८ वैशाख २०८१ शनिबार
राजनीति

माओवादीको पालिका सम्मेलन सम्पन्न, आइतबारसम्म नेतृत्व चयन भइसक्ने

नेकपा (माओवादी केन्द्र)को पालिकास्तरीय अधिवेशन देशैभर सम्पन्न भएका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज श्रव्यदृश्यका माध्यमबाट एकैपटक देशैभरका पालिकाको अधिवेशनको उद्घाटन गरे।

अधिकांश स्थानमा उद्घाटनसत्र सम्पन्न गरेर नेतृत्व चयनको प्रक्रिया चलिरहेको माओवादीका केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए। उनका अनुसार धेरैजसो जिल्लाका पालिकामा सर्वसम्मत तरिकाले नेतृत्व चयन भएको छ भने केहीमा स्वस्थ प्रतिस्पर्धाबाट पनि निर्वाचित भएका छन्। आइतबारसम्ममा सबै पालिकाको नेतृत्व चयन भइसक्ने उनले जानकारी दिए।

उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुरका स्थानीय तहमा पनि उद्घाटनसत्र सम्पन्न भई नेतृत्व चयनको प्रक्रिया चलिरहेको छ। माओवादीले पालिकास्तरीय सम्मेलनमा नेता, कार्यकर्ता र नागरिकको सक्रिय सहभागिताले आफूहरूलाई उत्साहित बनाएको बताएका छन्। शनिबार दिनभर ललितपुरका विभिन्न पालिकाहरूको अधिवेशनमा सक्रिय रहेका माओवादी नेत्री पम्फा भुसालले सम्मेलनले पार्टीमा नयाँ उभार पैदा भएको प्रतिक्रिया दिइन्।

पार्टीलाई साङ्गठनिकरूपमा स्पष्ट बनाउने र विधिमा सञ्चालन गर्ने उद्देश्यका साथ माओेवादीले यसपटक केन्द्रीय, प्रदेश र स्थानीय तहसम्म निर्वाचन समिति नै गठन गरेर नयाँ नेतृत्व चयन गर्ने व्यवस्था गरेको हो। उद्घाटनसत्रमा माओवादी अध्यक्ष प्रचण्डले जनताले भरोसा गर्ने क्रान्तिकारी पार्टी निर्माण गरिछाड्ने दृढता व्यक्त गरेका थिए।

उनले विचार, सङ्गठन र कार्यशैलीमा समेत जनपक्षीय पार्टी बनाउने बताए। माओवादीले ७५३ वटा स्थानीय तहका अलावा सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कूल ७७६ वटा पालिकास्तरीय सम्मेलनको आयोजना गरेको हो। आज सम्पन्न भएका सम्मेलनले प्रदेश सम्मेलनका लागि प्रतिनिधिसमेत चयन गरेको छ। यही मङ्सिर २५ गतेका लागि प्रदेश सम्मेलनको आयोजना गरिएको छ। आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन तय गरिएको छ।

प्रकाशित: ११ मंसिर २०७८ १४:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App