coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

हार पछिको आक्रोश होइन भन्दै थापाले भनेः राजावादीहरुको पार्टीमा राजाको नांगो हस्तक्षेप भयो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का निवर्तमान अध्यक्ष कमल थापाले पार्टीको महाधिवेशनमा पूर्व राजा ज्ञानेन्द्र शाहाको ठाडो र फोहोरी हस्तक्षेप भएको बताएका छन्। आज (मंगलबार) एक विज्ञप्ति जारी गर्दै थापाले राप्रपाको एकताको महाधिवेशनमा निर्मल निवासको नाङ्गो हस्तक्षेप भएको बताएका हुन्।

चुनावमा हार पछिको आक्रोश नभएको बताउँदै थापाले विज्ञप्तिमा भनेका छन्, 'मेरो यो अभिव्यक्तिलाई चुनावमा हार पछिको आक्रोशको रूपमा नबुझी दिन सबैमा विनम्र आग्रह गर्दछु। एउटा खेलाडी भएको नाताले हार वा जीतले मेरो लागि कुनै अर्थ राख्दैन। हारलाई पनि सहर्ष स्विकार गरेर फेरि अर्को प्रतिस्पर्धाको निम्ति तयार रहने संस्कार मेरो रगतमा रहेको छ।'

'केन्द्रीय नेतृत्वको निर्वाचनमा निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्रको नांगो हस्तक्षेपको भने म घोर भत्सर्ना र निन्दा गर्दछु। फेरि यो पहिलो घटना होइन,' उनले अगाडि भनेका छन्, '२०७४ सालमा पार्टी फुटाउन र विगत केही समय यता तथाकथित भजन मण्डली खडा गरेर पार्टी नेतृत्वको चरित्रहत्या गर्ने र राप्रपाका वारेमा  भ्रम सिर्जना गर्ने गराउने कार्य निर्मल निवासबाट बारम्बार हुँदै आएको सर्वविदित छ।'

यस्तै, थापाले राप्रपालाई ‘भजन मण्डली’ बनाउने निर्मल निवासको योजना सफल हुन नदिने पनि बताएका छन्।

राप्रपाका निवर्तमान अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री कमल थापाको प्रेस वक्तव्य

राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन भव्यताका साथ सम्पन्न भएको छ। महाधिवेशन सफल तुल्याउन सहयोग गर्नुहुने सबैमा हार्दिक आभार व्यक्त गर्दछु। महाधिवेशनबाट निर्वाचित अध्यक्ष राजेन्द्र लिंगदेन लगायत सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको निम्ति शुभकामना व्यक्त गर्दछु।

महाधिवेशनले पार्टी एकताको पक्षमा सशक्त मार्गनिर्देशन गरेको छ। विगतमा पटकपटक विभाजनको पिडा भोगेको हुँदा भविष्यमा पार्टी कहिल्यै फुट्नु हुँदैन भन्ने महाधिवेशनको स्पष्ट सन्देश र संकल्प रहेको छ।

अध्यक्ष पदमा पराजयका वावजुद पार्टी एकताको पक्षमा मेरो निरन्तर सकारात्मक सहयोग रहने छ।

केन्द्रीय नेतृत्वको निर्वाचनमा निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्रको नांगो हस्तक्षेपको भने म घोर भत्सर्ना र निन्दा गर्दछु। फेरि यो पहिलो घटना होइन। २०७४ सालमा पार्टी फुटाउन र विगत केही समय यता तथाकथित भजन मण्डली खडा गरेर पार्टी नेतृत्वको चरित्रहत्या गर्ने र राप्रपाका वारेमा  भ्रम सिर्जना गर्ने गराउने कार्य निर्मल निवासबाट बारम्बार हुँदै आएको सर्वविदित छ।

मेरो यो अभिव्यक्तिलाई चुनावमा हारपछिको आक्रोशको रूपमा नबुझी दिन सबैमा विनम्र आग्रह गर्दछु। एउटा खेलाडी भएको नाताले हार वा जीतले मेरो लागि कुनै अर्थ राख्दैन। हारलाई पनि सहर्ष स्विकार गरेर फेरि अर्को प्रतिस्पर्धाको निम्ति तयार रहने संस्कार मेरो रगतमा रहेको छ।

तर, पार्टी भित्रको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको अवांछित र अमर्यादित हस्तक्षेपले राजसंस्था सम्बन्धी मेरो र राप्रपाको आधारभूत मान्यता माथी नै गंभीर आघात पुगेको छ।

नेपालको भूराजनीतिक अवस्था तथा धार्मिक, सामाजिक र सांस्कृतिक परिवेशमा राष्ट्रियता र एकताको प्रतिकको रूपमा राजनीतिभन्दा माथि उठेको साझा संस्थाको रूपमा राजसंस्था हुनु उपयुक्त हुन्छ भन्ने हाम्रो मान्यता हो र रहि रहने छ।

राप्रपाले परिकल्पना गरेको राजसंस्था एउटा आदर्श अभिभावकको रूपमा रहने सम्मानित संस्था हो। चुनावी राजनीतिभन्दा माथि उठेको सम्पूर्ण नेपालीहरूको साझा र तटस्थ संस्थाको रूपमा हामीले राजसंस्थाको वकालत गरेका हौं।

अहिले शतप्रतिशत राजावादीहरू भएको पार्टीमा त राजाको ठाडो र फोहोरी हस्तक्षेप (यस सम्वन्धि यथेष्ट प्रमाण हामीसँग सुरक्षित छ) हुन्छ भने भोली राजसंस्था स्थापित हुंदा अन्य पार्टी र राजनीतिमा राजाको हस्तक्षेप हुंदैन भनेर भन्ने हाम्रो नैतिक धरातल समाप्त भएको छ। विगतमा झैं राजाबाट प्रजातन्त्र र प्रजातान्त्रिक संस्थामा हस्तक्षेप हुंदैन भनेर अब हामीले कुन मुखले भन्ने?

अत्यन्त प्रतिकुल अवस्था पनि राजसंस्थाको एजेण्डा बोकेर हिँडेको म र राप्रपालाई अहिले परेको पिर यहि हो। म नैतिक र धर्मसंकटमा परेको छु। यसैगरी देशमा राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरण गर्न सक्ने शक्ति वा राजनीतिक दलको रूपमा होईन, राप्रपालाई 'भजन मण्डली' बनाउने गलत नियत राखेर मलाई राजनीतिक रूपमा समाप्त पार्न खोजिएको तथ्य स्पष्ट छ। राप्रपालाई 'भजन मण्डली' बनाउने निर्मल निवासको योजना हामी कहिल्यै सफल हुन दिने छैनौं।

राजसंस्थाका बारेमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका बारेमा अब राप्रपाभित्र बहस शुरू हुनेछ।

प्रकाशित: २१ मंसिर २०७८ ०८:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App