coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रहरीले ट्याक्सीको ठगी नियन्त्रण गर्न सकेनः पर्यटनमन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमहाबदुर आलेले विमानस्थल प्रहरीले ट्याक्सीको ठगी नियन्त्रण गर्न नसकेको आरोप लागाएका छन्। बुधबार नेपाल नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले सञ्चालनमा ल्याएको आन्तरिक टर्मिनल स्टेसनमा सटल बस सेवा सञ्चालनको उद्घाटन गर्दै मन्त्री आलेले प्रहरीलाई बारम्बार निर्देशन दिएर यात्रुलाई मिटरमा मात्रै लैजाने व्यवस्था गरी ट्याक्सीको ठगी नियन्त्रण गर्न भने नसकेको बताए।

मन्त्री आलेले पटक पटक आफैले निर्देशन दिँदा समेत यात्रु लुट्ने क्रम जारी नै रहेपछि सटल बसको व्यवस्था गर्नु परेको स्पष्ट पारे। विमानस्थलबाट चढ्ने ट्याक्सी हवाई भाडा भन्दापनि महँगो भएको धेरै यात्रुको गुनासो आएकाले बस सञ्चालन गरिएको उनले बताए।

‘सटल बस सञ्चालनमा ल्याइनुअघि तीनपटक भन्दा बढी विमानस्थल प्रहरीलाई ट्याक्सीबाट हुने ठगी नियन्त्रण गरी मिटरबाट मात्रै यात्रु बोक्ने व्यवस्था गर्न निर्देशन दिएको थिएँ। तर पनि ठगी रोकिएन,’ उनले भने, ‘ठगी नरोकिएपछि सरकारले नै यात्रुको सुविधाको लागि सटल बस सञ्चालनमा ल्याएको छ।’

पर्यटनमन्त्री आलेले वैदेशिक रोजगारीमा जाने यात्रुले ठगी वा अन्य कुनै समस्या परेमा विमानस्थलले व्यवस्था गरेको हटलाइनमा फोन गर्न यात्रुलाई आग्रह समेत गरे।

त्यस्तै, आजबाट नै वैदेशिक श्रम गन्तव्यमा जाने यात्रुका लागि अन्तर्राष्ट्रिय टर्मिनल भवनमा विश्राम घरको पनि पर्यटन मन्त्री आलेले उद्घाटन गरेका छन्। विश्राम घरको उद्घाटन गर्दै मन्त्री आलेले गाउँदेखि रोजगार कम्पनीसम्म ठगीमा पर्ने नेपाली श्रमिक तथा कामदारलाई विमानस्थलमा राहतस्वरूप विश्राम घर सञ्चालनमा ल्याइएको बताए।योसँगै आजबाट विमानस्थलमा आन्तरिक हवाई यात्रा गर्ने यात्रुले हरेक दिन बिहान ६ बजेदेखि राति ११ बजेसम्म सटल बसमा सित्तैमा यात्रा गर्न पाउने छन्। सटल बसले आन्तरिक टर्मिनलदेखि रिङरोडसम्म जोडिएको विमानस्थलको गोल्डन गेटसम्म यात्रुलाई सेवा दिनेछन्।

प्रकाशित: १५ मंसिर २०७८ ०९:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App