coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

उदयपुरमा ३ स्थानीय तहको अधिवेशन लम्बियो

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को जारी स्थानीय तह अधिवेशन यहाँका ३ वटा स्थानीय तहमा लम्बिएको छ। जिल्लाको ८ वटै स्थानीय तहमा ११ गते सुरु अधिवेशनबाट सबैतिर सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गरिए पनि आकांक्षीहरु बढी देखिएपछि चुनावी प्रक्रिया अपनाउनु पर्दा अधिवेशन लम्बिएको हो।

पार्टी जिल्ला समन्वय कमिटी संयोजक विनोद कटुवालका अनुसार जिल्लाका त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका र उदयपुरगढी गाउँपालिकामा अविधेशन लम्बिएको छ। ३ वटै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि आउँदो शनिबार चुनावी प्रक्रियामार्फत टुंग्याउने तयारी भएको कटुवालले बताए।

माओवादी केन्द्रको विधानले कमिटी गठन गर्दा पहिले नगर प्रतिनिधिबाट ६५ सदस्यीय कमिटी छान्नुपर्ने व्यवस्था छ। गठित कमिटीका सदस्यहरुले आफूमध्येबाट अध्यक्ष, ३ उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षसहित ७ सदस्यीय पदाधिकारी तथा बाँकी सदस्य चयन प्रक्रिया अपनाउनुपर्ने प्रावधान छ।

जसअनुसार त्रियुगामा ३ सय ४ जना प्रतिनिधिबाट ६५ सदस्यीय नगर कमिटी गठन भइसकेको छ। नगर कमिटी सचिवमा कुरुङ राई सर्वसम्मत चयन भइसकेको र बाँकी पदाधिकारीमा चुनावी प्रक्रिया अपनाउनुपर्ने अवस्था आएको र चुनाव गराउन निर्वाचन कमिटीसमेत गठन भइसकेको पार्टी नगर इन्चार्ज बिमल किरातीले बताए। उनका अनुसार अध्यक्षमा नरबहादुर कार्की र गीता कार्कीबीच प्रतिस्पर्धा हुँदैछ।

आकांक्षी धेरै भएकै कारण त्रियुगामा ३ उपाध्यक्ष, सहसचिव र कोषाध्यक्ष छान्न पनि चुनाव नै गर्नुपर्ने भएको छ। आकांक्षी धेरै र सर्वसम्मत गर्न गरिएको लामो प्रयास बिफल भएपछि लोकतान्त्रिक विधि र पद्दति अपनाउन चुनावमा जानु परेको किरातीले बताए।

उता २ सय ४६ प्रतिनिधि रहेको चौदण्डीगढी नगरपालिकामा नगर कमिटीसमेत गठन हुन सकेको छैन। आकांक्षी धेरै भएका कारण ६५ सदस्यीय नगर कमिटीदेखि पदाधिकारी छान्नेसम्म चुनावै गराउनुपर्ने अवस्था आएको प्रदेश इन्चार्ज राजन किरातीले बताए। उनका अनुसार चौदण्डीगढीमा अध्यक्षका लागि कमलध्वज राई र रमेश विकबीच प्रतिस्पर्धा हुँदैछ।

झण्डै आधादर्जनले अध्यक्षमा दावी गरे पनि अरुले हात झिकेपछि अन्त्यमा राई र विकबीच प्रतिस्पर्धा हुन लागेको उनले बताए।

उदयपुुरगढी गाउँपालिकामा पनि गाउँ कमिटी गठन हुनै बाँकी छ। पार्टी आयोजक कमिटी अध्यक्ष देव गिरीका अनुसार त्यहाँ पनि आकांक्षी बढी भएकै कारण चुनाव गराउनुपर्ने अवस्था आए पनि सकेसम्म सर्वसम्मत गर्ने प्रयास भइरहेको छ।

उदयपुरगढीमा दिपक तामाङ, विष्णु पराजुली, सन्तोष निरौला र भुवन केप्छाकी अध्यक्षका आकांक्षी छन्। उनीहरुमध्ये एकजनालाई अध्यक्ष बनाउने गरी सर्वसम्मतको प्रयास भइरहेको गिरीले बताए।

कटारी र बेलका नगरपालिका तथा बाँकी ३ गाउँपालिकामा भने कतै चुनाव र कतै सर्वसम्मत कमिटी गठन भइसकेको छ। कटारी, बेलका र ताप्लीमा क्रमशः मणिराज दाहाल, मनोज तामाङ र गुृरु पोखरेल अध्यक्ष छानिएका छन्। रौतामाई र लिमचुङबुङ गाउँपालिकामा चुनावी प्रक्रियामार्फत कमिटी चयन भएको छ।

सर्वसम्मतको प्रयास असफल भएपछि लिमचुङबुङमा १२ गते चुनाव गर्नु पर्यो। ५५ मतदाता रहेको चुनावमा अधिवेशन आयोजक कमिटी अध्यक्ष होम किरातीलाई २३ मत पर्दा राईले ३२ मत पाएर अध्यक्षमा बाजी मारेका हुन्।

सचिवको स्पर्धामा मनोज बुढाथोकीले जितेन राईलाई पछि पार्दै स्थान ओगटे भने २ उपाध्यक्षमा दिनेश राई र भिम किराती, सहसचिव नन्द राई र कोषाध्यक्ष सुना राई सर्वसम्मत छानिए।

त्यसैगरी रौतामाई गाउँपालिकामा चुनावी प्रक्रियाबाटै वीरेन्द्र आलेमगर अध्यक्ष छानिएका छन्। उनले आयोजक कमिटी अध्यक्ष इश्वर रानामगरलाई पराजित गरेर अध्यक्ष जितेका हुन्।

प्रकाशित: १५ मंसिर २०७८ ०८:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App