coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

देउवा र पौडेल खेमामा साझा उम्मेदवारको सम्भावना न्यून

कांग्रेस महाधिवेशन

नेपाली कांग्रेसको १४औं महाधिवेशनका लागि छैटौं पटक तोकिएको मिति आउन एक महिना बाँकी रहँदा संस्थापन र इतर पक्षका नेताहरू आआफ्नो तर्फबाट साझा उम्मेदवार बनाउने प्रयासमा जुटेका छन्।

दुवै समूहमा नेतृत्वका आकांक्षी बढेपछि सभापति शेरबहादुर देउवा र इतर पक्षका नेता रामचन्द्र पौडेल आआफ्नो पक्षमा सहमति जुटाउन लागिपरेका छन्। तर पछिल्लो पटक निर्धारित महाधिवेशन मिति नजिकिँदै गर्दा संस्थापन र इतर समूहबाट सभापतिमा एकएकमात्र उम्मेदवार बन्ने सम्भावना न्यून बन्दै गएको छ।

वर्तमान सभापति शेरबहादुर देउवा १४औं महाधिवेशनमा पनि नेतृत्वमा दोहोरिने पक्षमा छन्। देउवा सोही अनुसारको तयारीमा जुटिरहे पनि उनी निकट उपसभापति विमलेन्द्र निधि पनि सभापतिको उम्मेदवार बन्ने गृहकार्यमा छन्। 

संस्थापन पक्षकै पूर्वउपसभापति गोपालमान श्रेष्ठले पनि महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने बताउँदै आएका छन्। योसँगै संस्थापन पक्षबाट सभापतिमा तीन आकांक्षी देखिएका छन्।डेढ वर्षअघिसम्म भने संस्थापन पक्षबाट देउवा साझा उम्मेदवार बन्ने नेता तथा कार्यकर्ताको बुझाइ थियो।

निधिले १३औं महाधिवेशनमा देउवालाई सभापति बनाउन आफूले सहयोग गर्ने र १४औं महाधिवेशनमा आफूलाई देउवाले सघाउने समझदारी भएको निकटहरूसँग बताउँदै आएका छन्। उनले २०७७ साउन २९ गते सभापति देउवालाई भेटी पूर्वसहमति अनुसार महाधिवेशनबाट आफूलाई सभापति बन्न सहयोग गर्न भनेका थिए। तर देउवाले थप एक कार्यकाल नेतृत्वमा दोहोरिने इच्छा व्यक्त गर्दै निधिलाई १५औं महाधिवेशनबाट पार्टी नेतृत्व लिनेगरी तयारी थाल्न सुझाएका थिए।

१५औं महाधिवेशनमा उमेरका कारण पनि आफू ‘फिट’ नहुने भन्दै निधिले सभापतिमा उम्मेदवारी दिनेगरी छलफल र तयारी तीव्र बनाएका छन्। एकअर्कालाई नजिकबाट बुझेका देउवा र निधि दुवैले आपसी सहयोगबिना पार्टी नेतृत्वमा टिक्न र पुग्न सकिन्न भन्ने राम्रोसँग बुझेको निकट एक नेताले बताए। 

सोही अनुसार देउवा निकट पदाधिकारीहरू बिहीबार छलफलमा जुटेको दाबी गर्दै ती नेताले भने,‘सहमतिका लागि अहिले पनि प्रयास जारी छ।’ तर बिहीबारको भेटमा पनि देउवा र निधिले डेढ वर्षअघिकै अडान दोहोर्‍याएका छन्।देउवाले आगामी महाधिवेशनमा आफूलाई सभापतिमा सहयोग गर्न निधिसँग प्रस्ताव गरेका थिए।

