१६ चैत्र २०८० शुक्रबार
राजनीति

प्रधानमन्त्रीलाई बार अध्यक्षको आग्रहः संवैधानिक दायित्व निर्वाह गर्नुस्, पन्छिने काम नगर्नुस्

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायालयमा देखिएको समस्याबाट नपन्छिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन्।

बिहीबार नेपाल बार एसोसिएसनको नेतृत्वमा विभिन्न संघसंस्थाहरुले गरेको ‘बालुवाटार न्याय मार्च’ लाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवा न्यायालयमा देखिएको समस्याबाट पन्छिन नमिल्ने बताए। उनले प्रधानमन्त्री देउवालाई संवैधानिक दायित्व निर्वाह गर्न पनि आग्रह गरे। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई संरक्षण गर्न खोजिए जनतामाथि अन्याय हुने भन्दै उनले संवैधानिक सर्वोच्चता कायम राख्नका लागि कदम चाल्न माग गरे।

उनले भने,‘प्रधानमन्त्री शेरबहादुर देउवालाई हामी अनुरोध गर्न चाहान्छौँ, तपाईँले संवैधानिक दायित्व निर्वाह गर्नुस्। तपाईँ पन्छिने काम नगर्नुस्। तपाईँले हिजोको दिनमा संरक्षण गर्न खोज्नुभएको हो भने यो जनतामाथिको अन्याय हुन्छ। जनतामाथिको अन्याय टुलुटुलु हेरेर बस्ने नेपाल सरकारको काम होइन। व्यवस्थापिकाको काम होइन। यो काम नहोस्। संविधान अनुसारको संवैधानिक सर्वोच्चता कायम राख्नको लागि कदम चालियोस्।’

त्यस्तै वरिष्ठ अधिवक्ता पुर्णमान शाक्यले प्रधानन्यायाधीश जबराले न्याय सम्पादन गर्ने अवस्थाको समाप्ती भइसकेको बताए। आफूहरु स्वार्थको लागि लडाइँ नलडेको भन्दै उनले जनतालाई स्वतन्त्र र निर्भिक रुपमा न्याय प्राप्त गराउने उद्देश्यले आन्दोलनमा उत्रिएको उनले बताए।

न्यायपालिकाको विकृति, विसंगति, भ्रष्टाचारविरुद्ध भनी निरन्तर आन्दोलन गरीरहेको नेपाल बार एसोसिएसनको नेतृत्वमा बिहीबार सर्वोच्च अदालत परिसरदेखि बालुवाटारसम्म ‘बालुवाटार न्याय मार्च’ गरिएको हो। न्याय मार्चमा नेपाल पत्रकार महासंघ, बृहत नागरिक आन्दोलन, नेपाल शिक्षक महासंघ, आदिवासी, जनजाति महासंघ, नेपाल इञ्जिनियर्स एसोसिएसन लगायतको सहभागिता रहेको थियो।

मार्चपासमा न्यायालय कि अन्यायालय, संसद खोल चोलेन्द्रलाई महाअभियोग लगाउ, न्याय किनबेच बन्द गर, के संसदको काम सुतिरहने हो, निःशुल्क न्या जनताको अधिकार न्यायालय चाहान्छ लेखिएको प्लेकार्ड प्रदर्शन गरिएको थियो। मार्चपासमा स्वतन्त्र न्यायपालिका कायम गर, विधिको शासन कायम गर, सम्पूर्ण पेशाकर्मी एक हौँ, भ्रष्ट प्रधानन्यायाधीश राजीनामा दे भनि नाराबाजी समेत गरिएको थियो।

त्यसैगरी न्यायालयमा विकृति, विसंगति भएको विषयलाई समेट्दै संक्षिप्त चेतनामुलक सडक नाटक पनि प्रस्तुत गरिएको थियो।

प्रकाशित: ९ मंसिर २०७८ १३:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App