४ वैशाख २०८१ मंगलबार
राजनीति

नेपाल बारको बिरोध कायमै

प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै मंगलबार पनि नेपाल सर्वोच्च बार एशोसिएशनले बिरोध प्रदर्शन गरेको छ। नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश जबराको राजीनामाको माग गर्दै चरणवद्ध रुपमा आज तेस्रो दिनमा पनि बिरोध प्रदर्शन जारी राखेको हो।

वरिष्ठ अधिवक्ता तथा पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठले बारको निर्णयलाई लत्याउने काम नगर्न प्रधान्यायाधीश जबरालाई चेतावनी दिए। उनले न्यायालय गम्भीर अवस्थामा पुग्दा समेत राजनीतिक दलहरु नबोलेको भन्दै यसप्रति राजनीतिक दलहरुले आफ्नो दायित्व पूरा गर्नुपर्ने बताए।

उनले प्रधानन्यायाधीश जबरा न्यायालयमा रहुन्जेल निष्पक्ष र स्वतन्त्र ढंगले न्यायालय सञ्चालन हुन नसक्ने दाबी समेत गरे। पूर्व महान्यायाधिवक्ता श्रेष्ठले प्रधानन्यायाधीशले न्यायालय हाँक्न नसक्दा यो अवस्था सिर्जना भएको बताए। उनले प्रधानन्यायाधीश जबराले आफ्नो पालामा न्यायाधीशले विचौलियाको काम गर्ने अवस्था सिर्जना भएको समेत बताए।

सर्वोच्च अदालत बार एशोसिएशनका अध्यक्ष पूर्णमान शाक्यले अहिले प्रधनन्यायाधीशको राजीनामा नै कानून व्यवसायीको बटमलाइन भएको बताउँदै न्यायपालिका सुधारका लागि निरन्तर लागि पर्ने बताए।

वरिष्ठ अधिवक्ता हरिहर दाहालले प्रधानन्यायाधीश जबराले मन लागेका मुद्दा मन लागेका न्यायाधीशहरुलाई दिएको आरोप लगाए। उनले न्यायमा निष्पक्षता नभएको बताउँदै बेन्च सेटिङले थप समस्या उत्पन्न भएको उल्लेख गरे।

उनले न्यायालय धरापमा पर्दा समेत राजनीतिक दलहरु मौनता साँधेर बस्ने हो भने राजनीतिक दलहरुको पनि राम्रो नहुने बताए। नेताहरुको चाकडी गर्न नसक्ने बताउँदै उनले राजनीतिक दलले आफ्नो भूमिका राम्रोसँग निभाउन नसकेको आरोप लगाए।

नेपाल बारका पूर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले न्याय अधोगतितिर गएको तर्क गरे। उनले न्याय क्षेत्रमा लागेका धेरै युवा तथा विद्वानहरुले न्यायालयको कारण प्रतिभा देखाउन नपाएको बताउँदै न्याय जनता र सक्षम व्यक्तिको नेतृत्वमा हुनुपर्ने चर्चा गरे।

नेपाल बारका अध्यक्ष चण्देश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराका कारण न्याय अवरुद्ध र विचलनमा रहेको आरोप लगाए।

प्रकाशित: १६ कार्तिक २०७८ १०:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App