८ वैशाख २०८१ शनिबार
राजनीति

ओलीलाई निष्फल गरेकामा गौरवबोध भएको छ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निष्फल गराउने काम गरेकामा आफूहरुलाई गौरवबोध भएको बताएका छन्।  

सर्लाहीको हरिवनस्थित धुर्कौलीमा आयोजित वडा कार्यालय भवनको उद्घाटनमा उनले आफूहरुले संविधान र संसदको रक्षा गरेको बताउँदै तत्कालिन प्रधानमन्त्री केपी ओलीले दुई पटकसम्म संविधान र संसदको हत्या गर्ने प्रयत्न गरेको र त्यसलाई निष्फल गराउने काम आफूहरुले गरेकामा आफूहरुलाई गौरवबोध भएको बताए।

संविधानले कुनै प्रधानमन्त्रीलाई संसदको हत्या गर्ने अधिकार नदिएको स्पष्ट पार्दै नेपालले नेपालको परिस्थितिअनुसार आफूहरुको अनुभवले बनाएको संविधान भएको स्पष्ट पारेका छन्। संविधानको धारा ७६ को ७ अन्तर्गत चुनावमा जान सकिने स्पष्ट व्यवस्था रहेकोले कुनै प्रधानमन्त्रीले लडहको भरमा संसद भंग गर्न नपाउने स्पष्ट व्यवस्था रहेको र सोही व्यवस्थाको आधारमा संसद जोगाउने काम भएको बताए।

नेता नेपालले नेकपा (एकीकृत समाजवादी) सुदूर पश्चिम प्रदेशको प्रदेश सभामा सबैभन्दा ठूलो पार्टी भएको, प्रदेश दुईको प्रदेश सभामा केपी ओलीको भन्दा ठूलो पार्टी हुनका साथै प्रदेश १ र बागमती प्रदेशमा आफ्नो पार्टीको मुख्यमन्त्री बन्न गइरहेकाले कुन पार्टीको भविष्य ठूलो छ भन्ने कुरा सबैले बुझ्नुपर्ने बताएका छन्। अबको दिनमा भविष्य आफ्नो पार्टीको भएको नेता नेपालको भनाइ छ।

सातै प्रदेशमा नेकपा (एकीकृत समाजवादी)को संगठनको निर्माण भइरहेको तथा कम्युनिष्ट क्रान्तिको नेतृत्व गर्ने पार्टीको रुपमा स्थापित हुने नेता नेपालको विश्वास रहेको छ। देशको ७४ जिल्लामा पार्टीको जिल्ला समिति गठन भइसकेको र बाँकी तीनवटा प्रदेशमा अनौपचारिक रुपमा पार्टी विस्तार भएको तर घोषणा हुन बाँकी रहेको नेता नेपालको भनाइ छ।

नेपाली जनताको परिवर्तनको चाहनालाई प्रतिनिधित्व गर्ने पार्टीको रुपमा आफ्नो पार्टी स्थापित भएको नेता नेपालको दाबी छ।

माघ महिनापछि एकपछि अर्को चुनाव हुने भएकोले त्यसको तयारी गर्न नेता नेपालले कार्यकर्तालाई निर्देशन दिएका छन्। पुराना कम्युनिष्ट कार्यकर्तादेखि नयाँ युवासम्म आफ्नो पार्टीमा समावेश भएको नेता नेपालको दाबी छ।

प्रकाशित: ९ कार्तिक २०७८ ११:४२ मंगलबार

जनप्रतिनिधि नेकपा (एकीकृत समाजवादी)मा