१६ चैत्र २०८० शुक्रबार
राजनीति

एकसट्ठी जिल्लामा कांग्रेसको अधिवेशन सम्पन्न, बिहीबारदेखि प्रदेश अधिवेशन

नेपाली कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत बुधबारसम्म ६१ जिल्लामा पार्टीको जिल्ला अधिवेशन सम्पन्न गरेको छ।यसबाहेक सबै जिल्लाका कूल १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

प्रत्येक प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट औषतमा २६ जनाका दरले महाधिवेशन प्रतिनिधि चयन हुने र प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रबाट औषतमा १८ जनाका दरले प्रदेश प्रतिनिधि चयन हुने पार्टी विधानको व्यवस्था छ।बुधबारसम्म सबै जिल्लामा प्रतिनिधि सभा र प्रदेशसभा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको समिति सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए।

कांग्रेसले यसअघि देशभरका सबै वडा र पालिकामा पार्टीको अधिवेशन सम्पन्न गरिसकेको छ। कांग्रेसले बिहीबारदेखि सातै प्रदेशमा पार्टीको प्रदेश अधिवेशन प्रारम्भ गर्दैछ। जिल्ला अधिवेशन हुन बाँकी १६ जिल्लाको अधिवेशन भने पार्टीको महाधिवेशनपछि मात्र हुने समितिले जनाएको छ।

बिहीबारदेखि सुरु हुँदै प्रदेश अधिवेशन

समितिले मङ्सिर १६ गतेदेखि प्रदेश कार्यसमितिको निर्वाचन कार्यतालिका तय गरेको छ। मङ्सिर १६ गते बिहान १० बजे मतदाता नामावली प्रकाशित गर्ने, मङ्सिर १७ गते बिहान ८ देखि ११ बजेसम्म उम्मेदवार मनोनयन पत्र दर्ता गर्ने, सोही दिन दिउँसो ११ देखि १ बजेसम्म मनोनयन पत्रमाथि पर्ने दाबी विरोध दर्ता गर्ने, जाँचबुझ गर्ने र मङ्सिर १७ गते २ बजे सो उपर निर्णय गर्ने प्रदेश निर्वाचन कार्यतालिका रहेको छ।

मङ्सिर १७ दिउँसो २ देखि साँझ ५ बजेसम्म उम्मेदवारको नेपाली वर्णानुक्रम (देवनागरी लिपी) पहिलो नाम प्रकाशित गर्ने, सोही दिन साँझ ६ः३० मनोनयन फिर्ता लिने, साँझ ७ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र मङ्सिर १८ गते विहान ८ बजेदेखि प्रदेश कार्यसमितिका लागि मतदान सुरु हुने समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए।  

कांग्रेसको १४औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ।

प्रकाशित: १५ मंसिर २०७८ १४:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App