८ वैशाख २०८१ शनिबार
राजनीति

दाहाललाई आफ्नै बोली बोझ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग आफ्नो गोत्र मिल्ने बताएका छन्।

मुलुकमा राजतन्त्र अन्त्य गर्न अग्रणी भूमिका निर्वाह गरेका दाहालले राजतन्त्र पुनस्र्थापना गर्नुपर्ने अजेन्डासहित अघि बढिरहेको राप्रपासँग आफ्नो गोत्र मिल्ने बताएपछि सामाजिक सञ्जालमा उनको आलोचना भएको छ। राप्रपाको एकता महाधिवेशनलाई बुधबार सम्बोधन गर्ने क्रममा दाहालले यस्तो बताएका हुन्।

यसअघि दाहालले पतञ्जली योगपीठको भवन उद्घाटन कार्यक्रमलाई मण्डीखाटारमा सम्बोधन गर्दै योगगुरु रामदेवलाई वैज्ञानिक र क्रान्तिकारी भनेका थिए। ‘सुरुसुरुमा लाग्थ्यो उहाँ अलि बढी रुढीवादी हुनुहुन्छ होला,अलि बढी परम्परावादी हुनुहुन्छ होला तर छलफल र संगत गर्दै जाँदा उहाँ त वैज्ञानिक हुनुहुँदोरहेछ, क्रान्तिकारी हुनुहुँदोरहेछ,’ रामदेवको प्रशंसा गर्दै दाहालले भनेका थिए।

सशस्त्र संघर्षताका माओवादीको निसानामा धार्मिक स्थल, धर्मगुरुहरूसमेत परेका थिए। दाहालको उक्त अभिव्यक्तिपछि कतिपयले युद्धकालमा माओवादीले पण्डित नारायण पोख्रेलको हत्या किन गरेको भन्दै प्रश्नसमेत गरेका थिए।

गत असोज १४ गते माओवादी केन्द्र निकट विद्यार्थी संगठनको २२ औं सम्मेलनमा भावुक हुँदै दाहालले आफूसँग फेरि लडाइँ लड्ने वा आत्मसमर्पण गर्ने विकल्प भए पनि लडाइँ गर्ने अवस्था नभएको र आत्मसमर्पण पनि गर्न नसक्ने भन्दै तर सुसाइड (आत्महत्या) गर्ने अर्को विकल्प भने रहेको बताएका थिए। तर आफू त्यसबाट अघि बढेको उनको भनाइ थियो। आफ्नो तर्कलाई बल पुर्‍याउन उनले आत्महत्या सबै नराम्रो मात्रै नहुने भन्दै माक्र्सका छोरी ज्वाइँले पनि आत्महत्या गरेको बताएका थिए। 

गत भदौ २३ गते सुरेश वाग्ले स्मृति दिवसमा बोल्ने क्रममा दाहालले माओवादीहरू बिग्रिसकेको बताएका थिए। ‘हामी बिग्रेका छौं। हामी अहिले व्यक्तिगत पद, प्रतिष्ठा, पैसा, स्वार्थ, समूह, गुट, बनाउने र आफूलाई व्यक्तिगत रुपमा सुरक्षित राख्ने जस्ता कुराबाट अलि बढी ग्रस्त छौं,’ उनले भनेका थिए।

 एमालेजस्तै हुने हो भने माओवादी पार्टी किन चाहियो भन्ने बहस उठेको उल्लेख गर्दै उनले यस्तै पार्टी रहिरहने हो भने बरु विघटन गरिदिए हुन्छ भनेका थिए।‘यस्तो पार्टी चलाएर हामी क्रान्ति गर्छौं भन्दै प्रतिक्रान्ति गर्नु भनेको जनतालाई धोका दिनु हो। बरु त्योभन्दा विघटन गर्ने हो कि भन्ने छलफल चल्न थालेको छ आजभोलि,’उनले भनेका थिए।

