८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेसमा देउवा–निधि सम्बन्धः सहयात्रा अब प्रतिस्पर्धातिर

शेरबहादुर देउवाको उत्तराधिकारीका रूपमा २०३६ सालमा नेपाली कांग्रेसका वर्तमान उपसभापति विमलेन्द्र निधि नेपाल विद्यार्थी संघको अध्यक्ष बनेका थिए। गृहनगर जनकपुरमा भएको संघको महाधिवेशनबाट अध्यक्षको जिम्मेवारीमा पुगेका निधि ४२ वर्षपछि माउ पार्टी कांग्रेसमा पनि देउवाको उत्तराधिकारी बन्न चाहन्थे।

पार्टीको १४औं महाधिवेशनमा आफूलाई सभापतिमा सहयोग गर्न सभापति देउवालाई निधिले पटकपटक आग्रह गर्दै आएका छन्। तर मंसिर २४ देखि काठमाडौंमा तोकिएको १४औं महाधिवेशनबाट देउवाले फेरि सभापतिमा दोहोरिने बताएका छन्। दुवैले सभापतिको प्रत्यासी बन्ने तयारी तीव्र बनाएसँगै देउवा र निधिको लामो सहयात्रा अब प्रतिस्पर्धामा बदलिन लागेको छ।

कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालासँगको अन्तरसंघर्षदेखि १३औं महाधिवेशनबाट देउवालाई सभापतिमा निर्वाचित गराउन निधिको भूमिका महत्वपूर्ण रहेको थियो। फरक पार्टी गठन गर्न होस् वा तत्कालीन नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिकबीच एकीकरणपछिको गुटगत प्रतिस्पर्धामा, देउवाका सारथि हुन् निधि।

झन्डै तीन दशक लामो गुटगत सहकार्य तोड्दै देउवा र निधिले अहिले अलगअलग बाटो रोजेका छन्। त्यतिमात्र होइन, पार्टीको १४औं महाधिवेशनमा सभापति पदमा प्रतिस्पर्धाको तयारीमा जुटेका छन् दुवैजना।

एकअर्काको सहयोगबिना पार्टी सभापति हुन र टिकिराख्न कठिन हुने दुवै नेताले राम्रोसँग बुझेका छन्। पछिल्ला भेटमा दुवै नेताले एकआपसमा सहयोग माग्न छाडेका छैनन्। पछिल्लो डेढ वर्षमा भएका पटकपटकका भेटमा देउवाले १४औं महाधिवेशनमा आफूलाई सभापतिमा सहयोग गर्न र १५औं महाधिवेशनबाट पार्टी नेतृत्व लिनेगरी तयारी गर्न निधिलाई आग्रह गरेका छन्।

तर निधि १३औं महाधिवेशनमा भएको समझदारी र आफ्नो उमेरका कारण पनि आफू १५औं महाधिवेशनमा सभापतिमा ‘सुट’ नहुने भन्दै यही महाधिवेशनमा उम्मेदवार बन्ने अडानमा छन्।

यसैकारण अहिले देउवा–निधि सम्बन्ध औपचारिकतामा मात्र सीमित बनेको छ। औपचारिक बैठक र छलफलबाहेक गुटगत भेलामा सभापति देउवाले निधिलाई बोलाउन छाडेका छन्। बोलाए पनि निधि सहभागी हुन छाडेका छन्।

जबकि देउवा सभापतिमा निर्वाचित भएपछिको केही समय गुटगत बैठक निधिले नै बोलाउँथे। तर सोमबार १४औं महाधिवेशनको रणनीति बनाउन देउवाले आफ्नो निवास बुढानीलकण्ठमा बोलाएको गुट भेलामा निधि सहभागी भएनन्।

देउवा खेमाबाट अलग्गिएका निधि आफ्नै टिम बनाएर सभापतिको प्रतिस्पर्धामा जुटेका छन्। सुरुमा सभापतिको प्रत्यासी बन्ने निधिको प्रस्तावलाई देउवा र उनी निकट नेताहरूले पद बार्गेनिङका रूपमा हेरेको बताउँदै एक नेताले भने,‘दुई नेतालाई एकै ठाउँमा उभ्याउन सकिन्छ कि भन्ने प्रयास त भइरहेको छ तर उहाँहरू(शेरबहादुर देउवा र विमलेन्द्र निधि)निकै अघि बढिसक्नुभएको देखिन्छ।’

