coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

काँग्रेस बागमती प्रदेश सभापतिमा इन्द्रबहादुर बानियाँ निर्वाचित

नेपाली काँग्रेसको बागमती प्रदेश सभापतिमा मकवानपुरका इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन्। आइतबार भएको दोस्रो चरणको मतदानमा प्रतिद्वन्द्वी नुवाकोटका जगदिश्वर नरिसंह केसीलाई हराउँदै बानियाँले बाजी मारेको हो।

काँग्रेस सभापतिमा बानियाँ र केसीसँगै काठमाडौँका भीमसेनदास प्रधानको त्रिपक्षीय भिडन्त थियो तर सभापति पदमा उठेका तीनै जनाको ५१ प्रतिशत मत नपुग्दा पुनःनिर्वाचन भएको थियो। कांग्रेसको विधानमा सभापतिमा ५१ प्रतिशत मत ल्याउनुपर्ने प्रावधान छ।

दोस्रो पटक भएको निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट उम्मेदवार बनेका बानियाँले १ हजार ८५ मत ल्याउँदै विजयी हासिल गरेका हुन्। सभापतिका अर्का उम्मेदवार रामचन्द्र पौडेल समूहका जगदिश्वर नरसिंह केसीले ९ सय २७ मत ल्याए।

यसअघि पहिलो चरणको निर्वाचनमा बानियाँले ९ सय ९२ र केसीले ८ सय ७२ मत ल्याएपछि आज दोस्रो चरणको मतदान भएको थियो। सभापतिका अर्का उम्मेदवार प्रधानले दोस्रो चरणको मतदानमा बानियाँलाई समर्थन गरेका थिए। आइतबार सभापति पदका लागि भएको निर्वाचनमा २ हजार २५ मत खसेको थियो।

बानियाँ बागमती प्रदेशका कांग्रेसका संसदीय दलका नेता हुन्। उनी संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन् पूर्व राज्यमन्त्री र पूर्वगृहराज्यमन्त्री हुन्। मकवानपुर कांग्रेसका जिल्ला सभापति रहेका बानियाँ २०७० मा पहिलो पटक सांसद् बनेका थिए।

२०७० सालको संविधानसभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्वर १ बाट निर्वाचित बानियाँ २०७४ सालको प्रदेश सभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्वर २ को प्रदेशसभा(ख) बाट विजयी भएका थिए। २०४४ सालदेखि राजनीतिमा सक्रिय उनी २०५१ मा कांग्रेस महाधिवेशन प्रतिनिधि बन्दै आइरहेका छन्। २०५३ मा नेविसंघ मकवानपुरको जिल्ला सचिव, २०५५ मा तरुण दलको जिल्ला सचिव, २०५६ मा तरुण दल जिल्ला अध्यक्ष पनि भैसकेका छन्।

सभापतिमा निर्वाचित भइसकेपछि मतदातालाई धन्यावाद दिदैँ बानियाँले १३ जिल्लाको विकास र समृद्धि एवम् कांग्रेसको हितमा काम गर्ने योजना रहेको सुनाए। ‘कांग्रेसको नीति र नेताको आदर्शलाई आत्मसाथ गर्दै कांग्रेसभित्रका चुनौतीलाई अवसरमा बदल्ने र बागमती प्रदेशलाई समृद्ध बनाउन ‘मास्टरप्लान’ बनाएर अघि बढ्ने छु’ योजना सुनाउँदै उनले भने ‘नेपाली कांग्रेसको इतिहासको सम्मान गर्दै नेताहरूको त्याग धैर्य र निष्ठालाई शिरोपर गर्दै संविधानको रक्षा एवम् समृद्ध प्रदेश निर्माणमा लागि पर्नेछु।’

कांग्रेसको पहिलो प्रदेश अधिवेशनमा ९१ पदका लागि २५७ जनाको उमेदवारी परेको थियो। अधिवेशनबाट दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीन सहमहामन्त्री गरी कुल ९१ सदस्यीय नयाँ कार्यसमिति चयन हुनेछ।खुलातर्फ ४८ र ३५ जना समावेशीतर्फबाट सदस्य निर्वाचित हुनेछन्।

प्रकाशित: २० मंसिर २०७८ ०२:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App