७ वैशाख २०८१ शुक्रबार
राजनीति

कांग्रेस सुनसरीमा पुनः मतगणना माग गर्दै निर्वाचन समितिमा निवेदन

नेपाली कांग्रेस सुनसरी जिल्ला कार्यसमितिको निर्वाचनको मतरिणाम सार्वजनिक भइसके पनि पुनः मतगणनाको माग गर्दै जिल्ला निर्वाचन अधिकृत समक्ष निवेदन परेको छ।

जिल्ला कार्यसमितिको उपसभापति र सचिवमा पराजित दुई उम्मेदवारले पुनः मतगणनाको माग गर्दै निर्वाचन अधिकृत उत्तम पौडेलसमक्ष निवेदन दिएका हुन्। निर्वाचनमा पराजित संस्थापन पक्षका उम्मेदवार गफार अन्सारी र सचिवका उम्मेदवार रञ्जेश भट्टराईले पुनः मतगणनाको माग गर्दै निवेदन दिएका हुन्। उपसभापतिमा संस्थापन इतर समुहका उम्मेदवार नगेशचन्द्र राईले १३३५ र पंकजकुमार महतोले १३१३ मत ल्याएर विजयी भएका थिए।

संस्थापन समूहका उपसभापतिका उम्मेदवार अन्सारीले १२९७ मत ल्याएर झिनो मतान्तरले पराजित भएका थिए। यस्तै, सचिवमा १ मतान्तरले संस्थापन समूहका उम्मेदवार भट्टराई पराजित भएका थिए। उनले १२२८ मत पाएका थिए भने इतर समूहका माधव बहादुर घिसिङ १२२९ र विरेन्द्रकुमार साह १४६७ मत ल्याएर विजयी भएका थिए।

निर्वाचन अधिकृत पौडेलका अनुसार सचिवका उम्मेदवार भटट्राईले मतपरिणाम सार्वजनिक भएकै दिन मंसिर १३ गते पुनः मतगणनाको माग गर्दै निवेदन दिएका हुन् भने उपसभापतिका उम्मेदवार अन्सारीले १४ गते मंगलबार निवेदन दिएका हुन्। निर्वाचन समितिले पुनः मतगणनाको निवेदनबारे तत्काल केही निर्णय नलिएको उनले बताए।

अधिकृत पौडेलका अनुसार केन्द्रीय निर्वाचन समितिसँग आवश्यक समन्वय गरेर मात्र पुनः मतगणनाबारे थप निर्णय लिइनेछ। केन्द्रीय समितिले पनि अहिले प्रदेश निर्वाचनको चटारो भएकोले केही समय पर्खन भनेको उनले बताए। यो विवादको कारण जिल्ला कार्यसमितिमा पालिकास्तरबाट सदस्य हुने उम्मेदवारहरुको मतगणना प्रभावित भएको छ। गणना गर्न बाँकी मत पनि सिल गरेर राखिएको छ।

प्रकाशित: १५ मंसिर २०७८ ०९:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App