नेपाली कांग्रेस मोरङ जिल्ला सभापतिको निर्वाचन सुरू भएको छ। मंगलबार १२ बजेदेखि जिल्ला सभापतिको निर्वाचन सुरू भएको हो।
निर्वाचनमा पहिलो चरणमा प्रथम र दोस्रो स्थान हासिल गर्ने डिगबहादुर लिम्बु र दिलीपकुमार गच्छदार चुनावी प्रतिश्पर्धामा उत्रिएका छन्। पहिलो चरणमा डिगबहादुर लिम्बु, दिलीपकुमार गच्छदार र यदु विष्ट चुनावी मैदानमा उत्रिएका थिए। पहिलो चरणको निर्वाचनमा कसैले पनि ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन गरिएको हो। जसमध्ये यदुकुमार विष्ट सभापतिको दौडबाट बाहिरीसकेका छन्।
सभापतिको दौडबाट बाहिरिएपछि विष्टले सभापतिका उम्मेदवार दिलीपकुमार गच्छदारलाई सभापतिको निर्वाचनमा सघाउने घोषणा गरेका छन्। यदुकुमार विष्ट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन्।
यस्तै गच्छदारलाई सिटौला पक्षका विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र प्रकाशमान सिंह पक्षका नेता राजु मास्केको पनि साथ रहेको छ। केन्द्रीय सभापतिका दाबेदार डा शेखर कोइरालाको उमेदवार डिगबहादुर लिम्बुको विरुद्ध कोइरालाकै गृह जिल्लामा पौडेल, सिटौला र प्रकाशमान सिंह पक्षले घेराबन्दी गरेको छ। तर, पहिलो चरणको निर्वाचनमा दिलीप गच्छदारलाई धेरै मत अन्तरले पछि पारेका कारण लिम्बुले नै चुनाव जित्ने कोइराला पक्षका नेताहरू दाबी गर्दै आएका छन्।
अर्कोतर्फ एक कार्यकाल नेपाली कांग्रेस मोरङको सभापति चलाइसकेका लिम्बुले पार्टीलाई गति दिन नसकेको आरोप लगाउँदै संस्थापन पक्षका नेताहरू भने मोरङ सभापतिमा नयाँ अनुहारले प्रथमिकता पाउने र पहिलो चरणको निर्वाचनमा तेस्रो स्थान प्रप्त गरेका विष्टको पनि समर्थन रहेका कारण विष्टले पाएको मत पनि गच्छदारले पाउने भएकाले गच्छदारले नै चुनाव जित्ने दाबी गर्दै आएका छन्।
नेपाली कांग्रेसको केन्द्रीय सभापतिको दाबेदार रहेका डा शेखर कोइरालाका उम्मेदवार लिम्बुका विरुद्ध देउवा, पौडेल, सिटौला र प्रकाशमान पक्षले चुनावी मोर्चा बनाएको छ। मोरङ सभापतिका दाबेदार कोइरालाको गृहजिल्ला हो। उनको गृह जिल्लामै संस्थापन पक्षका उम्मेदवारलाई सभापति जिताएर आगामी महाअधिवेशनमा डा शेखर कोइरालालाई कमजोर पार्ने योजना अन्य नेताहरूले बनाएको विश्लेषण हुन थालेको छ।
पहिलो चरणको निर्वाचनमा कुल ३ हजार ४ सय १४ मत खसेकोमा सभापतिका लागि ३ हजार ३ सय ६० मत परेको थियो। सभापतिमा लिम्बूले १ हजार ५ सय ४४, गच्छदारले १ हजार १ सय ६६ र विष्टले ५ सय ६३ मत पाएका थिए। जिल्लामा कुल मतदाता संख्या ३ हजार ५ सय १७ भएपनि आइतबार सम्पन्न निर्वाचनमा १ सय मत कम खसेको थियो। १ सय ४७ मत बदर भएको थियो।
मोरङमा कुल ३ हजार ५ सय ८५ जना मतदाता रहेका छन्। साँझ ५ बजे मतदान सम्पन्न हुने र मंगलबार नै मतगणना गर्ने तयारी गरिएको निर्वाचन समितिले जनाएको छ।
प्रकाशित: १४ मंसिर २०७८ ०९:१४ मंगलबार