७ वैशाख २०८१ शुक्रबार
राजनीति

धरानमा एमालेको दुईतिर अधिवेशन, कुर्सी तोडफोड

नेकपा एमाले धरान उपमहानगर कमिटीमा दुई पक्षको विवाद समाधान नभएपछि मंगलबार दुईतिर अधिवेशन भएको छ।

सोमबार र मंगलबार निरन्तर नेताहरु संवादमा बसे पनि सहमति नभएपछि नगर अधिवेशन दुवै पक्षले अलग अलग गरेको हो। एमाले अध्यक्ष केपी शर्मा ओली निकट कमिटीको अधिवेशन धरान १० स्थित सैनिक भवन भएको छ भने जेठ २ अघिको कमिटीले धरान १५ स्थित होटल इजी राइडरमा कार्यक्रम गरेको छ। वडा अधिवेशनको क्रममा पनि दुवै पक्षबीच विवाद उत्पन्न भएको थियो। त्यसबेला १४ वटा वडाहरुमा सहमतिमा अधिवेशन भएर नेतृत्व चयन भएपनि ६ वटा वडामा अलग अलग कमिटी गठन भएको थियो।

विवाद मिलाएर एकै ठाउँमा अधिवेशन गर्न एमाले प्रदेश र जिल्ला तहका नेताहरुले सोमबार र मंगलबार बिहानै छलफल गरेपनि निष्कर्षमा पुग्न सकेन। नेताहरुका अनुसार संस्थापन पक्षले उद्घाटन सत्र एकै ठाउँमा गरेर बन्द सत्र सार्ने र विवाद समाधान गर्ने प्रस्ताव गरेको थियो। तर, जेठ २ अघिको कमिटी पक्षका नेताहरुले भने विवादित ६ वटा वडाको नेतृत्व र प्रतिनिधिसहित नगरको नेतृत्वबारे पनि प्याकेजमै सहमति गर्नुपर्ने अडान लिएका थिए।

दुवै पक्षका नेताहरु आआफ्नो अडानबाट टसमस नभएपछि सहमति हुन नसकेको नेताहरुले बताए।

संस्थापन पक्षको कार्यक्रममा केन्द्रीय सदस्य तथा जिल्ला सहइञ्चार्ज तैयव हुसेन प्रमुख अतिथि रहेका थिए। उनले जेठ २ कमिटी कुनै पनि हालतमास्वीकार गर्न नसकिने र समानान्तर गतिविधि गर्नेहरुलाई जिल्ला कमिटीबाट कारबाही गर्ने चेतावनी दिए। उनले जेठ २ कमिटी भन्नेहरु एमालेमा नफर्किएकोले उनीहरुले एमालेको नाममा गतिविधि गर्न नमिल्ने दाबी गरे।

जेठ २ पक्षको अधिवेशनमा एमाले केन्द्रीय सदस्य धर्मराज निरौलाले संसद विघटनको सिफारिश गरेर गल्ती गरेको र कम्युनिष्ट आन्दोलनलाई धक्का पुग्ने काम गरेको बताए। उक्त कदमबारे गल्ती भयो भनेर आत्मसमिक्षा गर्न आग्रह गरेपनि अहिलेसम्म ओलीले स्वीकार नगरेको बताए। ओलीले स्वीकार नगरे पनि इतिहासले समीक्षा गरेर ओलीले राष्ट्र, जनता र कम्युनिष्ट आन्दोलनप्रति घात गरेको ठहर्ने निरौलाले बताए। उनले आफुहरु एमालेको झण्डाभित्र नै गोलबद्ध भएको बताए।

संस्थापनको अधिवेशनमा विवाद, कुर्सी तोडफोड

संस्थापन पक्षको बन्दसत्र शुरु गर्ने कि नगर्ने भन्ने बिषयमा विवाद भएपछि नाराबाजी र कुर्सी तोडफोड भएको छ। धरान १० स्थित सैनिक भवनमा जारी अधिवेशनमा नेताहरुले उद्घाटन सत्र सकेर बन्दसत्र भने स्थगित गर्न खोजेका थिए।

नेताहरुले जेठ २ पक्षसँग वार्ता गर्न बन्दसत्र रोक्न खोजेपछि युवाहरुले नाराबाजी गर्दै बन्दसत्र जारी राख्नुपर्ने माग गरेका थिए। सोही क्रममा उनीहरुले कुर्सी तोडफोड गरेका हुन् भने मुलगेटमा चाबी लगाएर कसैलाई पनि बाहिरिन दिएका छैनन्। ‘नेताहरुले बन्दसत्र भोलि गरौं भनेपछि युवाहरुले नाराबाजी गर्दै आजै गर्नुपर्छ भनेर आफू बसेको कुर्सी भाँचेका हुन्,’ एक प्रतिनिधिले भने।

प्रकाशित: ९ कार्तिक २०७८ १३:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App