coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

धरानमा नेकपा एमालेको दुई कमिटी घोषणा

एमाले संस्थापन पक्षको कमिटी। तस्बिर: रोहित/नागरिक

नेकपा एमाले धरान उपमहानगर कमिटीको विवाद नमिले पछि छुट्टाछुट्टै अधिवेशन गरेको दुई समूहले आ-आफ्नो पक्षको कमिटी घोषणा गरेको छ।

दुवै पक्षले विधान वमोजिमको ८५ सदस्यीय उपमहानगर कमिटी घोषणा गरेको हो। दुवै पक्षले आ- आफ्नो कमिटी वैधानिक रहेको दाबी गरेको छ। कार्तिक ९ गते मंगलबार संस्थापन पक्षले धरान १० स्थित सैनिक भवनमा अधिवेशन आयोजना गरेको थियो भने धरान १५ स्थित होटल इजी राइडरमा जेठ २ कमिटी पक्षधरको अधिवेशन भएको थियो।  

जेठ २ पक्षको अधिवेशनले मंगलबार राती नै नारायण सुवेदीको अध्यक्षतामा ८५ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको घोषणा गरेको थियो। उक्त कमिटीको उपाध्यक्षमा राजमणी निरौला, सचिवमा पारस काङमाङ र सहसचिवद्धयमा राजेन्द्र राई, दिवस राई चयन गरेको उक्त समुहका प्रदेश सदस्य हिमाल लिम्बुले जानकारी दिए।  

संस्थापन पक्षको अधिवेशन भने सैनिक भवनमा २ दिनसम्म चलेको थियो। राजनैतिक तथा सांगठनिक प्रतिवेदन र आर्थिक प्रतिवेदन पनि प्रस्तुत भएर समुह समुहमा छलफल गरि पारित गर्नुपर्दा अधिवेशन २ दिनसम्म भएको उक्त समुहका नेता मातिराज सुनुवारले जानकारी दिए। बुधबार राती सम्पन्न बन्दसत्रबाट हर्कजंङ एभेङको अध्यक्षतामा ८५ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको छ। उपाध्यक्षमा सविता राई, सचिवमा सुदेश चापागाई र सहसचिवद्धयमा जोन राई, सुमन लिम्बु चयन भएका छन्।

सुनसरीमा जिल्ला कमिटीको आधिकारितासँगै धरानमा पनि संस्थापन र जेठ २ पक्षका नेताहरुबीच विवाद छ। जेठ २ अघिको जिल्ला कमिटीका अध्यक्ष रमेश बस्नेत संसद विघटनलाई प्रतिगमन भन्दै आन्दोलनमा गएपछि अध्यक्ष केपी ओली पक्षले रेवती भण्डारीको अध्यक्षतामा जिल्ला कमिटी गठन गरेको थियो। यस्तै, धरानमा पनि जेठ २ अघिका अध्यक्ष नारायण सुवेदी आन्दोलनमा गएपछि हर्कजङ एभेङको अध्यक्षतामा कमिटी गठन भएको थियो।  

धरानमा दुवै कमिटीबीच सहमति गराउन अधिवेशन अघि जिल्ला र प्रदेशका नेताहरुले लगातार २ दिन छलफल गरेपनि सफल हुन नसकेपछि अलग अलग अधिवेशन भएको थियो। त्यसअघि धरानमा वडा अधिवेशनको क्रममा पनि एमालेमा विवाद उत्पन्न भएको थियो। यद्यपी, १४ वटा वडामा एकै ठाउँमा अधिवेशन र सहमतिमा नेतृत्व चयन भएको थियो। तर, ६ वटा वडामा भने विवाद भएपछि अलग अलग अधिवेशन र कमिटी गठन भएको थियो।

१५ बुँदे प्रस्ताव पारित

संस्थापन पक्षको बन्दसत्रबाट १५ बुँदे प्रस्ताव पनि पारित गरेको छ। बन्दसत्रले न्यायलयमा बढ्दो राजनीतिक हस्तक्षेपप्रति खेद व्यक्त गर्दै स्वतन्त्र तथा निष्पक्ष न्यायलयको अवधारणालाई कार्यान्वयन गर्न जोडदार माग गरेको छ। बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपबाट ज्यान गुमाएका धरान १३ का निसु र निहानसहित देशभरका मृतकहरुलाई श्रद्धाञ्जली व्यक्त गर्दै जनतालाई तत्काल उद्दार, राहत र दीर्घकालिन समस्या समाधान गर्न पनि माग गरेको छ।

भुमिहिन सुकुम्बासी समस्या समाधान आयोग खारेज गर्ने वर्तमान सरकारको निर्णयप्रति गम्भीर आपत्ति प्रकट गर्दै अघिल्लो सरकारले गठन गरेको आयोगले गरेका कार्यहरुको निरन्तरता दिन पनि बन्दसत्रले माग गरेको छ। धरानको वीपी कोइराला स्वास्थ्य विज्ञानलाई भ्रष्टचारमुक्त गर्दै जनउत्तरदायी तथा विशेषज्ञ सेवाको पहुँच विस्तार गरि भरोसायुक्त स्वास्थ्य संस्था बनाउन पनि माग गरेको छ। सर्दु जलाधार लगायत अतिक्रमित सार्वजनिक जग्गा अबिलम्ब सरकारी स्वामित्वमा फिर्ता गर्न माग गर्दै धरानको खानेपानी समस्याको दीर्घकालिन समाधानको लागि लेउती धरान सुरुङमार्ग मार्फत तमोर नदीको पानी धरानसम्म ल्याउने कार्यलाई अघि बढाउन पनि माग गरेको छ।  

प्रकाशित: ११ कार्तिक २०७८ ०९:०१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App