७ वैशाख २०८१ शुक्रबार
राजनीति

सुनसरी एमालेमा ३० गते मतदान

नेकपा एमाले १४औं महाधिवेशनको लागि प्रतिनिधि चयनमा एमाले सुनसरीमा सहमति हुन नसकेपछि मतदान हुने भएको छ। शनिबार प्रतिनिधि कोटाभन्दा चारगुणा बढीले उम्मेदवारी मनोनयन दर्ता गरेका छन्।

सुनसरीमा संस्थापन पक्ष र असन्तुष्ट रहेको जेठ २ पक्षको समूह रहेको छ। संस्थापन पक्षमा पनि प्रतिनिधि हुन चाहने नेताहरू बढी भएपछि सहमति जुट्न नसकेको हो। शनिबार इनरुवास्थित पार्टी कार्यालयमा कुल ४२ जना महाधिवेशन प्रतिनिधि कोटा भएकोमा एक सय ८६ जनाले उम्मेदवारी दर्ता गराएको प्रारम्भिक तथ्यांक भएको एमाले सुनसरीको जिल्ला निर्वाचन अधिकृत वीरेन्द्र बस्नेतले जानकारी दिए।

अधिकृत बस्नेतका अनुसार अब दुई दिनसम्म दाबी विरोध र नाम फिर्ता गर्ने समय दिइनेछ भने कात्तिक ३० गते बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान गर्ने कार्यतालिका रहेको छ। एमाले सुनसरीले कात्तिक ३० गते प्रतिनिधि चयनको लागि हुने निर्वाचनको केन्द्र पनि तोकिसकेको छ। निर्वाचन अधिकृत बस्नेतका अनुसार सुनसरी निर्वाचन क्षेत्र नं १ मा खुलातर्फ छजना प्रतिनिधि कोटा रहेकोमा ३१ जना र महिलातर्फ तीनजनाको कोटामा सातजनाको उम्मेदवारी दिएका छन्।

यस्तै, निर्वाचन क्षेत्र नं २ मा खुलातर्फ आठजनाको कोटामा ४१ जना र महिलातर्फ तीनजनाको कोटामा १४ जनाको उम्मेदवारी परेको छ भने निर्वाचन क्षेत्र नं ३ मा खुलातर्फ ६ जनाको कोटामा ३१ जना र महिलातर्फ तीनजनाको कोटामा नौजना उम्मेदवारी परेको छ। यसैगरी, क्षेत्र नं ४ मा खुलातर्फ छजनाको कोटामा ३१ जना र महिलातर्फ तीनजनाको कोटामा १२ जनाको उम्मेदवारी परेको छ। यसैगरी, दलित खुलातर्फ तीनजनाको कोटामा सातजनाको उम्मेदवारी परेको छ भने दलित महिलातर्फ एकजनाको कोटामा तीनजनाको उम्मेदवारी परेको छ।

एमाले सुनसरीका अनुसार निर्वाचन क्षेत्र नं १ मा पाँच हजार पाँच सय ३७, क्षेत्र नं २ मा सात हजार ३८, क्षेत्र नं ३ मा पाँच हजार दुई सय ३३ र क्षेत्र नं ४ मा पाँच हजार तीन सय पाँच मतदाता सदस्यहरू रहेका छन्। यस्तै, दलित मतदाता संख्या एक हजार छ सय ५२ जना रहेको छ।

जिल्ला अधिवेशन आयोजक कमिटीका संयोजक खेमराज पोखरेलले भने दुई दिनको समय भएकोले अझै पनि सर्वसम्मत प्रतिनिधि चयन हुने सम्भावना रहेको बताए। उनले प्रत्येक निर्वाचन क्षेत्रमा सहजीकरण गर्नको लागि नेताहरू जुटिसकेको पनि बताए। ‘अझै दुईदिनको समय छ, हामी त्यसैमा केन्द्रित हुन्छाैं। क्षेत्र क्षेत्रमा साथीहरू सहजीकरण गर्न खटिनु भएको छ, सर्वसम्मत बनाउने प्रयास हुन्छ,’ संयोजक पोखरेलले भने।

प्रकाशित: २८ कार्तिक २०७८ ०२:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App