८ वैशाख २०८१ शनिबार
राजनीति

सभापतिको टुंगो नलाग्दा पदाधिकारीका आकांक्षी अन्योलमा

नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु हुन एक साताभन्दा कम समय बाँकी छ। महाधिवेशनमार्फत नेतृत्वमा पुग्न झन्डै दर्जन नेता आकांक्षी छन्।

वर्तमान सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, नेता शेखर कोइराला र कल्याण गुरुङले शीर्ष नेतृत्वका लागि आकांक्षा व्यक्त गर्दै आएका छन्।

उम्मेदवारी मनोनयनका लागि तोकिएको मंसिर २५ गतेसम्म सभापतिका आकांक्षीमध्ये मैदानमा कोको टिक्छन्, यकिन छैन। विगतको महाधिवेशनमा भन्दा १४औं महाधिवेशनमा सभापतिका प्रत्याशी धेरै हुने संकेत भने देखिएको छ।

१३औं महाधिवेशनमै सभापतिको उम्मेदवार बनेका देउवा, पौडेल र सिटौला यसपटक पनि उम्मेदवार बन्ने बताउँदै आएका छन्। निधि,सिंह र शेखरले पनि मैदान नछाड्ने दाबी गर्दै आएका छन् भने युवा नेता गुरुङ एक्लै भोट माग्न सक्रिय छन्। देउवासहित संस्थापन र इतर पक्षबाट नेतृत्वका आकांक्षीलाई नेतृत्वमा टिक्न र पुग्न साझा उम्मेदवार खडा गर्न दुवैतिरका नेता तथा कार्यकर्ताले दबाब दिइरहेका छन्।

आफूबाहेक एकले अर्कालाई नेतृत्वमा स्वीकार गर्न दुवै पक्षका आकांक्षी तयार नहुँदा कम्तीमा चारजना सभापतिको प्रत्याशी हुनसक्ने नेताहरूको आकलन छ। नेतृत्वको प्रतिस्पर्धामा उत्रिने नेताले आफूमात्र सभापतिको प्रतिस्पर्धामा उत्रिने हो कि पदाधिकारीसहितको प्यानल बनाउँछन् भन्ने निश्चित छैन।

तर सभापतिका आकांक्षी पदाधिकारीसहितको प्यानल निर्माणमा सक्रिय रहेको निकटहरूले दाबी गर्दै आएका छन्। एक कार्यकाल सभापतिमा दोहोर्‍याउने तयारीमा रहेका देउवा समूहबाट उपसभापतिमा वर्तमान महामन्त्री पूर्ण खड्का र उपसभापति विजयकुमार गच्छदार मुख्य आकांक्षी छन्। देउवा जित सुनिश्चित गर्न संस्थापन इतरका प्रभावशाली नेतालाई आफ्नो पक्षमा ल्याएर उपसभापति खडा गराउने रणनीतिमा छन्।

उनले पार्टीका पूर्वमहामन्त्री सिटौला, सिंहका साथै महामन्त्री शशांकसम्मलाई कार्यवाहक सभापति बनाउनेसहित उपसभापतिका लागि प्रस्ताव गरिसकेका छन्। त्यसलाई उनीहरूले अस्वीकार गरेको बताइएको छ।

सिटौला उपसभापतिसहित वा त्यसबाहेक सहयोग गर्न तयार रहे केन्द्रीय सदस्य प्रदीप पौडेललाई खसआर्य र उमाकान्त चौधरीलाई थारु समुदायबाट सहमहामन्त्री बनाउने देउवाको तयारी छ। पौडेलले महामन्त्रीमा आफ्नो दाबी रहेको बताउँदै आएका छन्। सिटौला मैदानमा खडा हुँदा पौडेल, चौधरीसहितका नेतालाई साथ लिएर अघि बढ्ने तयारीमा छन्।

इतर पक्षका नेताहरू देउवासँग जोडिन गएको अवस्थामा गच्छदार र खड्का दुवै उपसभापतिको रिङबाहिर पर्नसक्ने निकट स्रोतको दाबी छ। गच्छदारलाई केन्द्रीय सदस्यमा मनाएर महामन्त्रीका आकांक्षीमध्ये एकलाई उपसभापति वा उपसभापतिमा इतर पक्षका कुनै नेतालाई समेट्ने देउवाको तयारी छ।

