coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेस महाधिवेशन: संस्थापन र इतर खेमालाई एक/एक संघीय निर्वाचन क्षेत्र

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत दुई संघीय निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा क्षेत्रीय अधिवेशनबाट संस्थापन र इतर समूहले एक÷एक क्षेत्र बाँडेका छन्।

पार्टी सभापति शेरबहादुर देउवा पक्षले संघीय निर्वाचन क्षेत्र नं. १ मा जित हात पार्दा क्षेत्र नं. २ मा बरिष्ठ नेता रामचन्द्र पौडेल खेमा विजयी भयो। आइतबार विहान सार्वजनिक मतपरिणाम अनुसार क्षेत्र नं. १ मा बालकृष्ण बस्नेत र क्षेत्र नं.२ मा आइतमान तामाङको प्यानल विजयी भयो।

बस्नेतले संस्थापनइतर पक्षका उम्मेदवार तीर्थ लामालाई पराजित गरे भने तामाङले संस्थापननिकट कृष्णकुमार तामाङलाई हराए। बस्नेत संस्थापन र तामाङले संस्थापनइतर पक्षको प्रतिनिधित्व गर्छन्। बस्नेत र तामाङ साविक निर्वाचन क्षेत्रको सभापतिसमेत हुन्। क्षेत्र नं. १ मा संस्थापनइतर पक्ष ‘क्लिन स्वीप’ हुँदा क्षेत्र नं. २ मा संस्थापनको उपस्थिति शून्य भयो।

जिल्लाका १२ स्थानीय तह र चार प्रदेश क्षेत्र निर्वाचनमा निकै कमजोर देखिएको संस्थापनइतर पक्षले एक संघीय निर्वाचन क्षेत्र जितेर जिल्ला पार्टी संगठनमा आफ्नो उपस्थिति जनायो। यसअघि भएको पालिका अधिवेशनमा संस्थापन पक्षले नौवटामा बाजी मार्दा इतर खेमाले तीनमा चित्त बुझाउनु परेको थियो। चार प्रदेश निर्वाचन क्षेत्र भने संस्थापनले क्लिन स्वीप नै गर्यो।

दुबै संघीय निर्वाचन क्षेत्रमा संस्थापन र इतर पक्ष प्यानलै बनाएर चुनावी मैदानमा होमिएको थियो। बस्नेत सभापतिमा बिजयी प्यानलबाट सचिवमा कृष्णप्रसाद आचार्य, सञ्चवीर तामाङ तथा सहसचिवमा अजय तामाङ र सुजन पौडेल निर्वाचित भएका छन्। त्यस्तै निमा शेर्पा, रामशरण बस्नेत, नेत्रबहादुर सापकोटा, पदमलाल श्रेष्ठ, रामशरण भण्डारी, स्वस्थानी कार्की, हिराबहादर भण्डारी, देवदोर्जे तामाङ र मानकाजी गुरुङ सदस्यमा निर्वाचित भए।

सभापतिमा निर्वाचित तामाङ समूहबाट सचिवमा केशब श्रेष्ठ, विष्णु घोरासैनी तथा सहसचिवमा प्रेमसिंह तामाङ र दीपकुमार तामाङ बिजयी भए। तामाङ प्यानलबाटै सदस्यमा सुशीला लामिछाने, शम्भुप्रसाद कोइराला, साइला तामाङ, तामा माझी लगायत निर्वाचित भएका छन्। जिल्ला अधिवेशन भने मंगलबार र बुधबार मेलम्चीमा हुने कांग्रेस सभापति विकास लामाले जानकारी दिए।

प्रकाशित: १२ मंसिर २०७८ ११:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App