coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सुनसरी क्षेत्र १ मा मनोनयन अघि उम्मेदवार ब्याक, देउवा समूहलाई तनाव

सुनसरी क्षेत्र नं १ को सभापतिमा उम्मेदवारी मनोनयन गरेपछि देउवा समूहकी उम्मेदवार लक्ष्मी खतिवडा(दाँया) र इतर समुहका सुजेन्द्र तामाङ। तस्बिर: रोहित राई

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत गएको नगर अधिवेशनमा धरानका मेयर एवं तत्कालिन सभापति तिलक राईले संस्थापन इतर पौडेल कोइराला समूहका उम्मेदवारलाई सघाएका थिए। सोही समूहबाट विगतमा धरान सभापति भएका राईनगर अधिवेशन पछि भने संस्थापन देउवा समूहतिर लागे।

केन्द्रीय नेताहरुको सम्पर्कमा पुगेका मेयर राई देउवा समूहमा आउने भएपछि उनलाई सुनसरी क्षेत्र नं १ कार्यसमितिको सभापतिको उम्मेदवार बनाएर वडा वडामा मत माग्ने अभियान समेत भयो। तर, सभापतिका उम्मेदवारकोरुपमा प्रचार गरिएका राईले आज उम्मेदवारी मनोनयनको अघिल्लो रात संस्थापन पक्षलाई झट्का लाग्ने गरि एउटा निर्णय सुनाए। देउवा समूहका नेताहरुका अनुसार राईले आफू सभापतिमा उम्मेदवार नहुने भनेपछि नयाँ उम्मेद्वारको खोजी गर्नुपर्ने बाध्यता आइलाग्यो। उक्त समूहले सोमबार बिहानसम्म नेतृ लक्ष्मी खतिवडालाई सभापतिको उम्मेदवार बनाउने घोषणा गर्यो।

प्रदेशसभा सुनसरी १(१) र १(२) को मतपरिणाम देउवा समुहको प्रतिकुल आएपछि उक्त समूहका क्षेत्रीय सभापति राई पछि हटेका हुन्। प्रदेशसभा १(१) र १(२) दुवै कार्यसमितिको निर्वाचनमा पौडेल कोइराला समूहका उम्मेदवार प्यानलै जितेका थिए। प्रदेशसभा १(१) मा संस्थापन इतर पौडेल कोइराला समूहका सभापति उम्मेदवार अनिल श्रेष्ठले २६८ मत ल्याएर विजयी हुँदा देउवा समूहका उम्मेदवार मदन ढकालले मात्र ९६ मत पाएका थिए। यस्तै, प्रदेशसभा १(२) मा संस्थापन इतरका उम्मेदवार मुरारी भट्टराईले १३९ मत पाएर विजयी हुँदा देउवा समूहका उम्मेदवार अजय राईले १०८ मात्र मात्र पाए। प्रदेशसभा क्षेत्रको यही चुनावी परिणाम आँकलन गर्दै क्षेत्रीय सभापतिका उम्मेदवार राई पछि हटेका हुन्।  

सुनसरी क्षेत्र नं १ मा संस्थापन इतर समूहबाट भने सुजेन्द्र गोले तामाङको नेतृत्वमा प्यानल उम्मेदवारी दर्ता भएको छ। देउवा समूहबाट सभापतिमा उम्मेदवारकोरुपमा अघि सारेका मेयर राई ब्याक भएपछि यो समुहमा उत्साह पनि छाएको छ।आफ्नो उम्मेदवारले मैदान छोडेपछि अन्तिम समयमा देउवा समुहले महिला नेतृ खतिवडालाई अघि सार्दै मनोनयन दर्ता गराएको छ। उक्त समूहका नेताहरु मेयर राईले धोका दिएको भन्दै रुष्ट छन्। 

देउवा समुहका नेता एवं पुर्वप्रदेश प्रमुख गोविन्द सुब्बाले प्रदेशसभाको परिणाम हेरिसकेपछि यो समूहबाट सभापति नउठ्ने भनेपछि नयाँ उम्मेदवार तयार गर्नुपरेको बताए। ‘तिलक राई हाम्रो समूहबाट सभापतिको उम्मेदवार हो भनेर व्यापक प्रचारप्रसार गरिरहेका थियौँ, तर प्रदेशसभाको परिणाम आएपछि हिजो बेलुका मात्र यो समूहमा नबस्ने भन्नुभयो। त्यसैले महासमिति सदस्य, महिला विभाग सचिव लक्ष्मी खतिवडालाई सभापतिको उम्मेदवार बनाएका छौं,’ उनले भने।  

प्रदेशसभा क्षेत्रको मतपरिणामले सुनसरी क्षेत्र १ को कार्यसमिति चुनावमा पनि देउवा समूहको कमजोर उपस्थिति हुने आँकलन पछि पौडेल कोइराला समुहका नेताहरु राईलाई ब्याक गराउन लागेका थिए। आइतबार दिनभरको प्रयासपछि उक्त समूहले देउवा समूहबाट उम्मेदवार बनेका राईलाई पछि हट्न सहमतिमा ल्याएका थिए। 

उनलाई महाधिवेशन प्रतिनिधिमा संस्थापन इतर समूहले उम्मेदवारी दर्ता गराएको छ। मेयर राई आफ्ना साथीभाईसँगको सल्लाह पछि देउवा समूहबाट उम्मेदवार नबन्ने निर्णयमा पुगेको बताउँछन्। उनले नगर अधिवेशन र प्रदेशसभा निर्वाचनबाट आएको कार्यसमिति आफ्नै टिम भएको प्रतिक्रिया दिदै सबैले चुनाव नलड्न सुझाव दिएपछि उम्मेदवारी नदिने निर्णयमा पुगेको बताए।

प्रकाशित: ६ मंसिर २०७८ ११:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App