७ वैशाख २०८१ शुक्रबार
राजनीति

उच्चस्तरको भ्रमण र वैदेशिक लगानीलाई प्राथमिकता दिन्छौँः प्रस्तावित राजदूतत्रय

भारत, अमेरिका र बेलायतका लागि प्रस्तावित नेपाली राजदूतले मुलुकको राष्ट्रियहित र स्वाधीनतालाई शिरमा राखेर आर्थिक कूटनीतिद्वारा लगानी भित्र्याउन भरमजदुर प्रयास गर्ने बताएका छन्। संसदीय सुनुवाइका क्रममा उनीहरूले नेपालको विकास र समृद्धिका सहयात्री मुलुकसँग बृहद् राष्ट्रिय स्वार्थका आधारमा विश्वास स्थापित गर्न हरसम्भव प्रयत्न गर्ने अठोट व्यक्त गरेका हुन्।

सरकारले भारतका लागि डा शङ्कर शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य र अमेरिकाका लागि श्रीधर खत्रीको नाम सिफारिस गरी संसदीय सुनुवाइका लागि पठाएकामा समितिले सर्वसम्मतिबाट तीनै जनाको नाम अनुमोदन गरेको छ।समितिसमक्ष आफ्नो अनुभव, योग्यता, क्षमता, अभिरुचि र अवधारणा प्रस्तुत  गर्ने क्रममा उनीहरुले नियुक्ति भएर जाने तत् देशबाट उच्चस्तरको भ्रमणका लागि विशेष पहल गर्ने, त्यहाँ रहेको नेपालीको हितमा काम गर्ने र लगानी भित्र्याउने विषयलाई प्राथमिकतामा राखेर प्रतिबद्धता जनाए।

उनीहरूले मुलुकको संविधान र परराष्ट्र नीतिका आधारमा विवेक पुर्‍याई कर्तव्यनिष्ठ भएर वैदेशिक सहयोग प्रवर्द्धनका लागि जोड दिने बताए।

यसअघि बैठकमा सदस्यहरूले विदेशमा रहेका नेपालीको ज्ञान, सीप र धन नेपालमा भित्र्याउने  सुझाव दिए। उनीहरुले राजनीतिक प्रक्रिया र कूटनीति संयन्त्रका आधारमा समृद्धि भित्र्याउन भूमिका खेल्न तथा युवाको सपनालाई साकार तुल्याउने कामका लागि कार्यायोजना बनाएर काम गर्न निर्देशन दिए।

अघिल्लो सरकारले नियुक्ति गरेका तत्तत् देशका राजदूत फिर्ता बोलाएपछि ती मुलुकमा राजदूत नियुक्तिका लागि सिफारिस भएका तीनैजनाको नाम अनुमोदन भएसँगै नियुक्तिका लागि बाटो खुलेको छ। सरकारको सिफारिसमा राष्ट्रपतिबाट उनीहरुको नियुक्ति हुनेछ। प्रस्तावित तीनैजना नेपालको आर्थिक र कूटनीतिक क्षेत्रका हस्तीका रुपमा परिचयन बनाएका व्यक्तित्व हुन्।

प्रकाशित: २० मंसिर २०७८ १५:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App