कुनै बाध्यात्मक परिस्थिति सिर्जना गर्नसकेबाहेक १४औं महाधिवेशनमा देउवा र निधिले एकअर्कालाई सहयोग गर्ने सम्भावना टरेको दाबी गर्दै देउवा निकट एक नेताले भने,‘राजनीतिमा सम्भावना नै छैन भन्ने त होइन तर अहिलेचाहिँ सँगै अघि बढ्ने कुनै सकारात्मक संकेत छैन।’

देउवाले सोमबार आफू निकटहरूको भेला राखेर निधिबाहेक प्रदेशदेखि केन्द्रसम्मको टिम बनाउन विभिन्न नेतालाई जिम्मेवारी दिएका छन्। निधि पनि देउवासँग असन्तुष्टलाई समेटेर नयाँ टिम निर्माणमा जुटेका छन्।

पार्टीका संस्थापक नेता बिपी कोइरालाको प्रस्तावमै नेपाल विद्यार्थी संघको जिम्मेवारीमा देउवा र निधि पुगेका थिए। २०४६ सालको राजनीतिक परिवर्तनपछि देउवा तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइराला र निधि तत्कालीन सभापति कृष्णप्रसाद भट्टराई निकट थिए।

संसदीय निर्वाचनपछि २०४८ सालमा गठन भएको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले संसद्मा पेस गरेको धन्यवाद प्रस्तावविरुद्ध पार्टीका ३६ सांसदले असहयोग गरेका थिए। त्यससँगै कांग्रेसभित्र उत्पन्न विवादमा देउवा कोइरालाको पक्षमा र निधिसहितका नेताहरू विपक्षमा उभिएका थिए। तर कांग्रेसको पोखरा महाधिवेशनमा देउवा गिरिजाप्रसादविरुद्ध सभापतिमा उम्मेदवार बनेका थिए।

त्यससँगै एउटै गुटमा बसेर देउवा र निधिले सहकार्य गर्दै आएका थिए। माओवादीविरुद्ध संकटकाल लगाउने नलगाउने विषयमा विवाद हुँदा देउवाले २०५९ जेठ ८ गते प्रतिनिधिसभा विघटन गर्दै पार्टी विभाजन गर्दा उनलाई निधिका साथै प्रकाशमान सिंह, मीनेन्द्र रिजालसहितका नेताले साथ दिएका थिए ।

देउवासँग दूरी बढ्दै जाँदा सिंह र रिजालसहितका नेताहरूले यसअघि नै उनको साथ छाडेका थिए। दुई पार्टी एकीकरणसँगै १२औं र १३औं महाधिवेशनमा देउवा सभापतिको प्रत्यासी बन्दा निधि मुख्य सहयोगीका रूपमा देखिएका थिए।

१३औं महाधिवेशनबाट सभापतिमा निर्वाचित देउवाले निधिलाई उपसभापतिमा मनोनीत गरेका थिए। संविधानसभाबाट संविधान जारी भएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारमा निधिले उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारीसहित पार्टीको नेतृत्व गरेका थिए। देउवाको सहयोगमा निधिले यो जिम्मेवारी पाएका थिए। दाहाल नेतृत्वको सरकारले नेपाल प्रहरीको प्रमुख नियुक्त गर्ने विषयमा देउवा र निधिको मत बाझिएको थियो।

त्यससँगै दुई नेताबीचको सम्बन्धमा चिसोपना आएको दाबी गर्दै निकट एक नेताले भने, ‘सम्बन्ध सुधार गर्नभन्दा दूरी बढाएर आफ्नो स्वार्थ पूरा गर्न निकटहरू नै सक्रिय रहँदा अहिले उहाँहरू दुवैजना सभापतिमै प्रतिस्पर्धा गर्ने अवस्थामा पुग्नुभएको छ।’एकअर्काका कमजोरीलाई नजिकबाट नियालेका दुवै नेता त्यसमै टेकेर आआफ्नो आवश्यकता एकअर्कालाई महसुस गराउने रणनीतिमा रहेको विश्लेषण गर्दै ती नेताले थपे, ‘तर त्यो दुवैका लागि आत्मघाती हुन्छ।’

प्रकाशित: १ मंसिर २०७८ ००:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App