। समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीले शनिबार बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता नेपालले ओलीले कम्युनिष्ट आन्दोलनलाई नै संकटमा परेको भन्दै सच्चा कम्युनिष्टहरु ओलीको छलकपट र भ्रमबाट मुक्त हुनुपर्ने बताएका हुन्।

पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपालले ओली सुध्रिने सम्भावना नदेखेर नै आफूहरुले बिद्रोह गर्नु परेको बताए। चितवन महाधिवेशनले आफूहरुले गरेको विद्रोहको औचित्य पुष्टि गरेको भन्दै उनले एमाले महाधिवेशनलाई तामासाको संज्ञा दिए। एमालेलाई प्राइभेट कम्पनी बनाएको भन्दै उनले ओलीलाई हिटलरसंग तुलना गरे। ‘हिटलरलाई श्रीमतीले त सुधार्न सकिनन्, अरुले कसरी सुधार्न सक्छन्। एमालेमा ओलीको अवस्था पनि त्यस्तै रह्यो, पार्टी नै गलत व्यक्तिको कब्जामा परेपछि विद्रोह गर्नु परेको हो’, नेता नेपालले भने।

पार्टी विभाजन हुँदा एमालेमै रहेका १० भाइ फर्केर आए आफ्नो पार्टीमा स्वागत गर्ने बताए। चितवन महाधिवेशनपछि १० भाइ भनेर चर्चामा आएका नेताहरुलाई उनले विहान हराएका परिवारका सदस्य भएको उल्लेख गर्दै एक रात बाटो बिराउँदैमा उनीहरुलाई एकीकृत समाजवादीमा स्वागत गर्न कुनै अफ्ठ्यारो नपर्ने बताएका हुन्।

नेता नेपालले पूर्वराजा ज्ञानेन्द्रलाई राजतन्त्रको भुत जगाउने सपना नदेख्न चेतावनी दिँदै राजनीतिक गर्ने भए पार्टी खोलेर आउन चुनौती दिए। ‘सके राप्रपाको अध्यक्ष भए हुन्छ, नभए पार्टी खोलेर मैदानमा आए हुन्छ’, नेपालले भने। नजिकिँदै गरेको राष्ट्रिय सभाको निर्वाचनमा पाँच दलबीच गठबन्धन हुने सहमति भइसकेको उल्लेख गर्दै उनले गठबन्धनबाटै चुनाव लड्ने बताए।

उनले शनिबार बुटवल सुख्खानगरमा स्थापना गरीएको लुम्बिनी प्रदेश र रुपन्देही जिल्ला कमिटीको संयुक्त कार्यालयको उद्घाटन पनि गरे। कार्यालय उद्घाटन गर्दै अध्यक्ष नेपालले कार्यालयलाई स्मार्ट रुपमा अघि बढाउन आग्रह गरे। निर्वाचनहरु नजिक आइरहेकाले प्रविधिको उच्चतम प्रयोग गरी तथ्यांकहरु, पार्टीका कागजपत्र चुस्त दुरुस्त रुपमा राख्न आग्रह गरे।

पार्टीका उपमहासचिव डा. विजय पौडेल, सचिव भागवत विश्वसी, केन्द्रीय सदस्य डा. बालकृष्ण चापागाई, सिद्धिचरण भट्टराई जिल्ला अध्यक्ष राजु गुरुङ, उपसचिव सरिता श्रीस लगायतले बोल्दै कार्यालय स्थापनासँगै पार्टीका नियमित कामलाई व्यवस्थित रुपमा अघि बढाउने बताए।

प्रकाशित: २५ मंसिर २०७८ १४:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App