संस्थापन पक्षबाट महामन्त्रीमा अहिलेका सहमहामन्त्री प्रकाशशरण महत,केन्द्रीय सदस्यहरू ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण, एनपी साउद र रमेश लेखकले आकांक्षा राख्दै आएका छन् भने प्रवक्ता विश्वप्रकाश शर्माले यसअघि नै उम्मेदवारी नै घोषणा गरिसकेका छन्।

एउटै गुटमा रहेर पनि कार्की र खाँण, साउद र लेखक परस्पर विरोधी नेता हुन्। देउवा नेतृत्वको सरकारमा सञ्चार र गृह मन्त्रालयको जिम्मेवारी रहेका कार्की र खाँणबीच पार्टीका कार्यक्रम र बैठकहरूमा समेत को सिनियर हो भन्ने विवाद हुने गरेको छ।

विमलेन्द्र निधिपछि २०३९ सालमा पार्टीको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको अध्यक्ष बनेको भन्दै कार्कीले आफू खाँणभन्दा सिनियर भएको दाबी गर्ने गरेका छन्। तर संघको पाँचौं महाधिवेशनबाट २०४४ सालमा मात्र अध्यक्ष भएका खाँण पार्टी र सत्ता राजनीतिमा अघि देखिएका छन्। 

त्यस्तै साउद र लेखकको गृहजिल्ला कञ्चनपुर हो। खाँणपछि २०४८ मा संघको अध्यक्ष हुँदै पार्टी राजनीतिमा साउद सक्रिय भएका हुन्। राजनीतिमा साउदभन्दा पछि प्रवेश गरे पनि देउवा र श्रीमती देउवाका कारण लेखकले अवसर पाएको भन्दै उनको आलोचना हुने गरेको छ।

जिल्ला एउटै भए पनि फरक भेगका दुवै नेता एकअर्कालाई सहयोगभन्दा पनि अप्ठेरो पार्न सक्रिय हुने गरेका छन्। जिल्ला होस् वा अन्यत्र, दुवै पक्ष निकटकालाई मैदानमा खडा गर्न सक्रिय हुने गरेका छन्। त्यसकै असर प्रदेश निर्वाचनमा देखिएपछि सभापति देउवाले केन्द्रीय सदस्य वीरबहादुर बलायरलाई मैदानमा खडा गरेका हुन्।

साउद र लेखकलाई समानान्तर उपयोग गर्दै आएका देउवा आगामी महाधिवेशनमा दुवैलाई पदाधिकारी नबनाउने रणनीतिमा छन्। पदाधिकारी नपाउँदा साउद वा लेखक असन्तुष्ट बनेर एक निधिको समूहमा पुग्नसक्ने निकटहरूको बुझाइ छ।

प्रवक्ता शर्मा देउवा समूहबाट महामन्त्रीको उम्मेदवार नबनाइए निधि समूहबाट मैदानमा उत्रिन सक्नेछन्। तर खसआर्य कोटाको एक सहमहामन्त्रीमा शर्मा र साउदमध्ये एकलाई समेटेर देउवाले प्यानल बनाउन सक्ने बताइएको छ। महाधिवेशनपछि मनोनीत गर्ने, कोषाध्यक्ष बनाउने आश्वासन पदाधिकारीका आकांक्षीले पाउनसक्ने पनि एक नेताले सुनाए।

संस्थापन पक्षबाट विद्रोह गर्दै सभापतिको प्रत्याशी हुने घोषणा गरेका निधि भने संस्थापन र इतर पक्षका असन्तुष्टलाई समेत समेटेर समूह निर्माणको कसरतमा छन्। तर संस्थापन इतरबाट सभापतिका आकांक्षी धेरै छन्।

आकांक्षीमध्ये अन्तिमसम्म कोको मैदान खडा हुनेहुन्, अझै निश्चित भएको छैन। आआफ्नो शक्तिको आकलनमा रहेका उनीहरूमध्ये केही सभापतिबाट उपसभापतिमा झर्ने सम्भावना धेरै रहेको निकटहरूको दाबी छ। आफूलाई युवा भन्ने तर झन्डै ६० को हाराहारीमा पुगेका नेताहरूले सभापतिमा दाबी गरेका नेताहरूलाई उपसभापति वा महामन्त्रीमा नझर्न दबाब दिँदै आएका छन्।

