८ वैशाख २०८१ शनिबार
राजनीति

राप्रपा मूल अजेन्डा राजतन्त्र

निर्वाचनमा राजा र हिन्दु राष्ट्रका नाममा भोट माग्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले एकता महाधिवेशनमा पनि हिन्दु राष्ट्र र राजतन्त्रको अजेन्डालाई प्राथमिकता दिएको छ।

राप्रपाको एकता महाधिवेशनपछि पनि राजा र हिन्दु राष्ट्रको अजेन्डालाई राप्रपाका नेताहरूले निरन्तर उठाउने बताएका छन्। महाधिवेशनमा पेस गरिएको राजनीतिक प्रतिवेदनमा संसद्को परिधिभित्रको राजतन्त्रमा जोड दिइएको छ। प्रतिवेदनमा राजतन्त्रलाई सांस्कृतिक र राष्ट्रिय एकताको प्रतीकका रूपमा व्याख्या गरिएको छ।

महाधिवेशनको बन्दसत्रमा अध्यक्ष कमल थापाले पेस गरेको राजनीतिक प्रतिवेदनमा राजतन्त्र र हिन्दु राष्ट्रको अजेन्डालाई पहिलो प्राथमिकतामा राखिएको छ। बन्दसत्रमा उक्त अजेन्डामा राप्रपाका एकजना कार्यकर्ताले पनि असहमति प्रकट गरेनन्। उक्त अजेन्डा परिमार्जन गर्न कसैले पनि माग गरेनन्।

राजनीतिक प्रतिवेदनमा अध्यक्षका प्रत्याशी थापा र राजेन्द्र लिङदेनबीच पनि विवाद भएन। बरु असली राजावादी को भन्नेमा होडबाजी देखियो। यो होडबाजी महाधिवेशन उद्घाटन समारोहमा पनि प्रष्ट देखियो। उद्घाटन समारोहमा बोल्ने क्रममा पूर्वराजा ज्ञानेन्द्रको सहानुभूति बटुल्न थापा र लिङदेनले आ–आफ्नो किमिसबाट भाषणा गरे। लिङदेन पक्षका नेताहरूले पूर्वराजाको समर्थन आफूतिर भएको प्रचार गरेका छन्।

थापा निकट कार्यकताहरूले पनि असली राजावादी आफ्नो पक्ष भएको लिङदेनभन्दा थापा नै राजावादी भएको देखाउन प्रयास गरे। राप्रपाका एक नेता भन्छन्, ‘पूर्वराजाको संकेत पाउनेबित्तिकै कम्तीमा एक हजार भोट प्रभावित हुने अवस्था थियो। जुन निर्णायक मानिन्थ्यो। त्यसैले पनि निर्णायक भोट आफूतिर तान्न दुवै पक्षको होडबाजी देखियो।’

यसबाट अब हुने चुनावमा पनि राजा र हिन्दु राष्ट्रको अजेन्डालाई राप्रपाले जोडदार रूपमा उठाउने प्रष्ट छ। ‘राजा र हिन्दु राष्ट्रको अजेन्डामा हामी अलिकति पनि परिवर्तन भएका छैनौं। संसद्को परिधिभित्र राजतन्त्र चाहिन्छ भन्ने हाम्रो अजेन्डामा पार्टीभित्र कसैको विमति छैन’, राप्रपाका नेता भुवन पाठकले भने, ‘यो अजेन्डालाई अब जनतामाझ अझ जोडदार रूपमा लैजान्छौं।’

२०६४ सालमा भएको संविधानसभा सदस्यको निर्वाचनमा हिन्दु राष्ट्र र राजतन्त्रका नाममा राप्रपाले २५ सिट ल्याएको थियो। तर त्यसपछि मुलुकको राजनीतिमा राप्रपाको पकड खस्किँदै गयो। त्यसपछिका निर्वाचनहरूमा राप्रपाको मत कमजोर हुँदै गयो। पार्टी कमजोर हुँदै जानुमा अजेन्डा नभई व्यवस्थापन गर्न नसक्नु प्रमुख कारण रहेको राप्रपाका नेताहरूको बुझाइ छ।

गणतन्त्र कार्यान्वयनपछि पनि राप्रपा पटकपटक फुट्यो र जुट्यो पनि। राप्रपा फुट र जुटमा सिद्धान्तको कुराले कहिल्यै प्राथमिकता पाएन। अध्यक्ष को हुने भन्ने विवादले पार्टी फुट्यो। राप्रपाभित्र उदाएका गणतन्त्रवादी नेता सुनिल थापाले पार्टी छाडे। थापाले छाडेपछि राप्रपाभित्र राजतन्त्र कि गणतन्त्र भन्ने विवाद पनि रहेन। राप्रपाभित्र गणतन्त्र भन्नेहरू आफैं साइड लाग्दै गए। तर राप्रपा आफ्नो यो अजेन्डाबाट पछि हटेको छैन।

राप्रपाका नेताहरूको बुझाइमा हिन्दु राष्ट्र र राजतन्त्रका नाममा अहिले पनि भोट छ। आउने चुनावमा राजा र हिन्दु राष्ट्रका नाममा राप्रपाले जनताको मन जित्छ कि जित्दैन, त्यो हेर्न भने बाँकी नै छ।

प्रकाशित: १९ मंसिर २०७८ ०१:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App