coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

झापाका १७ जना केन्द्रीय कमिटीका आकाङ्क्षी, निर्वाचन नै हुने सम्भावना

झापा जिल्लाको राजनीतिक भूगोलमा सक्रिय नेकपा (एमाले)का शीर्षस्थदेखि जिल्ला नेता चितवनमा जारी पार्टीको १०औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारी तथा सदस्य पदमा उम्मेद्वार बन्ने भएका छन्। झापा निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएर मुलुकको प्रधानमन्त्री भइसकेका पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली पुनः एक कार्यकाल अध्यक्ष बन्नका लागि उम्मेद्वार बन्ने भएको छ।पार्टीको प्रदेश नं १ कमिटीका अध्यक्ष देबराज घिमिरेले जारी महाधिवेशनमा उपाध्यक्ष पदका लागि उम्मेद्वारी दिने घोषणा गरिसकेका छन्। उनी यसअघि पार्टीको तर्फबाट राष्ट्रियसभा सदस्य पदमा निर्वाचित भइसकेका छन्।

यसैगरी पार्टीको नवौँ महाधिवेशनबाट केन्द्रीय सदस्य चयन भएका अग्नि खरेल, देवेन्द्र दाहाल, रबिन कोइराला, हिक्मत कार्की, हरि राजवंशी र जितु गौतम १०औँ महाधिवेशनमा समेत केन्द्रीय सदस्य पदको आकाङ्क्षी रहेका छन्। नेता खरेल पूर्वकानुनमन्त्री, दाहाल राष्ट्रियसभा सदस्य, कोइराला संविधानसभा सदस्य, कार्की प्रदेश नं १ का पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री, राजवंशी सांसद र गौतम संविधानसभा सदस्य हुन्।

प्रदेश नं १ की पूर्व सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर, जिल्ला कमिटी अध्यक्ष चिन्तन पाठक, प्रदेश सांसद एकराज कार्की, प्रदेश सांसद वसन्त बानियाँ र संविधानसभा सदस्य दीपक कार्कीले पनि केन्द्रीय सदस्य पदका लागि उम्मेद्वारी घोषणा गरिसकेका छन्। कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्ले, दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ र नेकपा (माओवादी केन्द्र) परित्याग गरेर एमालेमा सक्रिय नेता दुर्गा प्रसाईँले केन्द्रीय सदस्यका लागि उम्मेद्वार बन्ने आकाङ्क्षा राखेका छन्।

सहमतिबाट केन्द्रीय पदाधिकारी चयन गर्न प्रयास भइरहे तापनि केन्द्रीय सदस्य पदका आकाङ्क्षी धेरै भएकाले निर्वाचन नै हुने सम्भावना भएको आकाङ्क्षीहरू नै बताउँछन्। रासस

प्रकाशित: ११ मंसिर २०७८ १४:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App