६ वैशाख २०८१ बिहीबार
राजनीति

बाँकेमा प्रभाव जमाएको संस्थापन पक्ष लुम्बिनी प्रदेशमा पराजित

नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत लुम्बिनी प्रदेशमा भएको निर्वाचनमा २ जना पदाधिकारीसहित बाँकेका १० जना नेता पराजित भएका छन्। पराजित हुनेमा सबै संस्थापन(देउवा) पक्षका हुन्। कांग्रेसको प्रदेश सभा र प्रतिनिधी सभा क्षेत्रको निर्वाचनसम्म बाँकेमा राम्रै प्रभाव जमाएको संस्थापन पक्षले लुम्बिनी प्रदेशको निर्वाचनमा भने नराम्ररी हार बेहोर्नु पर्‍याे।  

बाँकेका कुल ६ वटा प्रदेश सभा मध्ये प्रदेश सभा १ ‘ख’ बाहेक अन्य ५ वटा प्रदेश सभा क्षेत्रमा संस्थापन पक्षको सभापतिसहित कार्यसमिति पदाधिकारी र प्रदेश प्रतिनिधीमा वर्चश्व रहेको थियो। यस्तै बाँकेमा रहेका ३ वटा प्रतिनिधी सभा क्षेत्र मध्ये १ नम्बर बाहेक २ र ३ क्षेत्रमा पनि सभापतिसहित कार्यसमिति पदाधिकारी र महाधिवेशन प्रतिनिधीमा संस्थापन पक्षले वर्चश्व कायम गरेको थियो।

लुम्बिनी प्रदेशको निर्वाचनका कारण बाँके जिल्लाको निर्वाचन स्थगित भयो। जिल्लाको निर्वाचन स्थगित भएपछि लुम्बिनी प्रदेशको निर्वाचनमा सहभागी भएका संस्थापन पक्षका सबै नेताहरु पराजित भए। उक्त निर्वाचनमा संस्थापन र संस्थापन इतर (कोइराला पौडेल) पक्षबीच दुई वटा प्यानल बनेको थियो। लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा मतदाता संख्या संस्थापन इतर पक्षको धेरै थियो, भने संस्थापन पक्षको संख्या कम थियो। 

‘बाँकेमा भएका निर्वाचनमा हामीले राम्रै प्रभाव जमाएका हौं, तर लुम्बिनीमा हार्नुको मुख्य कारण पहिलो त चुनावी रणनीति र ब्यवस्थापन फितलो हुनु हो, दोस्रो कुरा लुम्बिनीको समग्र मतदाता संख्या जोड्दा हामी कमजोर नै थियौं, त्यसकारण हामीले चुनाव हार्‍याैं,’ कांग्रेस (संस्थापन) का नेता फुलाराम थारुले भने। प्यानलबाट चुनाव लड्दा धेरैजसो योग्य उम्मेदवार पनि पराजित हुनुपरेको उनी बताउँछन्।

संस्थापन पक्षले लुम्बिनी प्रदेशका लागि बाँकेका २ जनालाई पदाधिकारी र अन्य ८ जनालाई कार्यसमिति सदस्यमा उम्मेदवार बनाएको थियो। संस्थापन पक्षबाट लुम्बिनी प्रदेशको सहमहामन्त्रीको उम्मेदवार बनेका बाँकेका लक्ष्मीनारायण शाह र माया पुन पराजित भए।

शाहले ६ सय ७६ र पुनले ७ सय ५२ मत ल्याएका छन्। आदीवासी जनजातीतर्फ प्रदेश सदस्यको उम्मेदवार भएका बाँकेका नेता फुलाराम थारु ७ सय ६ मत ल्याएर पराजित भए। (आदीवासी जनजाती) सदस्यमै बाँकेका श्यामबहादुर थापा ६ सय ९ मत ल्याएर पराजित भएका छन्।  

यस्तै प्रदेश सदस्य (मधेसी) मा राजकुमार साहु तेलीले ६ सय ३१ मत ल्याएर पराजित भए। प्रदेश सदस्य महिला (खुल्ला)मा संगिता चौधरीले ६ सय ४५ मत ल्याएर पराजित भइन्। यसैगरी (खस आर्य) सदस्यमा बाँकेकै यमबहादुर खड्का ६ सय ४३ मत ल्याएर पराजित भए।

त्यस्तै बाँके जिल्लागत प्रदेश सदस्यमा नारायणी रुपाखेती ६ सय ९९ मत ल्याएर पराजित भइन्। उनलाई संस्थापन इतर (कोइराला पौडेल) पक्षकी बाँकेकै दिक्षा कोइरालाले पराजित गरेकी हुन्। यसैगरी बाँके जिल्लागत सदस्यमै तेजेन्द्रबहादुर कँडेल ६ सय ७८ मत ल्याएर पराजित भए।

कँडेललाई बाँकेकै संस्थापन इतर पक्षका टेकनारायण भुसालले पराजित गरेका हुन्। यस्तै (महिला खुल्ला) सदस्यमा रत्ना राणा ६ सय ६८ मत ल्याएर पराजित भइन्। उनलाई बाँकेकै संस्थापन इतर पक्षकी अन्जना पाण्डेले पराजित गरिन्। पराजित भएपछि प्रतिक्रिया दिदै प्रदेश सह–महामन्त्री पदकी उम्मेदवार समेत रहेकी नेतृ पुनले पार्टीको आन्तरिक चुनावमा हारजित सामान्य कुरा भएको बताइन्। चुनाव हारेपनि आफुले सम्मानजनक मत पाएको उनको भनाइ छ।

लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा संस्थापन इतर पक्षबाट बाँकेका ७ जना सदस्य पदमा निर्वाचित भएका छन्। लुम्बिनी प्रदेशको खुल्ला सदस्यमा बाँके निवासी  प्रेमबहादुर केसी निर्वाचित भएका छन्। उनले ७ सय ६३ मत प्राप्त गरेका छन्। नेपाल प्रेस युनियनका केन्द्रिय उपमहासचिव समेत रहेका केसी नेपाल पत्रकार महासंघ बाँकेको पुर्वअध्यक्ष तथा महासंघको पुर्वकेन्द्रिय सदस्य हुन्।

यस्तै बाँकेबाट महिला (खुल्ला) सदस्यमा अन्जना पाण्डे निर्वाचित भएकी छन्। उनले ७ सय ९७ मत प्राप्त गरिन्। यसैगरी बाँके जिल्लागत तर्फबाट प्रदेश सदस्यमा टेक नारायण भुसाल ८ सय ३ मत प्राप्त गरी निर्वाचित भएका छन्। बाँके जिल्ला गत सदस्यमै दिक्षा कोईराला ७ सय ७८ मत प्राप्त गरेर निर्वाचित भइन्।

लुम्बिनी प्रदेशको मुस्लिम सदस्यमा बाँके नरैनापुरका काँग्रेस नेता ईशाक जोलाहा ७ सय ९८ मत प्राप्त गरी निर्वाचित भए। प्रदेश (थारु महिला) कृष्णा सापकोटा चौधरी ७ सय ७६ मत प्राप्त गरेर निर्वाचित भइन्। मधेसी महिलातर्फको प्रदेश सदस्यमा परमेश्वरी पाठक ८ सय १९ मत ल्याएर निर्वाचित भएकी छन्।

प्रकाशित: २० मंसिर २०७८ ०७:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App