तर निधिले उल्टै आफूलाई सभापतिमा सघाउन देउवालाई अनुरोध गरे।‘सभापतिमा उठ्ने तयारी गरिरहेको छु।यो पटक मलाई सघाउनुहोला,’निधिले देउवालाई राखेको प्रस्ताव उद्धृत गर्दै स्रोतले भन्यो,‘तपाईंले पहिले नै वचन दिनुभएकै हो। मलाई तपाईंको सहयोग आवश्यक छ।’ जबाफमा देउवाले भनेका थिए,‘अहिले तपाईं नउठ्नु, मलाई मद्दत गर्नु।

१५औं महाधिवेशनमा तपाईं नै सभापतिको उम्मेदवार हो।’ निधिले आफू १५औं महाधिवेशनमा नभएर अहिले नै सभापतिमा उठ्ने तयारी गरेको बताएपछि देउवाले ‘उठ्ने र नउठ्ने भन्ने त तपाईंको अधिकारको कुरा हो’भन्दै शुभकामना दिएको निकट स्रोतको दाबी छ।

निधिकै सहयोगमा पुनः नेतृत्वमा दोहोरिने देउवाको चाहना र देउवाको साथ लिएर सभापतिको उम्मेदवार बन्ने निधिको चाहना छ। तर महाधिवेशन सुरु हुन एक महिना बाँकी रहँदा भएको दुई नेताबीचको भेट सकारात्मक नदेखिएको निकटहरूको दाबी छ। दुवै आआफ्नो अडानमा कायमै रहेको जनाउँदै निकट एक नेताले भने, ‘हिजो (बिहीबार) को भेटपछि कुरा सुन्दा दुवै नेता आआफ्नो ढंगबाट अघि बढ्ने देखिन्छ।’

देउवा र निधि एक ठाउँमा हुँदा पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई समेटेर अघि बढ्न धेरै समस्या नहुने संस्थापन पक्षका नेताहरूको बुझाइ छ। देउवा निकट केन्द्रीय सदस्य मीन विकले पार्टी विधानले दिएको व्यवस्थाअनुसार वर्तमान सभापतिले फेरि सोही पदमा दोहोरिन राखेको चाहनालाई अस्वाभाविक मान्न नसकिने बताए।

वर्तमान सभापतिले फेरि नेतृत्वमा दोहोरिने कुरा गर्नु अन्य आकांक्षीलाई ‘थ्रेट’ पनि भएको बताउँदै विकले भने, ‘सभापति देउवाको अहिलेसम्मको तयारी छाड्नेभन्दा जित्ने छ। उपसभापति निधिसहितका नेताहरूलाई त्यसैभित्रबाट चित्त बुझाएर लैजानुहुन्छ।’

राजनीतिमा सबैखाले सम्भावना रहने बताउँदै उनले चित्त बुझाउने र बुझ्ने अवस्था नआएको अवस्थामा प्रतिस्पर्धा हुने कुरालाई पनि नकार्न नसकिने धारणा राखे।मिलाएर र मिलेर अघि बढ्ने प्रयास भइरहेको जानकारी दिँदै उनले भने, ‘अहिलेसम्मको अवस्था हेर्दा वर्तमान सभापति देउवा नै आगामी महाधिवेशनबाट फेरि सभापति हुने देखिन्छ। संस्थापन इतरबाट कस्तो गठबन्धन निर्माण हुन्छ त्यसलाई हेर्न बाँकी नै छ।’

संस्थापन इतरका नेताहरू पनि साझा उम्मेदवार खोज्न आन्तरिक छलफलमा जुटेका छन्। महाधिवेशनबाट देउवाको विकल्प खोज्न संस्थापन इतर समूहबाट साझा उम्मेदवार बनाउन नेता रामचन्द्र पौडेल,महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह,केन्द्रीय सदस्य शेखर कोइराला, सुजाता कोइरालासहितका नेतामाथि नेता तथा कार्यकर्ताको दबाब बढ्दै गएको छ।  

संस्थापन इतर पक्षबाट पार्टी नेतृत्वका लागि आकांक्षी सबै नेताले आफूबाहेक अरूले देउवालाई पराजित गर्ने नसक्ने जिकिर गर्दै आएका छन्।एकले अर्कालाई नेतृत्व छाड्न र सहयोग गर्न तयार नदेखिएका संस्थापन इतर समूहका नेताहरू पछिल्लो दिनमा आरोपप्रत्यारोपमा उत्रिन थालेका छन्।

