७ वैशाख २०८१ शुक्रबार
राजनीति

कांग्रेस केन्द्रीय सदस्यमा बाँकेबाट पाँच जना आकांक्षी

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यका लागि बाँकेबाट ५ जना आकांक्षी देखिएका छन्। संस्थापन(देउवा) पक्षबाट ४ र संस्थापन इतर (कोइराला पौडेल) पक्षबाट एक जनाले केन्द्रीय सदस्यमा आकांक्षा देखाएका हुन्।

संस्थापन इतर पक्षबाट बाँके कांग्रेस सभापति किरण कोइराला आकांक्षी छिन्। संस्थापन पक्षबाट पूर्वमन्त्री एवम् कांग्रेस बाँकेका पूर्वसभापति गजेन्द्र हमाल, पूर्वसभासदद्धय आशा बिक र मैकुलाल बाल्मिकी तथा दलित संघका केन्द्रीय उपाध्यक्ष कृष्ण बिक रसाइली आकांक्षी छन्। पूर्वमन्त्री हमाल संस्थापनका तर्फबाट लुम्बिनी प्रदेशको केन्द्रीय सदस्यका लागि आकांक्षी देखिएका छन्। कोइरालाले केन्द्रीय सदस्य(महिला)मा लड्ने आकांक्षा राखेकी छन्।

यस्तै रसाइलीले (दलित पुरुष) केन्द्रीय सदस्यमा उम्मेदवार बन्ने आकांक्षा राखेका छन्। पूर्वसभासद बल्मिकी पनि (दलित पुरुष) बाट केन्द्रीय सदस्यको आकांक्षी छन्। पूर्वसभासद आशा (दलित महिला) बाट केन्द्रीय सदस्यको आकांक्षी छिन्। नेपाली कांग्रेसको विधान अनुसार दलित कोटाबाट एक जना सह–महामन्त्रीसहित पुरुष ५ र महिला ४ जना निर्वाचित हुने व्यवस्था छ।

पूर्वमन्त्री हमालले लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्दै देउवा(संस्थापन) प्यानलबाट केन्द्रीय सदस्यमा आफूलाई उम्मेदवार बनाउन नेताहरु लागेको बताए। ‘लुम्बिनी प्रदेशबाट तपाई हाम्रो टिमको उम्मेदवार बन्नुपर्छ भनेर केन्द्रका नेताहरुले मलाई भन्नु भएको छ,’ उनले भने, ‘मलाई केन्द्रीय सदस्य बनाउन धेरै नेता र कार्यकर्ताको चाहना छ।’ यस्तै अर्का आकांक्षी कोइरालाले संस्थापन इतर पक्षबाट केन्द्रीय सदस्य(महिला)मा चुनाव लड्ने तयारी गरिरहेको बताइन्। ‘मैले माहोल हेरिरहेकी छु, टिमका नेताहरुबाट राम्रै प्रतिक्रिया आइरहेको छ, टिमका सबै नेताहरु एक भइदिए हुन्थ्यो,’ उनले भनिन्।  

केन्द्रीय सदस्यको आकांक्षी आशाले ४ जना दलित (महिला) कोटामा आफू पनि पर्ने सम्भावना रहेको बताइन्। ‘दलित महिला कोटाबाट केन्द्रीय सदस्य लड्ने मेरो आकांक्षा छ, पार्टीको चुनाव हो, नेताहरुले कसरी मिलाउनु हुन्छ, त्यसमा भर पर्छ र मेरो सम्भावना बलियो नै छ,’ उनले भनिन्।

यसैगरी अर्का आकांक्षी रसाइलीले कांग्रेस निकट दलित संघबाट पदीय हिसाबले आफू सिनियरमा चौथो नम्बर भित्र पर्ने भएकाले केन्द्रीय सदस्य (दलित पुरुष)को उम्मेदवार बन्ने सम्भावना बढी रहेको बताए। ‘म अहिले दलित संघको केन्द्रीय उपाध्यक्ष पनि हुँ, नेताहरुले मिलाए भने म पहिलो नम्बरमै पर्छु,’ उनले भने।

केन्द्रीय सदस्यका आकांक्षी रहेका पूर्वसभासद बाल्मिकीले पनि (दलित पुरुष) कोटाबाट केन्द्रीय सदस्यको उम्मेदवार बन्ने आफ्नो आकांक्षा रहेको बताएका छन्। ‘दलित पुरुषको कोटाबाट ५ जना निर्वाचित हुने व्यवस्था छ, म पनि त्यसभित्र पर्ने विश्वास गरेको छु,’ उनले भने, ‘मलाई सबै नेताहरुले आश्वासन दिइसक्नु भएको छ, एक जना मधेसी दलितलाई पनि समावेश गर्नुपर्छ भन्नेमा नेताहरु सहमत हुनुहुन्छ।’

प्रकाशित: २१ मंसिर २०७८ ०८:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App