१२ माघ २०७८ बुधबार
राजनीति

कांग्रेस प्रदेश १ अधिवेशन: आफैंले उठाएको उम्मेदवारलाई भोट हालेनन्

केन्द्रीय नेताहरूले आफैंले उठाएको उम्मेदवारलाई मतदान नगर्दा नेपाली कांग्रेस प्रदेश १ का उम्मेदवार गुरुराज घिमिरेले हार व्याेहेरेका छन्। प्रदेश १ का केही  केन्द्रीय नेताहरूले नेपाली कांग्रेस प्रदेश १ को अधिवेशनमा मतदान नगरेपछि संस्थापन इतर पक्षका उम्मेदवार घिमिरेले २ मतको झिनो अन्तरले हार व्याेहेरेका हुन्।  

गुरुराज घिमिरेलाई उम्मेदवार बनाउने नेताहरू डा.शेखर कोइराला, महेश आचार्य, सुजाता कोइराला, बलबहादुर केसीलगायत प्रदेश अधिवेशनको  मतदानमा सहभागि नै भएनन्। प्रदेश १ को अधिवेशन उद्घाटन सत्रमा सहभागि भएका नेताहरू सोहि दिनको निर्वाचनमा भने सहभागि भएनन्। सभापतिको उम्मेदवारले २ मतको झिनो अन्तरले निर्वाचन हारेपछि आफूलाई केन्द्रको सभापतिको उमेदवारकोरुपमा दाबी गर्दै आएका नेता डा.शेखर कोइरालाले आफैले उठाएका उम्मेदवारलाई मतदान नगरेकोमा टुइटर मार्फत क्षमा याचना गरेका छन्। प्रदेशस्तरसम्म केन्द्रीय नेताहरूले मतदान गर्न पाउने वा नपाउने विषयमा प्रष्ट नहुँदा आफूले मतदान नगरेको कोइरालाले बताएका छन्।

‘कांग्रेस १४ औं महाधिवेशनमा प्रदेशस्तरसम्म केन्द्रीय नेताहरुले मतदान गर्न पाउने वा नपाउने विषय सुरु देखि नै 'संशय' थियो। कानुनी परामर्शबाट मतदान गर्दा भविष्यमा जटिलता आउन सक्ने बुझियो,’ उनले ट्वीट गर्दै भनेका छन्, ‘तसर्थ मतदान नगर्नु उपयुक्त ठानेँ। यसक्रममा म बाट भएको कमजोरीप्रति सचेत रहँदै गल्ती भए क्षमाप्रार्थी छु।’  

डा.कोइरालाको टुइटर पछि प्रदेश १ का नेता कार्यकर्ता आक्रोशित बनेका छन्। डा.शेखर कोइरालालगायतका नेताहरूले इतिहासकै ठूलो गल्ती गरेको भन्दै आफ्नै उमेदवार हराएको दोष माफी मागेर  छुट नहुने स्थानीय नेता कार्यकर्ताको भनाई छ। ‘केन्द्रका ठूला पद ताक्नेहरूले प्रदेशका उम्मेदवारलाई भोट नहालेर हारेपछि माफ मागेर चोखिने प्रयास गर्नु दुर्भाग्यपूर्ण छ’ मोरङका एक नेताले भने। कोइराला परिवारको विरासतमा नेता बनेकाहरूले कार्यकर्ताको भावना, निर्वाचनमा मतको महत्वसमेत बुझ्न नसकेको उनले बताए। उनले भने‘ चुनावमा एक भोटको महत्व नबुझ्नेहरूले नेता बनेर हिड्नु वेकार छ।’

यता नेपाली कांग्रेसका केन्द्रिय सदस्य महेश आचार्य जो केन्द्रको उपसभापतिमा दाबी गरिरहेका छन् उनले पनि प्रदेशमा मतदान गरेनन्। मतदानको दिन विहान आदर्श, विधिविधान  नीति कुटनीतिका विषयमा पत्रकारहरूसँग डेढ घण्टा छलफल गरेका आचार्य आफैले उठाएका उम्मेदवारलाई भोट नहाली काठमाडाैं फर्किएका थिए। काठमाडाैंलाई मात्रै महत्व दिने नेताका रुपमा आलोचित हुँदै आएका आचार्यले मतदानमा ढिलाई हुँदा काठमाडाैं जाने प्लेनको फ्लाइट छुट्ने भएकाले मतदान गर्न नभ्याएको नागरिकलाई प्रतिक्रिया दिए। 

उद्घाटन पछि ८ बजेदेखि नै मतदान थाल्ने योजना थियो। त्यहि भएर ११ बजे काठमाण्डौंको टिकट लिएको थिए। तर मतदान दिउँसो २ बजेपछि मात्रै सुरू भयो। म ११ बजे नै काठमाडाैं फर्किसकेको थिए। काठमाडाैं फर्किसकेका कारण मतदान गर्न नपाएको आचार्यले बताए। ‘प्रदेशका उम्मेदवारले झिनो मतले हार्दा निर्वाचनको परिणाम पछि अप्रिय संयोग भयो दुःख लागेको छ’ उनले भने‘ हाम्रो कारणले साथीहरूको चित्त दुखेकोमा क्षमा प्रार्थि छौं।’

यता प्रदेश १ का सभापतिका उमेदवार गुरुराज घिमिरेले लोकतन्त्रमा  मतदान गर्ने वा नगर्ने मतदाताकै अधिकार भएको बताए। ‘लोकतन्त्रमा मतदान गर्ने वा नगर्ने मतदाताकै अधिकार हो’ घिमिरेले भने ‘उहाँहरूले आफ्नो अधिकार प्रयोग गर्नुभयो।’ प्रदेश १ मा १ हजार ८ सय ४ मतदाता रहेकोमा १ हजार ७ सय ५२ जनाले मतदान गरेका थिए। जसमा देउवा सिटौला पक्षबाट सभापतिमा उम्मेदवार बनेका उद्वव थापाले ८ सय ४४ मत प्राप्त गरेर निर्वाचित भए।

पौडेल-कोइराला पक्षका घिमिरेले ८ सय ४२ मत प्राप्त गरेका थिए। कांग्रेस प्रदेश अधिवेशनमा प्रदेश सभा क्षेत्रीय प्रतिनिधि, महाधिवेशन प्रतिनिधि, सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य, भातृ तथा शुभेच्छुक संघसंस्थाका प्रमुख मतदाता रहने नेपाली कांग्रेसको विधानमा व्यवस्था छ।

प्रकाशित: २१ मंसिर २०७८ १०:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App