१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सूर्यमा ग्रहण लागिसक्यो,अब कलम चम्किन्छः नेपाल

मञ्चमा पुगेका जनतासँग भलाकुसारी गर्दै नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल। तस्बिरः नागरिक

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेको चुनाव चिह्न सूर्यमा ग्रहण लागिसकेको टिप्पणी गरेका छन्। ‘सूर्यको धाक नदेखाए हुन्छ, सूर्यमा ग्रहण लागिसकेको छ,’ उनको टिप्पणी थियो। ‘सूर्य होइन अब कलम चम्किरहेको छ,’जनकपुरमा बुधबार नेपालले भने, ‘एमाले अध्यक्ष केपी शर्मा ओलीका कारण सूर्यमा ग्रहण लागेको हो।

अहिले ओली अतिएका छन्,’ उनले भने, ‘नेकपा एसमा किसान,मजदुुरलगायत हरेक वर्गका जनताको आकर्षण देखेर ओली आत्तिएका छन्। ओलीलाई छटपटाहट भइरहेको छ। आगामी चुनावसम्म उनको हालत विचराजस्तो हुन्छ।’ केपी ओली चोइटिएर एक्लो भएको उनको टिप्पणी थियो।

‘राजनीतिमा पत्तासाफ हुन थालेपछि ओली छट्पटिएर अन्टसन्ट बोल्न थालेका छन्,’ नेपालले भने,‘चोइटिएका ओली अहिले गालीगलौजमा उत्रेका छन्। हामी कुनै प्रतिकार गर्दैनौँ। चुनावपछि विचरा भन्ने अवस्था आउने छ।’ उनले ओलीलाई दक्षिणपन्थीको संज्ञा दिँदै भने, ‘नेकपा(एस) दक्षिणपन्थी भाषामा भासिँदैन।’ उनले एकीकृत समाजवादी पार्टी एमालेभन्दा शक्तिशाली बनिसकेको दाबी गरे।

नेपालले सात प्रदेशमध्ये दुईवटा प्रदेशमा आफ्नो पार्टीको सरकार रहेको बताए। प्रदेश२ मा पनि एमालेभन्दा आफ्नो पार्टी ठूलो रहेको उनले बताए। केपी ओलीको हठका कारण एमालेको यो दशा भएको टिप्पणी गरे।

नेपालले जनता र देशलाई भुलेर गलत बाटोमा लागेपछि नेकपा एमालेलाई त्याग्नुपरेको बताए। नेपालले भने, ‘नेकपा एमाले विदेशीको दलालीमा लाग्यो। त्यसैले पुरानो घर त्यानुपरेको हो।’ अहिले सत्य र न्यायका लागि नयाँ पार्टी गठन गरी अगाडि बढेको बताउँदै उनले भने, ‘न्याय र सत्यको जित अवश्य हुनेछ।’ 

उनले हिन्दी भाषामा ओलीप्रति कटाक्ष गरे, ‘जो हमसे टकराएगा चुरचुर हो जाएगा।’ उनले आफूहरू प्रजातन्त्र, लोकतन्त्र, जनताको अधिकार र सम्मान तथा सत्य मर्यादाको पक्षमा उभिएको बताए।

नेपालले एकीकृत समाजावदीले जहिल्यै जनताको सुःख दुःखमा साथ दिने प्रतिबद्धता जनाए। कृषि क्षेत्रमा क्रान्ति र रोजगारी सिर्जना गरी सबैको जीवन राम्रो बनाउन आफूहरू लागि परेको उनको भनाइ थियो। कलम सत्यको पक्षमा उभिन्छ भन्दै चुनाव चिन्ह कलम लिएर जनतामाझ आएको उनको भनाइ थियो।

नेपालले पूर्वमन्त्री रामचन्द्र झालाई औपचारिक रूपमा नेकपा एसमा प्रवेश गराएका छन्। नेपालले झालाई अबिर लगाएर पार्टीमा भित्र्याएका हुन्। लामो समय नेकपा एमालेका नेता झा माओवादीमा प्रवेश गरेका थिए। डा. बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी गठन गरेपछि झा सोही पार्टीमा प्रवेश गरेका थिए।

नयाँ शक्ति पार्टी उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीमा समाहित भएपछि झा पुनः माओवादीमा फर्केका थिए। अहिले माओवादीलाई छाडेर उनी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन्। औपचारिक प्रवेशअघि नै झालाई नेकपा एसले सचिवालय समितिमा मनोनित गरिसकेको थियो। बुधबार नै नेपाल लहानको गोपाल सेवा सदनमा अगुवा कार्यकर्ता भेला एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गरेका थिए।

प्रकाशित: ९ मंसिर २०७८ ०१:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App