भदौ ३० मा आयोजित पोष्टबहादुर बोगटी स्मृति दिवसमा बोल्ने क्रममा पनि उनले माओवादी हिजोको विरासतबाट विचलित भएको अभिव्यक्ति दिएका थिए। असोज ४ मा सूर्यनाथ राना यादव स्मृति दिवसमा धारणा राख्ने क्रममा दाहालले माओवादी पनि एमालेजस्तो हुन थालेको भन्दै पार्टीभित्र झुटमुट, बेइमानी, जालझेल, ठगठाग, जसरी पनि पद प्राप्त गर्ने, गुटैगुट र पद प्रतिष्ठाका लागि विचार, सिद्धान्त र निष्ठालाई पोलेर खाने प्रवृत्ति देखिन थालेको बताएका थिए। ‘माओवादीले पनि एमालेले जस्तै गर्न थालेपछि कतिपयले आफूहरूलाई खाओवादी भन्न थालेको उनको भनाइ थियो। ‘व्यवहारमा जनतालाई माओवादी, एमाले र कांग्रेस छुट्याउन गाह्रो भएको छ,’ उनले भनेका थिए।

असोज ७ गते वाइसिएल पाँचखाल नगर सम्मेलनमा दाहालले माओवादीमा तल्लो तहका कार्यकर्ता नबिग्रिएको बताएका थिए। ‘चुनाव जितेका टाठाबाठा माओवादी बिग्रिए। जसलाई धेरै मन्त्री बनाएँ तिनै सबैभन्दा ठूलो भगौडा भए। भ्रष्टाचार खुब गरेको छ, ठगठाग गरेको छ, ठेक्कापट्टा पाउन मरिहत्ते गरेको छ। कमिसन खान मरिहत्ते गरेको छ तर मचाहिँ बिग्रिएको छैन भन्ने लाग्ने फेरि,’ दाहालको अभिव्यक्ति थियो।

निरन्तर रुपमा पार्टी र आफूलाई निरीह रुपमा प्रस्तुत गरेका दाहालले यही मंसिर ८ गते कैलालीको भजनीमा आफू अहिले प्रधानमन्त्री नभए पनि प्रधानमन्त्रीभन्दा कम नभएको भन्दै शक्तिशाली नै रहेको अभिव्यक्ति दिएका थिए।

दाहालले सार्वजनिक रुपमा पार्टी बिग्रिएको भन्दै निरन्तर दिएका अभिव्यक्ति उनकै लागि प्रत्युत्पादक देखिन्छन्। पार्टीले गरेका राम्रो कामको जस लिने दाहालले पार्टी बिग्रिएको दोष भने नेता–कार्यकर्तामाथि थोपर्ने प्रयास गरेका छन्। दाहालले आफ्नै पार्टीका बारेमा दिएका अभिव्यक्ति विपक्षीका लागि उनी र माओवादीविरुद्ध प्रचारका हतियार बन्न सक्छन्।

एमालेले चितवनमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेपछि त्यसबाट चितवनलाई फाइदा नै हुने र आफू खुसी नै रहेको अभिव्यक्ति दिएका दाहालले मंसिर ४ गते रौतहटमा आयोजित एका कार्यक्रममा आफूलाई सिध्याउन एमालेले चितवनमा महाधिवेशन गर्न लागेको बताएका थिए। त्यहाँ उनले भनेका थिए,‘अहंकारको चरमचुलीमा पुगेका खलनायकहरूले महाधिवेशन गर्दैछन् चितवनमा। उनीहरू प्रचण्ड (दाहाल) र चितवनलाई माया गर्न गएका होइनन्।

