coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

अब प्रधानमन्त्री बंकरसहितको भवनमा

प्रधानमन्त्री शेरबहादुर देउवा आवासका लागि बंकरसहितको अत्याधुनिक सरकारी भवनमा सर्दैछन्। उक्त भवन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार परिसरभित्र छ। दुई वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको आवास प्रयोजनका लागि उक्त भवन शिलान्यास गरेका थिए।

विशेष भवन निर्माण आयोजनाका अनुसार यही मंसिर २४ गतेभित्र आयोजनाले उक्त भवन प्रधानमन्त्रीको सचिवालयलाई हस्तान्तरण गर्नेछ। प्रधानमन्त्रीको सचिवालयले मंसिर २४ गतेसम्म भवन हस्तान्तरण गर्न निर्देशन दिएको आयोजना प्रमुख दिलिपशेखर श्रेष्ठले बताए। श्रेष्ठका अनुसार मंसिरभित्रै प्रधानमन्त्री नयाँ आवासीय भवनमा सर्नेछन्।

त्यसका लागि सबै तयारी करिबकरिब पूरा भएको उनले बताए। ‘मंसिर २४ भित्रै भवन हस्तान्तरण गर्न प्रधानमन्त्रीको सचिवालयले निर्देशन दिएको छ’,श्रेष्ठले भने, ‘निर्देशनअनुसार मंसिर २४ भित्रै भवन हस्तान्तरण गर्नेछौं।’

प्रधानमन्त्री ज्योतिषको सल्लाहअनुसार शुभ दिन छानेर नयाँ भवनमा बसाइँ सर्नेछन्। उनलाई नयाँ भवनमा सर्न मंसिर महिना उपयुक्त भएको सल्लाह ज्योतिषले दिएको स्रोतले बतायो। तीन तलाको उक्त भवनमा सबै किसिमका सुविधा छन्।

आयोजनाका अनुसार पहिलो तलामा बंकरको व्यवस्था छ। विशेष सुरक्षाको अवस्था आएमा प्रधानमन्त्री र उनको परिवार बंकरमा बस्न सक्नेगरी संरचना तयार गरिएको आयोजनाका एक कर्मचारीले बताए। ती कर्मचारी भन्छन्, ‘अन्य देशहरूमा पनि सुरक्षाका कारण राष्ट्र प्रमुख तथा सरकार प्रमुख बस्ने भवनमा बंकरको व्यवस्था गरिएको हुन्छ ।’ भवनभित्रका कतिपय संरचना गोप्य राख्नुपर्ने ती कर्मचारीले बताए।

दुई वर्षअघि विशेष भवन निर्माण आयोजनाले कन्टेक्ट प्रालि तीनकुनेसँग दुई वर्षभित्र भवन निर्माण पूरा गर्ने गरी ३३ करोड ८० लाख रूपैयाँमा सम्झौता गरेको थियो। सम्झौताअनुसार प्रालिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार परिसरमा २ वटा भवन तयार गर्नुपर्छ।

प्रधानमन्त्री र उनको परिवार बस्ने निजी भवन तयार भइसकेको छ भने अर्काे पब्लिक भवन निर्माण पूरा हुन बाँकी छ। निर्माण हुन बाँकी पब्लिक भवनमा प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठक, विदेशी पाहुनाहरूसँग भेटघाट तथा अन्य महत्वपूर्ण काम गर्न सक्ने गरी संचरना बनाइँदैछ।

२ वटा भवन साढे १३ हजार वर्गमिटर क्षेत्रफलमा छन्। प्रधानमन्त्री सर्न लागेको बंकरसहितको आवासीय भवनमा २२ वटा कोठा छन्। नयाँ भवनमा जिम हल, योग तथा पूजा कोठासमेत व्यवस्था मिलाइएको छ।

आयोजनाका अनुसार नयाँ भवनको रंगरोगन गरिएको छ। भवनभित्र फर्निचर, कार्पेट, सोफा, गलैंचा, टेलिभिजन, भान्सा सजावट, पर्दा, पलङ, टेबुल, कुर्सी, राख्ने काम भइरहेको छ। भवनबाहिर पनि सरसफाइ र सजावटको काम भइरहेको छ। यसका लागि आयोजनाले २ करोड ५० लाख रूपैयाँमा टेण्डर सम्झौता गरेको जनाएको छ।

बालुवाटारमा नयाँ भवन निर्माण गर्न आयोजनाले दुई वर्षअघि प्रधानमन्त्री बस्दै आएको पुरानो भवन भत्काएको थियो। हाल प्रधानमन्त्री मुख्यसचिवका लागि छुट्याइएको भवनमा बस्ने गरेका छन्।

प्रकाशित: १३ मंसिर २०७८ ००:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App