७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेपाली कांग्रेस मोरङको निर्वाचन सुरू

नेपाली कांग्रेस मोरङ जिल्ला समितिको निर्वाचन सुरू भएको छ। विराटनगर स्थित होटल मनाशलु परिसरमा आइतबार विहान ९ देखि जिल्ला कार्य समितिको पदाधिकारी र सदस्य चयनका लागि मतदान सुरू भएको हो।

नेपाली कांग्रेस मोरङको सभापतिका लागि डिगबहादुर लिम्बु, यदुकुमार विष्ट र दिलीप गच्छदार चुनावी प्रतिश्पर्धामा उत्रिएका छन्। जसमा लिम्बु र विष्ट कोइराला पक्षका छन् भने गच्छदार देउवा खेमाका हुन्। यस्तै उपसभापतिका लागि नागेश कोइराला, भक्ति माझी, गोपालबहादुर थापा, राजु मास्के र सुवोधकुमार सिंह चुनावी मैदानमा छन्। सचिवमा अर्जुन निरौला, मनोज बस्नेत, मोदराज घिमिरे, रविन राई, ललितबहादुर श्रेष्ठ, शिवप्रसाद ढकाल र ज्ञानेन्द्र ढकाल प्रतिश्पर्धा गर्दैछन्। 

सहसचिवमा संजयकुमार मण्डल, भुवनेश्वर मण्डल अशोक रिजाल, विशाल गौतम, सुभाष भण्डारी र थिरप्रसाद फँयाल प्रतिश्पर्धा गर्दै छन्। निर्वाचन आयोगका अनुसार मोरङमा ७ जना पदाधिकारी र ७८ जना सदस्यको लागि निर्वाचन हुँदैछ। जसमा ४७ जना सदस्य पालिकाबाट र ३१ जना खुला तथा  समावेशी कोटाबाट निर्वाचित हुँदैछन्। मोरङमा कुल ३ हजार ५ सय ८५ जना मतदाता रहेका छन्।  

जिल्ला कार्यसमितिको निर्वाचन स्थल तुल, व्यानरले झकिझकाउ पारिएको छ। उम्मेदवारहरूका फोटोसहितको व्यानर ओढेर नेता, कार्यकर्ता भोट माग्न तल्लीन देखिएका छन्। कार्यकर्ताको डडाल्नोदेखि, गाडी, मोटरसाईकल, पानीका बोतल, बिजुलीका पोल, सडक आसपासका भित्ताहरूमा उम्मेदवारका पर्चा, पम्पलेट, तुल र व्यानर टाँगिएका छन्। उम्मेदवारहरूले बाजा बजाउनेहरू मार्फत पनि आफ्नो प्रचार तीव्र पारेका छन्।

बाजा बजाउनेहरूलेसमेत उम्मेदवारका व्यानर बोकेको देखिन्छ। साँघुरो होटलमा निर्वाचन गरिएका कारण विराटनगर-धरान ६ लेन सडक अस्तव्यस्त बनेको छ। सडकमा भोट माग्ने, भोट दिन आउने, निर्वाचन हेर्ने आउनेहरूको घुइँचो बढेको छ। यस्तै उनीहरूले प्रयोग गरेका सवारी सधनसमेत सडक किनारामै पार्किङ गरिएको र मानिसको ठूलो भीड सडकमा जताततै छरिएर सडक वारपार गरिरहेका कारण ६ लेन सडकको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ। मतदान स्थलको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।

प्रकाशित: १२ मंसिर २०७८ ०९:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App