५ वैशाख २०८१ बुधबार
राजनीति

माओवादी केन्द्र धरानको सम्मेलनमा विवादः बन्दसत्र अनिश्चितकालका लागि स्थगित

माओवादी केन्द्र धरानको बन्दसत्र। तस्बिरः नागरिक

नेकपा (माओवादी केन्द्र) धरान उपमहानगर कमिटीको दोस्रो नगर सम्मेलनको क्रममा बन्द सत्रमा विवाद भएपछि अनिश्चितकालसम्मको लागि स्थगित भएको छ।

उम्मेदवारी मनोनयनको क्रममा विवादसँगै सामान्य तोडफोड भएपछि आइतबार राती करिब साढे १० बजे बन्दसत्र स्थगित भएको हो। बन्दसत्र अर्को सूचना नभएसम्मको लागि स्थगित गरिएको छ। धरान १५ स्थित होटल इजी राइडरमा दिउँसो नगर सम्मेलनको उद्घाटन भएको थियो। बन्दसत्रको क्रममा उम्मेदवारी मनोनयन हुँदा विवाद र सामान्य तोडफोड पनि भएको छ। होटलको साउण्ड सिस्टममा सामान्य क्षति पुगेको बताइएको छ। युवाहरुले मदिरा पिएर होहल्ला समेत गरेका थिए।

उपमहानगर कमिटीको ८१ जना सदस्यहरु छनौटको लागि राती मनोनयन दर्ता भएको थियो। मनोनयन दर्ता भइसके पछि तत्काल निर्वाचन गर्ने कि सहमतिबाट टुंगो लगाउने भन्ने बिषयमा विवाद सुरु भएको एक सहभागी प्रतिनिधिले जानकारी दिए। ‘मनोनयन दर्ता भइसकेको कारण ८१ जना सदस्यहरुको निर्वाचन प्रक्रिया सकिहालौ भन्ने माग थियो, त्यही बिषयले विवाद भएको हो,’ती प्रतिनिधिले भने।

यता, नेताहरु भने सामान्य विवाद भएको र राती अबेर भइसकेको कारण बन्दसत्र स्थगित गर्नुपरेको बताउँछन्। माओवादी केन्द्र धरानका अध्यक्ष सुदर्शन श्रेष्ठले भने केही साथीहरुले बल देखाउन खोजेको र राती अबेर पनि भएकोले अर्काे सूचना नभएसम्मको लागि बन्दसत्र स्थगित गरिएको बताए। उनले भने,‘केही साथीहरुले बल देखाउन खोजे। बबाल गर्नुभन्दा अलिक दिनलाई बन्दसत्र स्थगित गरएको हो। तोडफोड भएको छैन।’

अध्यक्ष श्रेष्ठका अनुसार नेतृत्व चयनको लागि कसैले निर्वाचन नगरौ भन्ने, कसैले अहिल्यै गरौ भन्ने बिषयमा विवाद भएको उनको भनाइ छ। ‘अहिले निर्वाचन प्रणालीबाट नगरौ भन्ने, कसैले आजै सक्नुपर्छ भन्ने भयो,’ उनले भने। माओवादी केन्द्रका अर्का नेता अशोक राईले पनि राती ढिला भएको र विवाद पनि उत्पन्न भएपछि बन्दसत्र स्थगित गरिएको बताए। उनले भने,‘सामान्य ठेलमठेल भएको थियो। राती १० बजिहाल्यो, त्यसैले पनि स्थगित गरिएको हो।’

सम्मेलनको बन्दसत्रमा ८१ जना कार्यसमिति सदस्यको लागि मनोनयन दर्ता भएको थियो। बन्दसत्रबाट माओवादी केन्द्रको ८१ सदस्यीय उपमहानगर कमिटी चयन हुनेछ। पहिलो चरणमा सबै प्रतिनिधिहरुबाट ८१ जना मात्र कार्यसमिति सदस्य छानिनेछन्। त्यसमा ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित र ५ प्रतिशत अनिवार्य मुश्लिम हुनुपर्नेछ। छानिएका ८१ जना कार्यसमिति सदस्यहरु भित्रबाट अध्यक्षसहित ७ पदाधिकारीहरु छानिनेछन्। सम्मेलनमा ४१० जना प्रतिनिधिहरु छन्।

प्रकाशित: १२ मंसिर २०७८ ०९:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App