संस्थापन इतर पक्षका नेताहरूको शुक्रबारको भेलामा पूर्वमहामन्त्री सिंह उपस्थित भएनन्। केही दिनअघि नयाँ दिल्ली पुगेका सिंह काठमाडौंमै भए पनि पौडेल समूहले बोलाएको भेलामा सहभागी नहुने योजनामा थिए। ‘उहाँ अहिले देशबाहिर हुनुहुन्छ,भोलि (शनिबार) काठमाडौं आइपुग्नु हुन्छ,’नेता सिंहका प्रेस संयोजक युपी लामिछानेले भने,‘गुटका नाममा धेरै पटक धोका पाएकाले उहाँ काठमाडौंमै भए पनि आज (शुक्रबार) को बैठकमा जाने योजना थिएन।’

देउवा नेतृत्वको सरकारलाई पूर्णता दिनेक्रममा आफूले भनेकालाई पौडेलले मन्त्रीमा सिफारिस नगरेपछि सिंह असन्तुष्ट छन्। उनले पछिल्ला दिनमा सभापति देउवा र नेता पौडेलबाट कांग्रेस चल्न नसक्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन्।

आमनिर्वाचन जित्न नसक्नेले पार्टीलाई चुनाव जिताउन नसक्ने भन्दै सिंहले सबल पार्टी निर्माणका लागि आफू १४औं महाधिवेशनमा सभापतिको प्रत्यासी बन्ने बताउँदै आएका छन्। अवसर पाउँदा काम गर्न नसकेको भन्दै महामन्त्री शशांकप्रति पनि सिंह असन्तुष्ट छन्। सिंहले २०७४ को आम निर्वाचनपछि भएको संसदीय दलको निर्वाचनमा शंशाकले आफूलाई सहयोग नगरेको गुनासो गर्दै आएका छन्।

नेता सिंह, उपसभापति निधि र महामन्त्री शशांकले महाधिवेशनमा साझा उम्मेदवार बनाउने भन्दै पटकपटक खानासहित बैठक भने गर्दै आएका छन्।पार्टीका संस्थापक नेताहरू बिपी कोइराला,गणेशमान सिंह र महेन्द्रनाराण सिंहका छोराहरू हुन् शशांक,विमलेन्द्र र प्रकाशमान। नेताका पुत्रत्रय मिलेर अघि बढ्ने सम्भावना कमजोर रहेको निकटहरूको बुझाइ छ।  

संस्थापन इतर समूहको शुक्रबारको भेलामा उपस्थित नेताहरूले विगतमा जस्तै आआफ्ना दाबी दोहोर्‍याएका छन्। सभापतिका अन्य आकांक्षी मिलेर आए आफू बाधक नबन्ने बताउँदै पौडेलले आफू सभापति भए आमनिर्वाचनमा कांग्रेसलाई बहुमत दिलाएर नेतृत्व हस्तान्तरण गर्ने प्रस्ताव अघि सारेका छन्।‘म सधैंका लागि सभापति बन्ने पनि होइन। मेरो नेतृत्वमा आगामी निर्वाचनमा कांग्रेसलाई बहुमत दिलाउँछु,’ पौडेललाई उद्धृत गर्दै सहभागी एक नेताले भने,‘त्यसपछि तत्काल नेतृत्व हस्तान्तरण गर्न म सकारात्मक छु।’एक्लाएक्लै लड्नुभन्दा आफ्नो नेतृत्व स्वीकार गरेर अघि बढ्न सबैलाई सहज हुने धारणा राख्दै पौडेलले भनेका थिए, ‘शशांक,प्रकाशमान र शेखरजीबीच आपसमा सहमति हुन्छ भने पनि म मान्छु।’

