१६ चैत्र २०८० शुक्रबार
राजनीति

एमाले महाधिवेशन: बन्लान् ओली ‘सर्वमान्य’ ?

नेकपा एमालेको नवौँ महाधिवेशनबाट माधव कुमार नेपाललाई पराजित गरेर अध्यक्ष बनेका केपी शर्मा ओलीलाई पुनः अर्को कार्यकाल सर्वसम्मत अध्यक्ष बनाउने प्रयास एमाले बृत्तमा चल्यो। १० औँ महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष बनाएर पार्टी नेतृत्वको सिंहाशनमा पुर्याउने ओली पक्षीय नेताहरुको प्रयासलाई उपाध्यक्ष भीम रावलको निर्णयले भने चुनौती दिएको छ। १० बुँदे सहमति कार्यान्वयनको मुद्धालाई प्रमुख असन्तुष्टिको कारण देखाउँदै आएका रावल ओलीलाई किमार्थ सर्वसम्मत अध्यक्ष छोडिदिने पक्षमा देखिएका छैनन्। फलतः रावलको अडान कायमै रहन सके र ओली पुनः अध्यक्ष बन्न चाहेको खण्डमा ओलीलाई चुनावै लड्नु पर्ने अवस्था आउने छ।

यति मात्रै हैन, रावलको अध्यक्ष बन्ने अडानले एमालेको ‘सर्वमान्य’ नेता बन्ने इतिहास रच्नबाट ओली बञ्चित हुने छन्। पार्टीको सातौँ महाधिवेशन यता एमालेमा वैचारिक प्रतिष्पर्धाको संस्कृति हराएसँगै एमालेमा चुनावी प्रतिष्पर्धा हुँदै आएको छ। फलतः ओली सर्वसम्मत भएको भए एमाले भित्रका अर्का सर्वमान्य नेताको सुचीमा ओलीको नाम एमाले इतिहासमा कायम हुने सम्भावना थियो।

त्यसो त, एमालेको पुरानो कालखण्डमा चुनावी प्रतिष्पर्धाले स्थान पाउँदैनथ्यो। कम्युनिष्ट राजनीतिका जानकार डा. सुरेन्द्र केसीका अनुसार त्यो बेला कसको विचार उच्च? भन्ने बिषयले महत्व राख्थ्यो। वैचारिक प्रतिवेदन गतिलो भएकैहरु नेतृत्वमा पुग्दै आए।  

यो शिलशिला पार्टीको पाचौँ महाधिवेशनसम्म कायम थियो। ‘पाँचौ महाधिवेशनसम्म कसको विचार उच्च भनेर वैचारिक प्रतिष्पर्धा हुन्थ्यो,’ केसीले भने ‘तर छैटौँपछि भने एमालेमा वैचारिक प्रतिष्पर्धा हरायो, अजेण्डाको लडाईँ सुरु भयो।’

केसीका अनुसार २००६ सालमा स्थापना भएको तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको पहिलो महाधिवेशन २०१० सालमा भयो। यो बेला मनमोहन अधिकारीको वैचारिक दृष्टिकोणलाई उच्च मानियो। अनि उनि महामन्त्री चुनिए। २०१४ सालमा भएको दोस्रो महाधिवेशनमा दुई आकांक्षीको वैचारिक दृष्टिकोण पेश भए। एक थिए, संस्थापक पुष्पलाल अनि अर्का थिए, केशरजंग रायमाझी। डा. केसीका अनुसार विचारमा पुष्पलालले बाजी मारे, तर नेतृत्वमा रायमाझी आए। १७ सदस्यीय केन्द्रीय समिति चयन भयो। तर १७ सदस्यीय समितिका १२ जनाले पुष्पलाललाई मत दिएनन्। १२ मत सहित केशरजंग रायमाझीले पार्टीको महासचिवमा बाजी मारे। ‘१७ सदस्यीय केन्द्रीय समितिका १२ जनाले केशरजंगलाई मत दिए, अनि उनी विजयी भए,’ डा. केसी भन्छन्, ‘त्यो बेला पुष्पलालले विचारले भने जितिसकेका थिए।’

२०१९ मा भएको पार्टीको तेस्रो महाधिवेशनमा तुलसीलाल अमात्यले नेतृत्वमा बाजी मारे। यो बेला पनि कम्युनिष्टको सिद्धान्त अनुरुप वैचारिक प्रतिष्पर्धा भएको थियो।

कम्युनिष्ट पार्टीहरुको जन्मसँगै अलग रहेका अन्य कम्युनिष्ट घटकहरुको एकतापछि ०३५ मा नेकपा माले बन्यो। ०३५ अघि मदन भण्डारी, जीवराज आश्रितहरु फरक घटकको नेतृत्व लिइरहेका थिए।

