१६ चैत्र २०८० शुक्रबार
राजनीति

प्रधानमन्त्रीले नेता तथा कार्यकर्तालाई भनेः अरुको पार्टीमा आँखा लगाउनु पर्दैन, आफ्नो पार्टी बनाउनेतिर लागौँ

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अरुको पार्टीको चिन्ता नगर्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन्। मंगलबार सुवर्ण समशेर पुस्तक विमोचन एवं नवनिर्वाचित जिल्ला सभापति तथा क्षेत्रीय सभापति सम्मान कार्यक्रममा प्रधानमन्त्री देउवाले अरुको पार्टीको चिन्ता नगर्न आग्रह गरेका हुन्।

उनले विगतका दिनमा पार्टीभित्रै अन्तरघात भएको स्मरण गर्दै अब एकतावद्ध भएर पार्टीलाई अघि बढाउनु पर्ने बताए। प्रधानमन्त्री देउवाले अरुको पार्टीमा आँखा लाउन छोडेर आफ्नो पार्टीलाई अरुको भन्दा ठूलो पार्टी बनाउन जोड दिनुपर्ने बताए।

‘पार्टीलाई भोलिका दिनमा अगाडि बढाउनु छ। हामी सबै एक भएर जानुछ, एकजुट हुनुछ । तपाईहरुलाई थाहै छ, सत्य कुरा लुक्दैन। पार्टी भित्रै अन्तरघात हुनेदेखि लिएर अनेक भए। आगामी दिनमा यो पार्टीलाई एकतावद्ध गरेर राम्रोसँग जाने पार्टीको निर्णयलाई मानेर अघि बढ्नुपर्छ,’ प्रधानमन्त्री देउवाले भने,  हाम्रो पार्टी बनाउनेतिर लागौँ, अरुको पार्टी कस्तो छ? आँखा धेरै लगाउनु पर्दैन, आफ्नो पार्टी बनाउनेतिर लागौँ। अरुको पार्टीको चिन्ता उनीहरुलाई गर्न दिनुस् न किन हामी गर्ने ? आफ्नो पार्टीको चिन्ता गरौँ, आफ्नो पार्टी बनाउँ। उहाँहरुको भन्दा ठूलो पार्टी बनाउँ।’

प्रधानमन्त्री देउवाले चाँडो गरिएको निर्णयले पछुताउनु पर्ने भन्दै कुनै पनि निर्णय गर्दा सोच विचार गर्नुपर्ने बताए। उनले नेतृत्व र निर्णय गर्ने अधिकार सबैको आउने भन्दै विश्वप्रकाश शर्मा र प्रकाश महतलाई नेतृत्व गर्न नहतारिन आग्रह गरे। प्रधानमन्त्री देउवाले बुढापाकाहरुलाई अर्ति दिनुभन्दा बुढापाकाबाट अर्ति लिन सुझाए।

प्रधानमन्त्री देउवाले राजनेता सुवर्ण समशेर जबराले पार्टीको लागि र प्रजातन्त्रकोल लागि दिएको योगदानलाई बिर्सन नसक्ने बताए।

प्रकाशित: १४ मंसिर २०७८ १२:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App