केहीले जे गरेर हुन्छ, साझा उम्मेदवार बनाउन नेताहरूलाई भन्दै आएका छन्। साझा उम्मेदवार बनाउन सम्भव नभए उपसभापतिसहितका अन्य पदमा प्यानल खडा नगर्न सुझाएका छन्।

तर सहमति जुट्न नसकेको अवस्थामा उपसभापति र महामन्त्रीसम्म भने पनि सभापतिका उम्मेदवारहरूले प्यानल बनाउने तयारीमा छन्। संस्थापन इतर समूहका सभापतिका आकांक्षीहरू नै तल्लो पदमा झर्ने धेरैको आकलन छ।

पूर्वसहमहामन्त्रीद्वय रामशरण महत र अर्जुननरसिंह केसीले पछिल्ला दिनमा उपसभापतिको उम्मेदवार हुने बताउँदै आएका छन्। केही समयअघिसम्म दुवै नेताले सहमति नजुटे सभापतिकै उम्मेदवार हुने बताउँदै आएका थिए।

अहिले संस्थापन इतर समूहमा रहेका महत र केसी आफ्नो जिल्ला नुवाकोटमा भने परस्पर विरोधी गुट बनाएर प्रतिस्पर्धामा उत्रिने गरेका छन्। सम्पन्न जिल्ला अधिवेशनमा केसी र महत पक्षबीच नै प्रतिस्पर्धा भएको थियो।

उपसभापतिमै केन्द्रीय सदस्य बलबहादुर केसी र महेश आचार्यले उम्मेदवारी घोषणा गरेका छन्। अर्का केन्द्रीय सदस्य चन्द्र भण्डारी र दिलेन्द्रप्रसाद बडुले पनि आकांक्षा राख्दै आएका छन्।

महामन्त्री मीनेन्द्र रिजाल, धनराज गुरुङ र गगनकुमार थापा आकांक्षी छन्। गुरुङ र थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा नै गरिसकेका छन्। उम्मेदवारी घोषणा नगरे पनि रिजालले तयारी तीव्र बनाएका छन्।

एउटै जिल्लाका आकांक्षी

कांग्रेसको मात्र होइन, मुलुकको राजनीतिमा नै मोरङ अघि आउँछ। कोइराला परिवारको गृह जिल्ला मोरङ २००३ सालको मजदुर आन्दोलनदेखि नै चर्चामा छ। मंसिर २४ गते देखि सुरु हुन लागेको कांग्रेसको १४औं महाधिवेशनमा पनि मोरङ चर्चामा रहने संकेत देखिएको छ।

अहिले कांग्रेसका नेताहरूले गरेको तयारी अनुसार पार्टी नेतृत्वका लागि उम्मेदवारी दिने हो भने सभापति, उपसभापति र महामन्त्री पदमा यही जिल्लाका नेताको दाबी छ। सभापतिमा शेखर कोइराला, उपसभापतिमा महेश आचार्य र महामन्त्रीमा मीनेन्द्र रिजालले आकांक्षा व्यक्त गर्दै आएका छन्। त्यस्तै तनहुँ, काठमाडौं र झापाबाट पनि सभापति र महामन्त्रीका आकांक्षीहरू छन्।

तनहुँबाट नेता रामचन्द्र पौडेल र प्रदीप पौडेलले सभापति र महामन्त्रीमा दाबी गर्दै आएका छन्। काठमाडौंबाट प्रकाशमान सिंह र गगन थापाले पनि सभापति र महामन्त्रीमा दाबी प्रस्तुत गर्दै आएका छन् भने झापाका कृष्णप्रसाद सिटौला र विश्वप्रकाश शर्मा पनि सभापति र महामन्त्रीको आकांक्षी हुन्। एउटै जिल्लाबाट फरक पदका आकांक्षीहरूबीच खासै सुमधुर सम्बन्ध भने छैन।

