७ वैशाख २०८१ शुक्रबार
राजनीति

कांग्रेस संस्थापन इतर नेताहरु छलफलमा व्यस्तः सभापति टुंगो लगाउनै सकस

नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु हुन दुई दिनमात्रै बाँकी रहँदा संस्थापन इतर पक्ष बुधबार पनि सभापतिको उम्मेदवार टुंगो लगाउन असफल भएको छ।

संस्थापन पक्षबाट वर्तमान सभापति शेरबहादुर देउवा उम्मेदवार बन्ने निश्चित भए पनि इतर पक्षले भने साझा उम्मेदवार तय गर्न सकेको छैन।

वर्तमान नेतृत्वको विकल्प दिन इतर पक्षबाट साझा उम्मेदवार बनाउन केन्द्रीय सदस्यहरूसहित निकट नेताहरूले दबाब दिँदै आएका छन्। सभापतिका आकांक्षीहरू रामचन्द्र पौडेल,शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइरालाले पनि साझा उम्मेदवार बनाउनुपर्ने बताउँदै आएका छन्।

सहमतिका लागि पौडेल र शशांकले आफूहरू बाधक नहुने बताए पनि पूर्वमहामन्त्रीसमेत रहेका प्रकाशमान सिंह र नेता शेखर कोइराला दुवैले आफू भएमात्र मान्ने अडान राखेका छन्।

नेता सिंहले त आफ्नो नाममा सहमति नभए सभापतिको उम्मेदवार भएरै छाड्ने अडान राखेका छन्। ‘सहमतिका लागि नेता पौडेल र महामन्त्री कोइरालाले आफूहरू बाधक नहुने मंगलबार नै बताउनुभएको हो,’बैठकमा सहभागी एक नेताले भने,‘शेखर कोइराला पनि केही लचिलो देखिनुभएको छ तर प्रकाश दाइ सारै रिजिट देखिनुभयो। त्यसले गर्दा सहमति जुट्न सकेन।’

आफूबाहेक अरुलाई स्वीकार गर्नै नसक्ने अडानमा सिंह र शेखर रहेपछि महामन्त्री शशांकले पनि सहमतिका लागि मात्र आफू बाधक नहुने बताएका थिए। उनले संस्थापन इतर पक्षबाट एकभन्दा बढी उम्मेदवार हुँदा देउवाले पहिलो चरणमै आफ्नो पक्षमा परिणाम पार्ने दोहोर्‍याएका थिए।

उनले परिणाम नआउने निर्वाचनमा प्रतिस्पर्धा गर्नभन्दा देउवालाई नै सर्वसम्मतिबाट सभापति बनाउनसमेत आग्रह गरे। ‘हामी नमिल्ने हो भने देउवालाई सर्वसम्मतिबाट सभापति बनाएर एकता महाधिवेशनको सन्देश दिऊँ,’शशांकलाई उद्धृत गर्दै स्रोतले भन्यो।

नेता प्रकाशमान र शेखर टसमस नभएपछि रुष्ट बनेका नेता पौडेलले कसैले पनि अडान नछाड्ने भए आफूले पार्टी नेतृत्वको प्रतिस्पर्धाबाट मात्र नभएर राजनीतिबाटै विश्राम लिने बताएका छन्। उनले सहमति निर्माण नहुँदा कसैको पक्षमा नलाग्ने भन्दै घरमै आराम गर्ने बताएको सहभागी एक नेताले जानकारी दिए।

साझा उम्मेदवारका लागि प्रयास भए पनि अहिलेसम्म छलफल सकारात्मक नभएको भन्दै बैठकमा सहभागी एक नेताले भने, ‘प्रकाशमान आफैं लड्छु भन्छन्,शेखर कोइराला पनि आफैं लड्ने, कसैलाई छाड्दिन भन्छन्। रामचन्द्र पौडेल यी दुई लडे भने म पार्टीबाटै बिदा हुन्छु, घरमै आराम गर्छु भन्नुभएको छ। अहिलेसम्मको अवस्था यही हो।’

बैठकमा सहभागी केन्द्रीय सदस्यहरूले सभापतिका चार आकांक्षीलाई समाधान दिन नसक्ने के नेता भन्दै साझा उम्मेदवार छनोट गर्ने कुराबाट कोही पनि भाग्न नमिल्ने बताएका थिए। सहमति निर्माण गर्नुको विकल्प नभएको भन्दै सहभागीले उम्मेदवार बनेर मात्र हुन्छ कि जित्नु पनि पर्छ भन्दै प्रश्न गरेका थिए।

एकअर्काको सहयोगबिनै पार्टी सभापतिमा जित्छु जस्तो गरी कोही प्रस्तुत नहुन चेतावनी दिँदै सदस्यहरूले आफ्नो इगोले मुलुक र पार्टीलाई बरवाद गर्ने अधिकार कोहीलाई पनि नभएको धारणा राखेका थिए।

आआफ्नो अडानमा कायमै रहेका नेताहरूसँग बिहीबार निकट केन्द्रीय सदस्यहरू छलफलमा जुटेर आफ्नो धारणा सुनाउने भएका छन्। ‘भोलि बिहान ८ बजे हामी छलफल गर्छौं,सभापतिका आकांक्षीबाहेकका केन्द्रीय सदस्यहरू हुनेछौं,’केन्द्रीय सदस्य जीवन परियारले भने, ‘हामीले एउटा धारणा बनाएर सभापतिका आकांक्षीहरूलाई त्यहीं बोलाएर आफ्ना कुरा भन्छौं।’