अन्य कम्युनिष्ट घटकहरु मिलेर बनेको नयाँ पार्टी मालेको २०४६ मा महाधिवेशन भयो। यसलाई एमालेले आफ्नो चौथो अधिवेशन मान्ने गरेको छ। यो बेला पार्टीको महासचिवमा मदन भण्डारी चयन भए।

अर्को वर्ष २०४७ मा माले र नेकपा माक्र्सवादीबीच एकीकरण भएपछि नेकपा एमाले बन्यो। त्यसपछि एमालेको पहिलो तथा मालेको पाँचौँ महाधिवेशन २०४९ माघमा भयो। यो महाधिवेशनबाट मदन भण्डारी पुनः महासचिव बने। महासचिव बनेको ३ महिनामा उनको निधन भयो। कम्युनिष्टका जानकार दाङका सुरामणी बेलबासेका अनुसार २०५० जेठ ३ गते भण्डारीको निधन भएपछि महासचिव माधव कुमार नेपाल भए। ‘अध्यक्ष मण्डलमा रहेकाले मदन भण्डारीको निधनपछि माधव कुमार नेपाल महासचिव बन्नु भयो,’ बेलबासे भन्छन्।

०५४ मा नेपालगन्जमा भएको छैटौँ महाधिवेशनबाट भने एमाले भित्रको वैचारिक प्रतिष्पर्धाको संस्कृति हरायो। यो महाधिवेशनमा महाकाली सन्धिको अजेण्डामा प्रतिष्पर्धा भयो। महाधिवेशनको बहुमतले महासन्धिलाई अस्वीकार गर्यो। तर बामदेव गौतम, सहाना प्रधानले यसप्रति बिमति राख्दै एमालेलाई फुटाए र नेकपा माले गठन गरे। ‘छैटौँ महाधिवेशनदेखि एमाले भित्रको वैचारिक प्रतिष्पर्धाको संस्कृति हट्यो,’ कम्युनिष्ट राजनीतिका जानकार सुरेन्द्र केसी भन्छन्, ‘छैटौँ महाधिवेशनमा महाकाली सन्धिको अजेण्डा प्रतिष्पर्धाको प्रमुख बिषय बन्यो।’  बामदेव गौतमहरुको अनुपस्थिति रहेको एमालेको सातौँ महाधिवेशनले पुनः माधव कुमार नेपाललाई महासचिव बनायो। यो महाधिवेशन २०५७ मा जनकपुरमा भएको थियो।

वैचारिक प्रतिष्पर्धाबाट एजेण्डागत प्रतिष्पर्धामा प्रवेश गरेको एमालेभित्र आठौँ महाधिवेशनसम्म आइपुग्दा चुनावी प्रतिष्पर्धाको संस्कृति सुरु भयो। केसी भन्छन्, ‘कम्युनिष्ट पार्टीभित्र वैचारिक लडाई हुनुपर्ने सिद्धान्त छ, जसको नीति उसको नेतृत्व भन्ने सिद्धान्त कम्युनिष्टहरुको हो, तर चुनावबाटै नेतृत्व चयन गर्ने अवस्थामा एमाले पुग्यो, यो कम्युनिष्ट सिद्धान्त अनुकुल हैन।’

बुटवलमा भएको आठौँ महाधिवेशनबाट एमालेमा चुनावी प्रतिष्पर्धा सुरु भयो। अध्यक्षात्मक प्रणालीमा गएको एमालेमा झलनाख खनाल र वर्तमान अध्यक्ष केपी शर्मा ओली चुनावमा भिडे। चुनावी मतपरिणाम खनालको पक्षमा आयो, ओलीले अध्यक्षमा हारे।

आठौँ महाधिवेशनमा ब्यहोर्नु परेको हारको बदला लिन चाहन्थे ओली। नवौँ महाधिवेशनमा भएको चुनावी प्रतिष्पर्धामा उनले माधव कुमार नेपाललाई हराए र पहिलो पटक एमालेको नेतृत्व लिए।

पहिलो पटकको हार, दोस्रो पटक चुनावी प्रतिष्पर्धाबाट भएको जीतसँगै ओलीलाई दशौँ महाधिवेशनमा सर्वमान्य नेता बन्ने गतिलो अवसर बन्दै थियो। पुराना प्रतिष्पर्धीहरु माधव कुमार नेपाल, झलनाथ खनाल पार्टी विभाजन गरेर फरक दलमा रहेको र बामदेव गौतम तटस्थ बसेको अवस्थामा ओली एमालेभित्र एक्लो कमाण्डरका रुपमा रहे। फलतः उनका सम्भावित प्रतिष्पर्धीहरु पार्टीबाट बाहिरिएपछि ओलीलाई एमाले भित्रको सर्वमान्य नेता बन्ने लख एमाले बृत्तमा काटिएको थियो नै। तर दोस्रो तहका नेता भीम रावलसँगको टकरावले भने ओलीलाई एमालेको सर्वमान्य नेता बन्ने आशंका कायम भएको छ।

प्रकाशित: १२ मंसिर २०७८ १३:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App