तर सभापतिका आकांक्षी शशांक, प्रकाशमान, शेखर र सुजाताबीच सहमतिको सम्भावना कमजोर छ। शेखरले आफू सभापतिको उम्मेदवार बन्नेमा आशंका नगर्न नेता तथा कार्यकर्तालाई आग्रह गर्दै आएका छन्।कोइराला परिवारबाट नेतृत्वको आकांक्षी अन्य दुई नेतामध्ये सुजाताको समर्थन लिने र शशांकलाई १५औं महाधिवेशनबाट पार्टी नेतृत्वमा मनाउने शेखरको तयारी छ। तर पार्टी महामन्त्रीसमेत रहेका शशांक शेखरलाई नै पार्टीको अन्य जिम्मेवारी लिन र आफूलाई नेतृत्वमा सहयोग गर्न आग्रह गर्ने पक्षमा छन्।

आफू सभापतिबाहेक अन्य पदमा प्रतिस्पर्धा नगर्ने जनाउँदै आएका शेखर नेता सिंहलाई संसदीय दलको नेतासहित प्रधानमन्त्री बनाउने सर्तमा मनाएर अघि बढ्ने योजनामा छन्।

सिंह सभापतिबाहेक अन्यमा सम्झौता गर्ने पक्षमा नरहेको बताउँदै एक नेताले भने, ‘प्रधानमन्त्री र संसदीय दलको नेता एकअर्कालाई अल्झाउने पद जस्तो बन्दैछ कांग्रेसमा।त्यो लोभमा कोही पर्ला जस्तो देखिँदैन।’ संस्थापन इतर पक्षबाट साझा उम्मेदवार बनाउन नसके पहिलो चरणमा सबै आकांक्षीले प्रतिस्पर्धा गर्ने र दोस्रो चरणमा बढी भोट आउनेलाई सहयोग गरेर जाने विकल्पमा पनि छलफल सुरु भएको छ।

तर पौडेलसहित सहभागी अन्य नेताहरूले एउटा मात्र उम्मेदवार बनाउन नसके महाधिवेशनको परिणाम आफ्नो पक्षमा आउन नसक्ने भन्दै आकांक्षीहरूलाई मिलेर अघि बढ्न सुझाएका छन्। पौडेल समूहबाट साझा उम्मेदवार बनाएर जाने बताउँदै महामन्त्री शशांकले बैठकपछि भने, ‘टिममा अहिलेसम्म विभाजन छैन।सभापति पदका लागि चारैजना उम्मेदवार छौं। त्यही कारणले विभाजित मनस्थिति देखिएको हो।’ साझा उम्मेदवार बनाउन नसके देउवा नै फेरि पनि सभापति हुने बताउँदै उनले भने, ‘एकजना मात्रै उम्मेदवार नभए त हामीले फेरि शेरबहादुर देउवाजीलाई बुझाइदिए हुन्छ।’ कांग्रेस नेता अर्जुननर्सिंह केसीले संस्थापन इतर पक्षबाट साझा उम्मेदवार बनाउन आफूले प्रयास गरिरहने बताए। 

उनले भने, ‘साझा उम्मेदवार नभए म पनि सभापतिको उम्मेदवार बन्छु।’१३औं महाधिवेशनमा सभापतिको प्रत्यासी बनेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि आगामी महाधिवेशनमा सोही पदमा प्रतिस्पर्धा गर्ने तयारीमा छन्। छैटौं पटक तोकिएको महाधिवेशन मिति नसरेमा मंसिर २१ गतेदेखि कांग्रेसको नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुनेछ। मंसिर २४ गते महाधिवेशन उद्घाटन गरेर २७ गते नयाँ नेतृत्वका लागि मतदान हुनेछ। त्यसका लागि आवश्यक तयारी गर्न कांग्रेसले आइतबार केन्द्रीय समितिको बैठक बोलाएको छ। यस विषयमा छलफल गर्न शनिबार पदाधिकारी र पूर्वपदाधिकारीको बैठक डाकिएको छ।

प्रकाशित: २७ कार्तिक २०७८ ०१:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App