निरन्तरका प्रतिस्पर्धी

कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतभन्दा रक्षामन्त्री मीनेन्द्र रिजाल २ वर्ष जेठा छन्। नुवाकोट र धरानमा जन्मेका दुई नेता लामो समय एउटै गुटमात्र होइन, पार्टी र राज्यका विभिन्न निकायमा सँगै बसेर काम गरेका छन्। २०३६ सालमा रिजाल नेपाल विद्यार्थी संघको उपाध्यक्ष बने, महत केन्द्रीय सदस्य। २०४४ सालमा महत संघको महामन्त्री बने, २०७५ मा पार्टीको सहमहामन्त्री।

त्यहाँ देखि सुरु यी दुई नेताबीचको प्रतिस्पधा १४औं महाधिवेशनमा जारी रहने भएको छ। रिजाल र महत दुवै नेताले पार्टी महामन्त्रीका लागि तयारी गरेका छन्। पार्टीको १२औं महाधिवेशनपछि को सिनियर भन्ने हानथापले महिनौंसम्म निर्णय पुस्तिकामा यी दुई नेताले हस्ताक्षर गरेका थिएनन्।

उक्त विवाद लामो समय चलेपछि कांग्रेसले पार्टीभित्र बेलाबेलामा देखिने वरियताक्रमको छिनोफानो गर्न समिति नै बनाएको थियो। राष्ट्रिय योजना आयोगको सदस्यदेखि प्रधानमन्त्रीको सल्लाहकार हुँदै पार्टीको र सरकारको जिम्मेवारीमा कहिले सँगै त कहिले आलोपालो पुग्दै आएका उनीहरू महामन्त्रीमा पनि प्रतिस्पर्धामा उत्रिने भएका छन्।

त्यस्तै केन्द्रीय सदस्य गगनकुमार थापा र प्रदीप पौडेल पनि समकालीन हुन्। उमेरले थापाभन्दा पौडेल केही जेठा छन्। तर स्कुल एकाइदेखि सुरु भएको उनीहरूको प्रतिस्पर्धा पार्टीको १४औं महाधिवेशनमा महामन्त्रीमा पनि हुने देखिएको छ। पौडेलभन्दा पहिला थापा सांसद, केन्द्रीय सदस्य, मन्त्री र महामन्त्रीको उम्मेदवार भइसकेका छन्।

तर नेपाल विद्यार्थी संघको राजनीतिमा थापालाई पछि पार्दै पौडेल अध्यक्षको जिम्मेवारीमा पुग्न सफल भए। चितवनमा भएको संघको महाधिवेशनमा अध्यक्षको प्रत्याशी बन्ने तयारीमा रहेका थापासँग पौडेल प्रतिस्पर्धाको पक्षमा उभिए। त्यसपछि थापाले अध्यक्षको प्रतिस्पर्धाबाट पछि हट्दै पौडेललाई समर्थन गरेका थिए।  

१३औं महाधिवेशमा थापा र पौडेल दुवै सिटौला समूहमा लागेका थिए। अहिले थापा उक्त समूहबाट अलग भए पनि पौडेलले के गर्छन्, अझै निश्चित छैन। थापा र पौडेलमात्र होइन, नेपाल विद्यार्थी संघमा एउटै स्कुलिङबाट अघि बढेका धनराज गुरुङ र विश्वप्रकाश शर्माले पनि महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका छन्।

शर्माभन्दा गुरुङ चार वर्षअघि २०५३ सालमा संघको अध्यक्ष भएका हुन्। शर्माभन्दा पौडेल झन्डै सात वर्षपछि २०६४ सालमा संघको नेतृत्वमा पुगेका हुन्। १३औं महाधिवेशनबाट तितरबितर भएका उनीहरूको नेपाल विद्यार्थी संघ हुँदै पार्टी राजनीतिसम्म सम्पर्क, सम्बन्ध र सहभागिता करिबकरिब उही उमेर समूह र नेता तथा कार्यकर्तासँग रहेको बताइन्छ। आगामी महाधिवेशनमा एउटै पदमा हुने प्रतिस्पर्धाले उनीहरूलाई मात्र होइन महाधिवेशन प्रतिनिधिहरूलाई पनि छनोट गर्ने कठिन पर्नेछ।

प्रकाशित: २० मंसिर २०७८ ००:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App