८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेसको जिल्ला निर्वाचन स्थगित हुँदा कार्यकर्ता अन्याेल

नेपाली कांग्रेस बाँकेको कार्यालय। तस्बिरः नागरिक

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेमा हुन लागेको जिल्ला निर्वाचन स्थगित भएपछि नेता, कार्यकर्तामा अन्याेलता छाएको छ। बाँकेमा सोमबार उम्मेदवारी मनोनयन दर्ता र मंगलबार मतदान गर्ने निर्वाचन कार्यतालिका प्रकाशन भइसकेको थियो। लुम्बिनी प्रदेशको अधिवेशनसँग बाँकेको निर्वाचन जुध्ने अवस्था आएको भन्दै केन्द्रको निर्देशनमा जिल्ला निर्वाचन समितिले स्थगित गरिदियो।

यसअघि लुम्बिनी प्रदेशको अधिवेशन यही मंसिर १५ गतेदेखि सुरु हुने भनिएको थियो। प्रदेश अधिवेशनको निर्वाचन तालिका पनि फेरबदल गरेर सोमबार पछाडी धकेलिएको छ। जिल्लाको निर्वाचन अचानक स्थगित हुनु, प्रदेश र केन्द्रको निर्वाचन तालिका फेरबदल हुनुले यहाँका कांग्रेस नेता कार्यकर्ता अन्याेलमा छन्। जिल्लामा स्थगित भएको निर्वाचन प्रदेश अधिवेशनपछि हुन्छ वा केन्द्रीय महाधिवेशनपछि हुन्छ भन्नेमा टुंगो नलाग्दा कार्यकर्तामा अन्याेलता छाएको हो।

जिल्ला निर्वाचन स्थगित हुँदा चुनावको तयारी गरिरहेका उम्मेदवार पनि यतिखेर अलमलमा परेका छन्। नेपाली कांग्रेस बाँकेको जिल्ला निर्वाचनका लागि संस्थापन(देउवा) र संस्थापन इतर(कोइराला पौडेल) पक्षबीच प्रतिस्पर्धा हुने देखिएको छ। संस्थापन पक्षबाट लुम्बिनी प्रदेशका वन मन्त्री समेत रहेका कांग्रेस नेता सुरेन्द्र हमाल, पूर्वसभासद बादशाह कुर्मी, निरन्जनसिंह सिजापति, राजकुमार बर्मा र लक्ष्मीनारायण शाह आकांक्षी छन्।

संस्थापन इतर पक्षबाट भने नारायणप्रसाद गौडेलको उम्मेदवारी निश्चित भइसकेको छ। गौडेलले आफ्नो प्रचार समेत सुरु गरिसकेका छन्, भने संस्थापन पक्षले उम्मेदवारको टुंगो लगाउन सकेको छैन। निर्वाचन स्थगित हुनुलाई संस्थापन इतर पक्षले चुनावी षडयन्त्रका रुपमा ब्याख्या गरेको छ, भने संस्थापन पक्षले स्थगित हुनुलाई स्वभाविक भएको प्रतिक्रिया दिएको छ।

संस्थापन इतर पक्षका युवा नेता सुधान्सु कोइराला अचानक जिल्ला निर्वाचन स्थगित हुँदा यसले शंका, उपशंका उत्पन्न गराएको बताउँछन्। ‘धेरै कार्यकर्तामा निराशा छाएको छ, यसबाट शंका, उपशंका उत्पन्न भएको छ,’ उनले भने, ‘म स्वयं पनि उम्मेदवार भइराखेको स्थिती थियो, जिल्लाको निर्वाचनले केन्द्रलाई असर गर्न सक्ने हिसाबले स्थगित गरेको हुन सक्ने हाम्रो बुझाई छ।’ आफ्नै रफ्तारमा भइरहेको चुनावी कार्यक्रमलाई स्थगित गर्न लगाएर केन्द्रले बाँकेका कार्यकर्तालाई निराश बनाएको कोइरालाको आरोप छ।  

चुनाव स्थगित भएको विषयमा संस्थापन पक्षको भने फरक धारणा छ। संस्थापन पक्षका नेतृ एवम् महाधिवेशन प्रतिनिधि माया पुन भन्छिन्, ‘जिल्लाको निर्वाचन र प्रदेशको अधिवेशन नै जुध्ने हुँदा भएकाले प्रदेश अधिवेशनमा बाँकेका धेरै सहभागी छुट्ने अवस्था थियो, त्यसकारण चुनाव स्थगित भएर ठिकै भयो, अर्को कुरा सबै जना थाकेका थिए, अब आरामसँग चुनावमा सहभागी हुन पाउँछन्।’

उनले अगाडि भनिन्, ‘अब ढुक्कसँग बाँकेका साथीहरु प्रदेश अधिवेशनमा सहभागी हुन पाउँछन्, यो सकारात्मक पक्ष हो।’ संस्थापन पक्षभित्र धेरै आकांक्षी भएकाले व्यवस्थापन गर्न समय अभाव भइरहेको अवस्थामा चुनाव स्थगित हुँदा यसले आफूहरुलाई राहत पनि मिलेको नेतृ पुनले बताइन्।

जिल्ला निर्वाचन अधिकृत एवम् वरिष्ठ अधिवक्ता रेवती रमण भट्टराईले केन्द्रीय निर्वाचन समितिको निर्देशन अनुसार प्रदेश अधिवेशन/निर्वाचन सम्पन्न भए पश्चात केन्द्रीय निर्वाचन समितिको प्राप्त हुने निर्देशन अनुसार निर्वाचन प्रक्रिया सुरुवात गर्ने गरी बाँकेको निर्वाचन स्थगित गरिएको बताए। ‘केन्द्रबाट निर्देशन आउने वित्तिकै हामी पुनः निर्वाचनको तयारीमा जुट्छौं,’ उनले भने।

प्रकाशित: १३ मंसिर २०७८ १४:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App