उनीहरू मलाई सिध्याउन त्यहाँ गएका हुन्।’ सामान्यत राजनीतिक रुपमा आफ्नो प्रभाव बलियो भएको अवस्थामा आफ्नो निर्वाचन क्षेत्रमा अर्काे पार्टीले महाधिवेशन गर्दैमा उनी डराउनुपर्ने हुँदैनथ्यो। तर दाहालको अभिव्यक्तिमा शक्ति क्षयीकरण हुँदै गएको भनाइकै निरन्तरता देखिन्थ्यो।

यही मंसिर ७ गते अखिल नेपाल शिक्षक संगठन एकताको दोस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै दाहालले शिक्षकलाई राजनीति गर्न दिनुपर्ने अभिव्यक्ति दिएका थिए। ‘शिक्षकले राजनीति गर्नु हुन्छ कि हुँदैन भन्ने कानुनी र संवैधानिक प्रश्न जस्तो बनाइएको छ।

तर नेपालमा जति पनि पार्टीहरू छन्, सबै शिक्षकहरूकै योगदानका कारण छन्। राजनीतिक दलका योजना र कार्यक्रमलाई जनताको बीचमा लैजाने शिक्षकहरू नै हुन्। त्यसैले शिक्षकले राजनीति गर्न हुन्न भन्नु पार्टी सिस्टम नै कमजोर पार्ने कुरा हो’, दाहालले भनेका थिए। उनको यो भनाइको व्यापक आलोचना भयो।

केही दिनअघि गृहजिल्ला पुगेका माओवादी नेता तथा शिक्षामन्त्री देवेन्द्र पौडेलले सरकारबाट तलब सुविधा लिने शिक्षकहरूले राजनीति गर्न नहुने अभिव्यक्ति दिएर दाहालको भनाइको खण्डन गरे। यसले दाहालले दिने अभिव्यक्ति उनकै पार्टी र निकटहरूलाई पनि चित्त नबुझेको देखिन्छ।

कुनै समय थियो, दाहालको भाषण र अभिव्यक्ति सुन्न ठूलो संख्यामा मानिस आकर्षित हुन्थे। उनको बोलीमा निराशा, अस्थिरता वा अर्थहिनता हुँदैनथ्यो। तार्किक र मानिसमा उत्साह, ऊर्जा भर्ने विषयवस्तु भएका भाषण गर्दा दाहालले बोकेको विचारसँग सहमत नहुने मानिस पनि उनलाई सुन्न लालायित हुन्थे, उनका भाषणमा दम हुन्थ्यो। तर, पछिल्लो समयमा उनका अभिव्यक्तिमा आक्रोश, कुण्डा र निराशा बढी पाउन सकिन्छ। अहिले उनका अभिव्यक्तिमा ओज कमजोर हुनेमात्र होइन, कतिपय अवस्थामा गैरजिम्मेवारी पनि देखिन्छ। जसले गर्दा उनी आफ्नै बोलीको बोझ बोक्नुपर्ने अवस्थामा पुगेका छन्।  

राजनीतिक विश्लेषक हरि रोका नेताहरूमा विचारमा विचलन आउँदा यस्तो अवस्था सिर्जना हुने बताउँछन्। ‘नेताहरूको दिमागमा विचारधारा हुनुपर्ने हो। त्यो विचारधाराबाट प्रभावित भएर समाजको खाका तयार हुन्छ।

त्यसकै आधारमा पार्टी बन्छ। तर जब नेताहरूमा विचारधाराहीन अवस्था आउँछ त्यसपछि उनीहरू दिमागमा जे आउँछ त्यही बोल्छन्,’ रोकाले भने। विचारधारामा विचलन आएपछि नेताहरूले यथास्थितिका बारेमा बोल्दै हिँड्ने र दाहाल पनि त्यसैको सिकार भएको रोकाको तर्क छ। ‘जब मान्छे विचारबाट बिथोलिन्छ, धेरै पुरानो होइन, बिहान के बोलियो भन्ने कुरा बेलुका उसले थाहा पाउँदैन,’ रोकाले भने।

प्रकाशित: १६ मंसिर २०७८ ००:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App