अर्का केन्द्रीय सदस्य बद्री पाण्डेले विभिन्न कोणबाट छलफल भए पनि सहमतिमा पुग्न बाँकी रहेको बताए । साझा उम्मेदवार बनाउनुको विकल्प नभएको भन्दै पाण्डेले थपे,‘त्यसका लागि भोलि फेरि बसेर एउटा टुंगोमा पुग्नै पर्ने बाध्यता छ।’

केन्द्रीय सदस्यसहित सभापतिका आकांक्षीको मंगलबारको छलफलमा महामन्त्री शशांक कोइरालाले पौडेल पार्टीको सिनियर नेता भएको भन्दै नेतृत्व छाड्न तयार रहेको बताएका थिए।

प्रकाशमान र शेखरमध्ये एकजनामा सहमति भए आफूहरू दुवैजना सहमतिमा बाधक नबन्ने शशांकले बताएका थिए। उनी सहमति जुट्न नसकेको अवस्थामा पौडेललाई नै सभापतिको उम्मेदवार बनाउनुपर्ने पक्षमा उभिएको एक नेताले दाबी गरे। यस विषयमा निकास निकाल्न बुधबार बिहान जिल्ला सभापति, निवर्तमान जिल्ला सभापति र सभापतिका प्रत्याशीको धारणा लिने निर्णय भएको थियो।

सोही निर्णयअनुसार नेता पौडेलसहितले केन्द्रीय सदस्यसमेतको उपस्थितिमा बिहान छलफल गरेका थिए। उनीहरूले पक्ष र विपक्षमा नउभ्याउन सुझाउँदै साझा उम्मेदवार बनाएर अघि बढ्न आग्रह गरेका थिए। ‘नेताहरूले समाधान दिने हो,हामीलाई सोध्ने होइन,’ भेलामा सहभागी अधिकांशले भनेका थिए, ‘अरुबाट नाम भनाउने होइन,कसलाई अघि सार्ने हो र कुन विधिबाट छान्ने, तपाईंहरूले छान्नुहोस्।’

सभापतिको टुंगो नलाग्दा संस्थापन इतर समूहमा पदाधिकारीको विषय प्रवेश नै भएको छैन। महाधिवेशनबाटै निर्वाचित हुने दुई उपसभापतिमा पूर्वसहमहामन्त्रीद्वय रामशरण महत र अर्जुननरसिंह केसीका साथै नेताहरू महेश आचार्य,बलबहादुर केसी र चन्द्र भण्डारीले दाबी गर्दै आएका छन् । दुई महामन्त्रीमा मीनेन्द्र रिजाल,गगनकुमार थापा,धनराज गुरुङसहितका आकांक्षी छन्।समावेशी सहमहामन्त्री दलितमा जीवन परियार, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, मधेसीबाट रामकृष्ण यादव, महिलामा कमला पन्त, सरिता प्रसाईंसहितका नेताहरू आकांक्षी छन्।

दुवै समूह सिटौला खोज्दै

१३औं महाधिवेशनबाट अलग्गै समूहको पहिचान बनाएका कृष्णप्रसाद सिटौला समूहको संस्थापन र इतर दुवै पक्षले साथ खोजेका छन्। सभापति देउवासहित संस्थापन पक्ष विभिन्न पदसहित सिटौलालाई आफ्नो समूहमा समेट्ने प्रयासमा छ।

जिल्लादेखि प्रदेश तहका अधिवेशनमा आफूसँग लचिलो देखिएको सिटौला समूहलाई मिलाएर अघि बढ्नेमा देउवा देखिएका छन्। संस्थापन इतरका नेताहरू पनि परिणाम आफ्नो पक्षमा पार्न सिटौलालाई समेट्नुपर्ने बताउँदै आएका छन्। सोही समय बुधबार बिहान नेता रामचन्द्र पौडेल सिटौला निवास पुगेर मिलेर पार्टी नेतृत्व परिवर्तनको प्रस्ताव गरेका छन्।

सिटौलाले सहयोग र सहमतिका लागि पौडेललसँग आधार मागे पनि छलफल जारी राख्ने बताएका छन्। सिटौलाले पनि बुधबारै निकट नेताहरूसँग कसरी जाने भन्नेमा छलफल गरेका छन्। आफ्नो पक्षका नेताको व्यवस्थापन गरेर अघि बढ्ने सिटौलाको रणनीति छ। त्यसका लागि दुवै पक्षसँग छलफलमा रहेको सिटौला पक्ष सन्तोषजनक प्रस्ताव नआए आफैं प्यानल बनाएर मैदान उत्रिने तयारीमा छन्।

टिम बनाउँदै निधि

संस्थापन पक्षबाट विद्रोह गर्दै सभापतिमा उम्मेदवारी घोषणा गरेका उपसभापति विमलेन्द्र निधि पनि आफ्नो छुट्टै प्यानल बनाउन सक्रिय भएका छन्।निधि संस्थापन र इतर समूहका असन्तुष्टलाई समेटेर समूह निर्माणको कसरतमा छन्। दुवै पक्षले पदाधिकारी टुंगो नलगाउँदा निधिले पनि आफ्नो टिमलाई आकार दिन सकेका छैनन्। कांग्रेसको १४औं महाधिवेशन शुक्रबार १ बजे काठमाडौंमा उद्घाटन हुँदैछ।

प्रकाशित: २३ मंसिर २०७८ ००:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App